अल्लोबाट आत्मनिर्भर

साधन राम्जाली
श्रावण २२, २०७६
Myagdi_Fotor

रुमका महिलाहरु अल्लो धागोबाट निर्मित कपडा देखाउँदै तथा स्टकोट सिलाउँदै

दुर्गम गाउँ रुमकी मनकुमारी पुनले अल्लोबाट कपडा बुन्न थालेको ४ वर्ष भयो। मनकुमारी मात्र होइन म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँका अधिकांश महिलाहरु अल्लो धागोबाट कपडा बनाउँछन्।

सरकारी निकाय र विभिन्न संघसंस्थाको सहयोगमा पछिल्लो समय परम्परागत सीपलाई आधुनिक प्रविधिको प्रयोग गरेर कपडा बुन्न थालेपछि रुमका महिलाहरु स्वरोजगार हुनुका साथै उनीहरुका लागि राम्रो आम्दानीको स्रोत भएको छ।

जंगलमा खेर गएको अल्लो प्रशोधन गरेर कपडा बनाउन थालेपछि रुमका महिलाहरुको जीवनस्तरमा परिवर्तन आएको छ। केही वर्ष पहिला घरखर्च चलाउन पनि धौधौ हुने सपना विश्वकर्मालाई यतिखेर भने कुनै समस्या छैन। अल्लो धागोबाट निर्मित कपडा बिक्री गरेर उनले दैनिक घरखर्च चलाउँछिन् ।

अल्लोको धागोबाट कपडा बनाउन रुमका महिलाहरुले समूह गठन गरेका छन्। एकवर्ष अघि उनीहरुले रुम अल्लो धागो उत्पादन समूह गठन गरेक हुन्। ११ जना महिलाहरु समूहमा आवद्ध छन् । सामूहिक रुपमा काम गर्न सहज हुने भएकाले समूह गठन गरिएको अध्यक्ष मनकुमारी पुनले बताइन्। अल्लो धागोबाट कपडा बनाउन थालेपछि गाउँका अन्य महिलाहरुले पनि कामको अवसर पाएको उनले बताइन्।

‘समय समयमा तालिम पनि लिने गरेका छौं, ’ समूह अध्यक्ष पुनले भनिन्, ‘परम्परागत सीपलाई हामीले प्रविधिसँग जोडेर अल्लोबाट धागो उत्पादन गर्न थालेका छौं।

घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा संगम म्याग्दीले महिला उद्यमीहरुको क्षमता विकासका लागि हालैमात्र २० दिने तालिम प्रदान गरेको संगम म्याग्दीकी उद्यम विकास सहजकर्ता उमा गुरुङले बताइन्। २१ जना महिला उद्यमीहरुले तालिम लिएका थिए।

तालिम पाएपछि महिलाहरुले स्टकोट, कोट, झोला लगायत सामग्री तयार पार्न सिकेका छन्। उच्च पहाडी क्षेत्रमा पाइने अल्लो पुवालाई प्रशोधन गरेर बनाइएको धागो र ढाकाबाट साडी, सल, कुर्था, गलबन्दी, रुमाल, पर्स, चोलो, टोपी बनाउन सकिने तालिमका प्रशिक्षक सन्तोष दर्नालले बताए। ‘उत्पादित सामग्रीको बजारीकरण गर्ने हो भने भविष्य राम्रो छ, ’ उनले भने।

रोजगारी, पेशा र व्यवसायको सिलसिलामा विश्वका विभिन्न देश पुगेका म्याग्दीवासीले आफ्नो जन्मथलोको पहिचानका रुपमा अल्लो र ढाकाको कपडा खरिद गरेर लैजाने गरेको पुनले बताइन् । घरायसी कामबाट बचेको समयमा अल्लो र ढाका बुन्ने गरिएको उद्यमी सपना विश्वकर्माले बताइन् ।

एक मिटर ढाका र अल्लो कपडालाई ८ सयदेखि ९ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको समूहकी अध्यक्ष पुनले बताइन्। उत्पादित कपडा पोखरा, काठमाडौं र विदेशमा समेत पुग्ने गरेको उनको भनाइ छ। अल्लोको कपडाबाट निर्मित कपडाहरु लगाउने बानी नपरेकाले पनि उत्पादित कपडा सहज बिक्री हुन नसकेको उनले गुनासो गरिन् ।

घरेलु तथा साना उद्योग विकास समिति र विभिन्न संघसंस्थाको सहयोगमा सीपमूलक तालिम, औजार र प्रविधि सहयोग गरेका छन्। मालिका गाउँपालिकाले महिलाउद्यमीको सहजका लागि सादा सुविधा भवन निर्माण गरिदिएको मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालूले बताइन् । रुमका महिलाहरुको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले विभिन्न प्रविधिहरु सहयोग गर्नुका साथै तालिम दिने गरेको उनले बताइन्।

गाउँपालिकाभित्र उद्यमी बन्न चाहनेहरुका लागि गाउँपालिकाकाले आवश्यक तालिमसँगै अनुदान सहयोग गर्ने गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकामगरले बताए। गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिएको गाउँपालिका अध्यक्ष रोका मगरले भने।

Related News

सम्बन्धित समाचार

hero news full width