पोउवा संघको ६५ औं वार्षिक अधिवेशन

अर्थतन्त्र बिग्रेको छैन : खतिवडा

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
20190921122431_067A1558_2_Fotor

संघीय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले देशका आर्थिक सूचकांक ठीकठाक रहेको बताएका छन्। उनले मुलुक आर्थिक रुपले खत्तमै भयो भन्ने हल्लाहरु निराधार भएको स्ष्पष्ट समेत पारे।

पोखरा उद्योग वाणिज्य संघको ६५ औं वार्षिक अधिवेशन शनिबार उद्घाटन गर्दै डा खतिवडाले निजी क्षेत्रसँग सहकार्य गर्दै आर्थिक समृद्धिको बाटोमा जान सरकार तयार रहेको बताए। उनले भने, ‘पहिलो पटक मुलुकको आर्थिक वृद्धिदर बढी भएको छ। १९ प्रतिशतभन्दा बढीले निर्यात बढेको र यही अवधिमा १४ प्रतिशतभन्दा कमले आयात वृद्धि भएको छ। ’ आयात घट्दासमेत २२/२३ प्रतिशतले राजश्व बढेको उनले बताए। उनले अहिले देशको सञ्चितिले ९ महिनाको आयात धान्ने अवस्था रहेकोले अर्थतन्त्र मजबुत रहेको दोहोर्याए।

उनले काठमाडौं–पोखरा सडक स्तरोन्नतिका लागि ४० अर्ब रुपैयाँ छुट्टयाएको र त्यो विकासको काम गर्दा करिब १५/२० अर्बको आयात समेत बढ्ने जिकिर गरे। पोखराबाट लुम्बिनी जोड्न सिद्धार्थ राजमार्गको सिद्धबाबामा टनेलको डिपिआर तयार भएकाले छिट्टै काम शुरु हुने उनको भनाइ थियो।

स्थायी लेखा नम्बर (पान) लिँदैमा स्वतः कर तिर्नुपर्छ भन्ने हैन भन्दै उनले कर तिर्ने दायरामा भएकालाई सरकारले खोजिखोजी कर लिने उद्घोष गरे। सम्पत्ति कर कहाँ लगाउने भन्नेबारे बहस जारी रहेको बताए।

उनले सम्पत्तिमा ५० प्रतिशत कर लगाउने कुनै सोच नभएको उल्लेख गर्दै भने, ‘के यो सरकार बहुलाएको छ र सम्पत्तिमा कर ५० प्रतिशत कर लगाउने? ’

उनले अर्थमन्त्रीको लहडले कुनै कर नलगाइने बताए। उनले तीन तहका सरकारबीच भएका करका अन्यौल सच्याउने र वित्तीय संघीयता कार्यान्वयन छिटो टुंगाउने उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघ पूर्व अध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न सरकारसँग आग्रह गरे।

उद्योग वाणिज्य महासंघ उपाध्यक्ष शेखर गोल्छाले रेमिट्यान्सले धानेको अर्थतन्त्र सुधार नभए समस्या आउने बताए। उनले शोधानन्तर घाटा बढ्दै जाँदा त्यसले समग्र अर्थतन्त्रमै समस्या सृजना हुनेतर्फ सरकारको ध्यानाकर्षण गराए। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अस्थिरतामा रमाउनेले विभिन्न एजेण्डा निकालेर सरकारको विरोध गरेको बताए। उनले अब ३ महिनामा १५ लाख पर्यटक ल्याउने दाबी पनि गरे।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सजिलो कर संघीय र प्रदेश सरकारले उठाउने र असजिलो ठाउँमा पालिकालाई कर उठाउने जिम्मा दिइएको गुनासो गरे। उनले प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले ल्याउन लागेको नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम अनावश्यक भएको टिप्पणी गरे।

पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारीले सरकारको जस्तो समृद्धि र सुख ढुकुटीमा थोपरिएको धनले मात्रै दिन नसक्ने बताए। उनले भने, यसको लागि नागरिकको मन खुसी हुनुपर्छ। राज्यले दिएको अधिकार प्रयोग गर्दै उद्योग व्यवसाय गर्दै गरेका निजी क्षेत्रको मन खुसी हुनुपर्छ। ’

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, महासचिव अर्जुन पोखरेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, लक्ष्मी विद्यापदकबाट सम्मानित व्यक्तित्व स्वेताकुमारी गुप्ता लगायतले बोलेका थिए।

पत्रकार कोइराला सम्मानित

संघले संचालन गर्दै र्आएको आर्थिक पत्रकारिता पुरस्कार–२०७६ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन्।

पोखराको पत्रकारितामा महत्वपूर्ण भूमिका खेलेकोमा कोइरालालाई अर्थमन्त्री डा खतिवडाले ३५ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरेका हुन्।

सम्मानित पत्रकार कोइराला दी हिमालयन टाइम्सका गण्डकी व्यूरो प्रमुख तथा समाधान दैनिकका कार्यकारी सम्पादक हुन्। प्रतिभा छनोटका लागि संघ पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा गठित समितिले कोइरालालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो। यसैबीच, यस वर्षको लक्ष्मी विद्यापदक–२०७६ बाट बीबीएसतर्फ पोखराका कलेजहरुबाट परीक्षामा सहभागी भई सर्वोत्कृष्ट अंक ल्याउन सफल पृथ्वीनारायण बहुमुखी क्याम्पसकी छात्रा स्मृति पूर्जा, बीबीएसतर्फ सर्वोत्कृष्ट पोखरा कलेज अफ म्यानेजमेण्टका छात्र अमृत अधिकारी र स्नानतकोत्तर (एमए) मा सर्वोत्कृष्ट अंक ल्याउने कन्या क्याम्पसकी श्वेताकुमारी गुप्ता सम्मानित भएका छन्।

लक्ष्मी हाउस पोखराबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वारा संचालित सो पदकबाट विभिन्न क्याम्पसबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्दै आएको छ।

यस्तै, पोखरा फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघलाई उत्कृष्ट वस्तुगत संघ सम्मान दिइयो।

Related News

सम्बन्धित समाचार

hero news full width