मादीको बजेट सार्वजनिक

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
madi

कास्कीको मादी गाउँपालिकाले आगामी वर्षको लागि तयार बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। असार १० गते गाउँसभाबाट पास गरेर ६१ करोड ३२ लाख रुपैयाँको बजेटको कार्यक्रम शनिवार प्रस्तुत गरिएको हो।

जसमा सबैभन्दा धेरै पूर्वाधार विकासमा २१ करोड १२ लाख छुट्याइएको छ। वडा कार्यालय र अन्य सामुदायिक भवन निर्माणका लागि ४ करोड ७७ लाख, सडक निर्माण र स्तरोन्नति गर्न २ करोड ८६ लाख छुट्याइएको छ। आर्थिक विकासमा २ करोड १६ लाख, सामाजिक विकासमा ३१ करोड ३३ लाख, वन तथा वातावरणमा ३३ लाख, सुशासन तथा संस्थागत विकासमा ६ करोड ३७ लाख छुट्याइएको छ। सामाजिक विकास शीर्षकको बजेटबाट सामाजिक सुरक्षा भत्ता, शिक्षा र स्वास्थ्यका कर्मचारीको तलव समेत ब्यहोरिने गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले कृषि र पशुपालनलाई बजेटमा बढी जोड दिएको छ भने पर्यटनलाई पनि प्राथमिकता साथ अघि सारिएको छ। गाउँपालिका, प्रदेश सरकार र संघ सरकारबीच समन्वय गरेर विकास निर्माणका काम गरिने उनको भनाई छ।

बजेट सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको पीरमर्का बुझ्नकै लागि याङ्जाकोटमा सिंहदरबार आएको बताए। उनले प्रदेशको शत्रु नै गरीबी भएकोले १० वर्षभित्र गरीबी अन्त्य गर्ने दाबी गरे। ‘सबै घरमा बिजुली र धारा पुर्याउने सरकारको लक्ष्य छ। याङ्जाकोटलाई विशेष प्रकारको हिल स्टेशन बनाउन चाहन्छ, ’ उनले भने, ‘यसको योजना बनाइरहेका छौं। गाउँपालिकासँग सहकार्य गर्न तयार छ। ’ काँग्रेसले गरेको विरोधमा उनले लोकतन्त्रमा विरोध गर्न पाइने र त्यसलाई सामान्य रुपमा लिएको प्रतिक्रिया दिए।

प्रदेश सांसद मनबहादुर गुरुङले जनमतको कदर गर्न काँग्रेसलाई आग्रह गरे। ‘किनारामा बस भनेर जनताले मत दिएको छ। जनमतको कदर गर्नु राम्रो हुन्छ, ’ उनले भने, ‘प्रजातन्त्रमा बहुमत स्वीकार गर्न सक्नुपर्छ। ’

अर्का सांसद गायत्री गुरुङ, जिल्ला समन्वय समिति कास्की प्रमुख बैनबहादुर क्षेत्री लगायतले गाउँपालिकाको समृद्धिमा आवश्यक समन्वय गर्ने बताए।

कार्यक्रममा जन्मभूमि पुरस्कारबाट ५० हजार नगदसहित डा जगमान गुरुङलाई सम्मान गरिएको छ। कार्यक्रममा जगमनको उपस्थिति भने थिएन।

यस्तै, एसियन गेममा रजत पुरस्कार विजेता युकेश गुरुङलाई पनि ५० हजार नगद सहित सम्मान गरिएको छ। कार्यक्रममा कर्मचारी, पत्रकार, जग्गादाता, भेंडापालक, होम स्टे सञ्चालक लगायतलाई सम्मान गरिएको थियो।

काँग्रेसको नाराबाजी

बजेट तथा कार्यक्रममाथि आपत्ती जनाउँदै मादी काँग्रेसले चाहीँ सार्वजनिकीकरणमै नाराबाजी गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमै काँग्रेसले कालोझण्डा देखाएको थियो भने कार्यक्रम शुरु भएपछि नाराबाजी गरेर अवरोध गरेको थियो। गाउँपालिकाले गरेका सबै निर्णयमा काँग्रेसतर्फका जनप्रतिनिधिहरुले ‘नोट अफ डिसेन्ट’ लेखेको वडा सदस्य सरोज केसीले जानकारी दिए। ‘नीति कार्यक्रममा हामीले संशोधन हालेका थियौं। त्यसबारे कुनै छलफल नै भएन। एकलौटी रुपमा बजेट ल्याइयो, ’ उनले भने, ‘यो हामीलाई चित्त बुझेन त्यसैले विरोध गरेका हौं। ’

बजेट संशोधन गरेर समानुपातिक वितरण नभएसम्म आन्दोलन जारी राख्ने काँग्रेस मादीका सभापति देवीजङ्ग गुरुङले जानकारी दिए। ‘बजेटमा राजनीतिक विभेद छ। सच्याएर ल्याउनुस् भनेका थियौं, ’ उनी भन्छन्, ‘पेलेर जान खोजियो। काँग्रेसले त्यसको विरोध गर्यो। अझै विरोध जारी छ। ’ उनले १२ वटै वडामा भण्डाफोर कार्यक्रम लिएर जाने बताएका छन्। उनीहरुको विरोधपछि प्रहरीसँग धकेलाधकेल भएको थियो। आफ्ना जायज माग राख्दा पनि प्रशासनले लाठीचार्ज गरेको वडाध्यक्ष याम गुरुङले आरोप लगाए। झडपमा केही विद्यार्थी नेता र प्रहरी घाइते भएको जनाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width