कृषि पर्यटनः अंगुर, वाइन र रिसोर्ट

Suraj Hazare Dahal
श्रावण २, २०७६
GRAPE 2

झरीको मौसममा अंगुरको झुप्पाबाट तपतप गर्दै वर्षादी थोपाहरु खसिरहेका छन् । कुनै दाना पाकेर पुष्ट भएका छन् भने कोही पाक्न बाँकी नै छ । कुनै झुप्पा कालो रङको छ त कुनै हरियो । यो दृश्य काठमाण्डौको चिसापानी गाउँ स्थित पातले वन भिनियार्डको हो जसलाई घना पातले वनले घेरेको छ । नेपालमा व्यवसायिक रुपमा पहिलो पटक अंगुरको खेती पातले वन भिनियार्डले विसं २०६४ मा काठमाण्डौको चिसापानीमा गरेको थियो । आज भन्दा २५ वर्ष अगाडि नै किर्तिपुरको बागवानी केन्द्र र नेपालगंजको खजुरा स्थित कृषि अनुसन्धान केन्द्रमा जापानी हाइब्रिड अंगुर खेती परिक्षणको रुपमा रोपिएको थियो । तर बिडम्बना अंगुर खेतीले त्यसबेला व्यवसायिक रुप लिएन र कृषकले पनि अंगुर खेतीमा चासो देखाएका थिएनन् । पर्यटन व्यवसायी कुमार कार्की विसं २०६४ सालमा अंगुर खेती गरेर फल दिन थालेपछि २०६७ सालमा पातले वन भिनियार्ड रिसोर्ट पनि संचालनमा ल्याए । कृषि र पर्यटनलाई सँगै लैजाने उद्देश्यका साथ काठमाण्डौ बाहेक धादिङ जिल्लाको ३ ठाउँमा कार्कीले अंगुर खेती बिस्तार गरे । अंगुर खेती र रिसोर्ट पछि सहकर्मीहरु जनपाल थापा र ध्रूब खत्रीको त्रिपक्षिय लगानीमा धदिङमा वाइन उद्योग पनि संचालनमा आएको छ । काठमाण्डौको चिसापानी स्थित १० रोपनी क्षेत्रफमामा खेती गरिएको अंगुर भने रिसोर्टको आकर्षणको केन्द्र बिन्दु बनेको छ । हरेक वर्ष साउन महिनामा अंगुर टिप्ने र चाख्ने महोत्सव समेत रिसोर्टले गर्दै आएको छ । रिसोर्टबाट हिमश्रृंखला र अंगुरबारीको दश्यले पर्यटकलाई आनन्दित बनाउँछ ।

धादिङमा भने व्यवसायिक रुपमा ३ ठाउँः काउलेमा ५० रोपनी, केबलपुरमा २०० रोपनी र खानीखोलामा ५० रोपनी क्षेत्रफमा २५ प्रजातिका अंगुरहरु रोपीएका छन् । जसमा जापानी हाइब्रिड, पिओनी, मस्कट बेली र हेम्रोड मुख्य जात रहेका छन् । एक बोट अंगुरबाट प्रत्येक वर्ष एक सिजनमा ५ केजीसम्म फल उत्पादन हुन्छ । अंगुरको बोटले रोपेपछिको २५ वर्षसम्म निरन्तर फल दिने गर्छ । सरकारी बागवानी र कृषि अनुसन्धान केन्द्रमा रोपिएका अंगुरले पनि २० वर्ष देखि निरन्तर फल उत्पादन गरिरहेको जनपाल थापाले बताए । उनका अनुसार अंगुर कालो र हरियो गरि दुई थरिका हुने भए पनि बियाँ भएको र नभएको आधारमा पनि अंगुर छुट्याइन्छ । बियाँ नभएको अंगुर खाना र जुस बनाउन प्रयोग हुन्छ भने बियाँ भएको अंगुरमा भने अम्लिय बढी हुने हुँदा यसबाट वाइन बनाउने गरिन्छ । अंगुरमा फूल नफुलेर सिधैै चिचिला लाग्छन् । जनपाल थापाका अनुसार धादिङमा गर्मी भएको र उचाई १००० मिटर भएकोले त्यहाँको अंगुरमा चिचिला माघमा लागेर असारमा फल टिपिन्छ । काठमाण्डौको चिसापानीको उचाइ १५५० र अलि चिसो भएकोले चिचिला फागुणमा लागेर अंगुर साउन महिनामा टिप्ने गरिएको छ । कृषि पर्यटनलाई टेवा दिने उद्देश्यका साथ रिसोर्ट क्षेत्रमा लगाइएको अंगेर पाकेर टिप्ने बेलामा रिसोर्टले प्याकेज सहितको अंगेर टिप्ने महोत्सव समेत गर्दै आएको छ । गुलियो अर्थात टेबल भेराइटी अंगुरलाई रिसोर्टले पर्यटकलाई बेच्छ भन् वाइन भेराइटी अमिलो अंगुर भने वाइन बनाउन प्रयोग गर्छ ।

