श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०८१
Cm gandaki may 1st prg news

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताएका छन् । १३५ औं श्रमिक दिवस अवसरमा पोखरामा आयोजना भएको श्रमिक सभामा बोल्दै मुख्यमन्त्री अधिकारीले श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक भएको टिप्पणी गरे ।

‘श्रम हामीहरूको लागि अत्यन्त मूल्यवान् विषय हो, श्रमबाटै राष्ट्रिय पुँजी निर्माण हुन्छ, रगत र पसिनाको गन्ध जुन माटोमा बग्छ,’ उनले भने, ‘त्यो माटो सुगन्धित हुन्छ, त्यहीं माटोको सम्मान गर्न मे दिवसले प्रेरणा दिनेछ ।’

उनले नेपालमा अधिकार प्राप्तिको आन्दोलन सकिएर श्रमिक वर्गको हक, हितको लागि ऐन कानुन निर्माण भए पनि पूर्ण कार्यान्वयन भइनसकेको बताए । यसको कार्यान्वयनका लागि रोजगारदाता र श्रमिक दुवैले आफ्नो कर्तव्य र दायित्व बुझ्न सक्नुपर्नेमा उनको जोड छ । सामाजिक विकास मन्त्रालयमा निस्क्रियजस्तो देखिएको समन्वय केन्द्रलाई सक्रिय बनाउँदै श्रमिकको हितको लागि कार्य गर्ने प्रतिवद्धता मुख्यमन्त्री अधिकारीले व्यक्त गरे । ‘तपाईँहरूसँग निरन्तर सहकार्य गरेर रोजगारदाता, सरकार र श्रमिककोबीचमा आपसमा समन्वय गरेर अत्यन्त श्रममैत्री र उद्योगमैत्री वातावरण बनाएर मे दिवसमा खुसी साट्ने गरी अगाडि बढ्न मेरोतर्फबाट हुने सम्पूर्ण प्रयत्नहरू केन्द्रित गर्नेछु,’ उनले भने ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेश पोखराले आयोजना गरेको सभामा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफ्नो पार्टी श्रमिकका मुद्दामा सधैँ गम्भीर रहेको भन्दै श्रम क्षेत्रका माग र मुद्दा सम्बोधनका लागि सहकार्य गर्न तयार रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) गण्डकी अध्यक्ष गायत्री गुरुङले सबै क्षेत्रमा काम गर्ने मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सरकार तयार हुनुपर्ने बताइन् । उनले समान काममा लैंगिक आधारमा फरक ज्याला दिएर विभेद हुने गरेकाले यो अवस्था अन्त्यका लागि सबै राजनीतिक दल तथा सरकारले सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइन् ।

मजदुर नेता मुरारी शर्माले मजदुरहरु हरेक दिन असुरक्षित हुँदैगएका भन्दै श्रम आयोग गठन गरी श्रम क्षेत्रका समस्या समाधानमा जोड दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस उपाध्यक्ष राधिका कुइँकेल, अखिल नेपाल ट्रेड युनियन महासंघ उपाध्यक्ष सोमबहादुर थापा, जिफन्ट गण्डकी अध्यक्ष रुद्र खत्री र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकीका सदस्य रुद्र गौतम लगायतले ट्रेड युनियन अधिकार र श्रमिक दिवसको महत्वबारे बोलेका थिए । त्यसअघि, पृथ्वीचोकदेखि सिर्जनाचोकसम्म श्रमिक ¥याली भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width