‘एमाले बिनाको नेपाल र ओली बिनाको एमाले हुँदैन’

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०८०
KP Oli Photo 1

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा २० वर्षजति अरू कसैले आश नगरे पनि हुने बताएका छन् । उनले एमाले र देश ठिक बाटोमा बढाएपछि मात्रै चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउने बताए ।

एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहणमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अझै २० वर्ष आफूले नेतृत्व लिने बताएका हुन् ।

‘कसैले एमालेबिनाको नेपाल भने कठै बरै, माया लाग्छ एमालेबिनाको नेपाल । कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ,’ उनले भने, ‘केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । मैले पोहोरपरार भनेको थिएँ, जुँगा कालाकाला भएका छन् । मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ । रोपेको होइन, आफैँ पलाउन थालेको छ ।’

उनले अध्यक्ष पद छाडेपछि मागेको सहयोग दिएर नयाँ नेतृत्वलाई काम गर्न दिने उनको भनाइ थियो । ‘हाम्रो पार्टीमा एउटा गलत पारिपाटी चलाइएछ, पूर्व पार्टी प्रमुख स्वतः वरिष्ठ नेता हुन्छ र अध्यक्षकै छेउमा बस्छ । मैले अहिले नै भन्छु, मैले पार्टी अध्यक्ष छाडेपछि नयाँ अध्यक्षको छेउमा बसेर यो पनि चाहियो, त्यो पनि चाहियो गर्दिनँ,’ उनले भने, ‘मागेको सहयोग दिने हो । मेरो हैसियत यो हो भनेर त्यहाँ लड्न जाने होइन । अर्काले अध्यक्ष पाएपछि मज्जाले काम गर्न पाउनुपर्छ । काम गर्न दिनुपर्छ ।’

उनले अहिलेको गठबन्धनलाई राजनीतिक समीकरणको संज्ञा दिए । ‘देश नेपालीले नै चलाउनुपर्छ भन्ने मान्यता स्थापित गर्न पनि हामीले गठबन्धन तोड्नैपर्ने भयो । अहिले हामीले बनाएको गठबन्धन होइन यो राजनीतिक समीकरण हो,’ ओलीले भने, ‘गठबन्धन नीतिहीन थियो । एमाले विरोधी अनि देशविरोधी थियो । एमाले नयाँ समीकरणको संघारमा छ ।’

अहिले हामीले बनाएको गठबन्धन होइन् यो राजनीतिक समीकरण हो

नयाँ समीकरणमा एमाले सफलतापूर्वक अगाडि बढेको उनले बताए । ‘पार्टीको आ–आफ्नो नीति र उद्देश्य छ । ती नीति र उद्देश्य नछोडिकन अहिलेका सरकारमा सँगै बसेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा आउनुपर्ने त्यो अभिभारा अगाडि आयो र हामीले कदम चालेका छौं,’ उनले भने, ‘हामी सफलतापूर्वक आगाडि बढेका छौं ।’

अघिल्लो गठबन्धन निकम्मा र भ्रष्ट भएको आरोप उनले लगाए । ओलीले भने, ‘दक्षिणपन्थी, निकम्मा, भ्रष्ट गठबन्धन देशका लागि दुर्भाग्य थियो । एमालेको सरकार ढालेपछि देश ओरालो लागेको लागै थियो, त्यस सरकारलाई हटाउनै पर्ने भयो । हटायौं ।’

वर्तमान सत्ता समीकरणमा सँगै रहेका आफ्ना पूर्व सहकर्मी एवं एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनालको पनि आलोचना गरेका थिए । उनीहरुले एमालेको नेतृत्व गरेर पनि मैले केही पाइन र यो चाहियो ऊ चाहियो भनेको टिप्पणी गरे । उनले भने, ‘कसैलाई पदमा पुगेपछि घमण्ड पलाउँदो रहेछ । माधव नेपालले पार्टीको १५ वर्ष नेतृत्व गर्नुभयो । वरिष्ठ नेता बन्नुभयो । अनि मैले केही पाइन भन्नुभयो । मलाई यो चाहियो ऊ चाहियो भन्नुभयो ।’

उनले गण्डकी एमालेको किल्ला र कास्की किल्लाको राजधानी भएको दाबी गरे । उनले भने, ‘एमालेका लागि गण्डकी लालकिल्ला हो । कास्की लालकिल्लाको राजधानी हो । कास्की आउँदा आफ्नै घर आएजस्तो लाग्छ ।’

ओलीले अधिवेशनपछि पार्टीमा एकता बढ्दै गएको भन्दै अप्ठेरो चिर्दै अघि बढ्न नेता कार्यकर्तालाई सुझाए । गत १४ चैतमा सम्पन्न अधिवेशनबाट कास्कीको आगामी २ वर्र्षका नेतृत्व बैनबहादुर अधिकारी क्षत्रीले पाएका छन् । निकटतम् प्रतिस्पर्धी माधव बास्तोलालाई हराएर उनको प्यानल नै निर्वाचित भएको हो । अधिकारी केन्द्रीय सदस्य खगराज अधिकारीनिकट हुन् भने बास्तोला उपमहासचिव पृथ्वीसुब्बा गुरुङनिकट हुन् । उपाध्यक्षमा भेषराज बराल, सचिव दर्शन लामा, उपसचिव लालबहादुर परियार, उपसचिव (महिला) सन्तुदेवी सुवेदी निर्वाचित भएका छन्् ।

Related News

सम्बन्धित समाचार

hero news full width