नेपाली वाइनः नेपालमा अंगुरको व्यवसायिक खेती गर्दै आएको पातले वन भिनियार्डले धादिङमा पातले वन वाइनरी उद्योग संचालन समेत गरेको छ । विसं २०७० सालदेखि वाइनरीले ३ प्रकारको वाइन उत्पादन गर्दै आएको छ । नेपालमा अंगुरको वाइन उत्पादन गर्ने यो एक मात्र मदिरा उद्योग हो । मादक पदार्थ मध्येमा वाइनलाई स्वास्थ्यबद्र्धक रुपमा लिइन्छ । विभिन्न अनुसन्धानले पनि उचित मात्र पिएमा वाइनले फाइदा हुने पुष्टि गरेको छ । रेड वाइनमा हुने पोलिफेनल इन्जाइमले क्यान्सार रोग हुन नदिने तथा बुढ्यौलीलाई टाढा धकेल्न एन्टि एजिङको काम गर्छ । साथै वाइनलाई मासुको परिकारमा समेत राखेर पकाइन्छ । धादिङमा रहेको उद्योगले रेड, वाइट र रोजी गरि ३ प्रकारको वाइन उत्पादन गर्दै आएको । हरियो अंगुरबाट वाइट, कालो अंगुरबाट रेड वाइन र रेड वाइनमै अलि बढी गुलियो भएको रोजी वाइन उत्पादन हुने गर्छ । बाइट वाइन बनाउँदा हरियो अंगुरको झोल मात्र प्रयोग हुन्छ भने रेड वाइनमा भने कालो अंगुरको झोल बाहेक डाँठ तथा बियाँ समेत प्रयोग हुन्छ । जनपाल थापाका अनुसार अंगुर टिपेकै दिन यसको रस निकालेर त्यसमा उचित मात्र इस्ट राखेर कल्चरको लागि छोडिन्छ । बेलाबेलामा पातले वन वाइनरीले बिदेशी कन्सल्ट्यान्टलाई आफै बोलाएर वाइन बनाउने तरिका तथा अंगुर खेतीको प्रशिक्षण लिने गरेको छ । इस्ट राखेर ट्यांकमा एक वर्ष राखेपछि वाइन बोटलमा प्याक गर्नको लागि तैयार हुन्छ । रेड वाइन मासुसँग र वाइट वाइन सलाद तथा चिजसँग पिउने गरिन्छ । एकपटकमा १५० एमएल वाइनलाई स्वास्थ्यवद्र्धक मानिन्छ भने त्यो भन्दा बढी नशादार । वाइन प्याक गर्न बोतल भारतबाट र वाइनको बोतल बन्द गर्न प्रयोग हुने कर्क पोर्चुगलकाट आयत गरिन्छ । ओक नामक रुखको बोक्राबाट वाइनको बिर्को अर्थात कर्क बनाउने गरिन्छ । आउँदो वर्ष धादिङको वाइन उद्योगमै पर्यटकलाई लगेर अंगुर टिप्ने ३ हप्तासम्म वाइन टुर गर्ने योजना पातले वन भिनियार्डको छ ।

माटो सुहाउँदो फलः व्यवसायिक रुपमा अंगुर खेती भएको १२ वर्ष पुगेको र विभिन्न भिरालो ठाउँमा अंगेर खेती सफल भएकोले यो नेपालको भूगोल सुहाउँदो फल हो । भिरालो जमिन भएको पहाडी क्षेत्र तथा उपत्यकाको भिरालो क्षेत्रमा अंगुर खेती गर्न सकिन्छ । एक पटक रोपेपछि २५ वर्षसम्म निरन्तर फल दिने र यसले पर्यटक मात्र आकर्षित नगरि यसबाट जुस, वाइन जस्ता पेय र मादक पदार्थ बनाउन सकिने हुँदा अंगुर एउटा बहुउपयोगी फल हो । अंगुर पाकेपछि भिटामिन ‘सि’ को भण्डार तथा वाइन बनाए पछि अंगुरले शरिरलाई एन्टि अक्सिडेन्ट दिएर छालामा चमक ल्याउने हुँदा यसको खेतीको बिस्तार आवश्यक देखिएको छ । यसको अलवा पर्याप्त मात्रामा वाइन उत्पादन भएमा यसले बिदेशी वाइनलाई बिस्थापित गरि करडौं रकम बिदेशिनबाट रोकिनेमा दुईमत छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width