नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०८१
Narayangarh Butwal Road

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा ३३ किलोमिटर सडक कालोपत्रे गरिएको छ । ४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत मात्रै काम सकाएको छ ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार वैशाख १५ सम्म पूर्वी खण्डमा ३३ किलोमिटरमात्रै कालोपत्रेको काम सकिएको छ । ४ लेनमा विस्तार भइरहेको सडकको दायाँखण्ड ६० किलोमिटर र बायाँखण्ड ६० किलोमिटर रहेकोमा दायाँतर्फ २२ किलोमिटर र बायाँतर्फ ११ किलोमिटर सडक कालोपत्रे सकिएको खनालले बताए । ‘पछिल्लो ५ महिनामा हामीले एकतर्फी १८ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेका छौं,’उनले भने, ‘२०७५ माघदेखि २०८० असारसम्म एकतर्फी १५ किलोमिटर सडक कालोपत्रे भएको थियो ।’

अहिले सडकमा कालोपत्रेसँगै सडक किनारको खाल्डो पुर्ने कामसँगै सडकमा बेस र सबबेस गर्ने काम भइरहेको खनालले बताए । यस खण्डमा निर्माण हुने २५ मिटर लामा सबै साना पुलहरूको निर्माण सम्पन्न भएको उल्लेख गर्दै खनालले ठूला पुलहरूको ग्रिडर (पुलमा पिल्लर उठाएपछि ढलान गर्न राखिने बिम) राख्ने काम भइरहेको बताए । ‘विसं २०८० सालभित्रै सर्वसाधारणले प्रत्यक्षरुपमा सहज र सुरक्षित महसुस गर्न सक्नेगरि गैंडाकोट–दाउन्ने सडक खण्डमा प्रगति हासिल गर्ने हाम्रो योजनाअनुरुप काम गर्ने प्रयास गर्दागर्दै पनि सोचेअनुरुप प्रगति हासिल गर्न सकेनौं,’ उनले भने, ‘तर कामले तीव्रता पाउँदा अहिले सडक बिस्तारको काम अपेक्षाकृत रुपले भइरहेको छ ।’

सडक विस्तारको काम गरिरहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाले हाल कावासोतीको डण्डादेखि पश्चिमतर्फ र गैंडाकोटको थुम्सीको जंगलमा कालोपत्रेको काम चलिरहेको बताए । अहिलेसम्म सडक कालोपत्रेको काम करिब २७ प्रतिशत सकिएको झाको भनाइ छ । देवचुलीको दुम्कौली, रजहर र गैंडाकोटमा बिजुलीको पोल सार्ने काम बाँकी नै रहेका कारण सडक विस्तारमा केही ढिलाइ भइरहेको उनको भनाइ छ ।

निर्धारित समयमा सडक विस्तारको काम नसकिएपछि निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै सडकको म्याद थप गराउँदै आएको छ । पछिल्लो पटक गत साउनमा म्याद सकिएको आयोजनाको पूर्वी खण्डमा भदौ ११ बाट लागु हुनेगरी ३ सय ३० दिनको म्याद थप गरिएको छ । सरकारले आयोजनाको समयसीमा २०८१ को साउनसम्म दिए पनि निर्माण पक्षले सन् २०२५ को फेब्रुअरीसम्ममा ९५ प्रतिशत काम सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको झाको भनाइ छ ।

गैंडाकोटबाट बुटवलसम्मको ११३ किलोमिटर सडकमध्ये निर्माण कम्पनीले गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई पूर्वीखण्ड र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटरलाई पश्चिमखण्डअन्तर्गत राखेर काम गरिरहेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गकोे विस्तार गरिरहेको छ । आयोजनाको लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम भइरहेको हो ।
४ लेनमा विस्तार हुने सडकको सहरी क्षेत्रमा अतिरिक्त २ लेन रहनेछ । त्यस्तै दाउन्ने पहाडको करिब ५ किलोमिटर खण्डमा भौगोलिक अवस्थाका कारण जम्मा ३ लेनको सडक रहने निर्माण कम्पनीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width