सम्मेलनमा सहभागी हुन प्रचण्डदेखि सातै प्रदेशका मुख्यमन्त्री रुपन्देहीमा

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७६
pica tilo

बुटवल ९ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलन बिहिबार हुँदै छ । सम्मेलनको तयारी पुरा भएको नगरपालिकाले जानकारी दिएको छ । काठमाडौं बाहिर हुन लागेको पहिलो लगानी सम्मेलनमा करिब ५० अर्ब लगानी भित्र्याउने उद्देश्य रहेको छ । कोटिहवास्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टमा बिहीबार विहान सम्मेलनको पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दै छन् ।

सम्मेलनलाई पुर्व प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री युवराज खतिवडा, संघीय सांसदहरु घनश्याम भुसाल, विष्णु पौडेल, बालकृष्ण खांण लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । यस्तै कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीले सहभागिता जनाउँने छन ।

सम्मेलनमा कृषि, पर्यटन, उद्योग र यातायात क्षेत्रमा लगानीका संभावना र चुनौतीका समूहगत छलफल हुने छ । सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी ५ सय जना लगानीकर्ता सहभागी हुने गरी तयारी भएको तिलोत्तमा नगरपालिकाले जानकारी दिएको छ ।

सम्मेलनमा प्रस्ताव गरिएका २२ परियोजनामध्ये कम्तिमा १० परियोजनामा सम्झौता हुने निश्चित भइसकेको आयोजकले बताएको छ । सम्झौता हुने परियोजनालाई नगरपालिकाले ३०–४० वर्षसम्म लिजमा जमिन उपलब्ध गराउने भएपछि लगानीकर्ताहरु आकर्षित र उत्साहित बनेका हुन् । नगरपालिकाले जग्गा भाडा प्रतिकट्ठा ५ हजार रुपैयां मात्र तोकेको छ ।

२२ परियोजना अघि सारेर नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो । नगरपालिकाले न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने उद्योग तथा परियोजनालाई पाँच वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत छुट दिने जनाएको छ । यस्तै, तीन सयसम्मलाई रोजगारी दिनेलाई १० वर्षसम्म व्यावसायिक करमा ७५ प्रतिशत छुट दिइने छ । पाँच सय जनासम्मलाई रोजगारी दिने परियोजनालाई १२ वर्षसम्म व्यावसायिक करमा ९० प्रतिशत छुट दिने नगरपालिकाको बैठकले निर्णय गरेको छ ।

यस्तै, पाँच सय बढीलाई रोजगारी दिने परियोजनालाई नगरपालिकाले १५ वर्षसम्म व्यावसायिक करमा शतप्रतिशत छुट दिनेछ । कृषिमा आधारित दुग्ध उद्योग, माछाभुरा उत्पादन, मत्स्यपालन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरलगायत परियोजनालाई स्थापनाको सात वर्षसम्म व्यवसायिक कर र नक्शा पासमा ५० प्रतिशत छुट दिइने नीति लिइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width