रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड

धनबहादुर गुरुङ
जेठ १५, २०८०
Ratna Mandir Photo 1

पोखरा । गणतन्त्र दिवसका दिन फेवा किनारको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिने सूचना केही हप्ता अघिदेखि नै सञ्चार माध्यममार्फत् थाहा भइसकेको थियो । सोही सूचनाको आधारमा पोखरास्थित रत्न मन्दिरको गेटमा सोमबार सर्वसाधरणहरूको बाक्लो उपस्थिति थियो । बिहानैदेखि सानो गेट खुला थियो । वर्षौं देखि रत्नमन्दिर हेर्न आतुर सर्वसाधारण भित्र पस्नै हतारोमा थिए ।

मुख्य गेटबाट प्रवेश गरे पनि अर्को गेट खुला थिएन । त्यो बीचमा औपचारिक कार्यक्रमको तयारी भइरहेको थियो । रत्न मन्दिर हेर्न पुगेकाहरू व्यग्र प्रतीक्षामा थिए । केही समयपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको आगमनसँगै कार्यक्रम सुरु भयो । औपचारिक कार्यक्रमकै बीचमा मन्त्री किराँतीले रत्न मन्दिर खुला भएको घोषणा गरे ।

घोषणा लगत्तै मन्दिरतर्फको गेट पनि खुल्यो । ठेलमठेल गर्दै मानिसहरू मन्दिर परिसर छिरे । फोटो, भिडियो कैद गरे, केही समय रमाए । धेरैको कोतुहलताको समाधान भयो, केहीको अझै पूरा भएन । किनभने प्रवेशद्वार खुले पनि मन्दिरको मूल ढोकामा प्रवेश निषेध थियो । मन्दिर परिसरमात्रै छिर्न पाएका सर्वसाधरणहरू निकै खुसी थिए ।

नेपालमा आएको गणतन्त्रको १५ वर्ष पूरा भएपछि खुलेको दरबार हेर्न पुगेकाहरूले निकै खुसी व्यक्त गरे । पोखरा २२ का नरनाथ बरालले राजाको दरबार सर्वसाधारणले अवलोकन गर्न पाउनु निकै महŒवपूर्ण विषय भएको बताए । ‘हामी त डाँडामा बस्छौं । कहिलेकाहीँ पोखरा आउँदा पनि सधैं बन्द हुन्थ्यो । आज गणतन्त्र दिवसका दिन खुलेको छ । निकै राम्रो लाग्यो,’ उनले भने, ‘यहाँको मेन भवन खुलेको छैन । त्यहाँभित्र के छ भन्ने अझै कौतुहलता रह्यो ।’
पोखरा ६ का वेदनिधि पहारीलाई भने रत्न मन्दिर खुलेकोमा चिन्ता थियो । विचौलिया सल्बलाउने अनि अतिक्रमण र भ्रष्टाचार हुने उनको शंका थियो । ‘खुलेको ठिकै हो । नदेखेकाले हेर्ने अवसर पाउने भए तर नखुलेकै राम्रो थियो । सार्वजनिक सम्पत्ति संरक्षण त भएको थियो,’ उनले भने, ‘अब विचौलिया सल्बलाउन सुरु गर्छन् अनि भ्रष्टाचारको गन्ध सुरु हुन्छ ।’

फेवाताल रत्न मन्दिर सरोकार समितिका अध्यक्ष विष्णुहरि अधिकारीले विचौलियालाई खबरदारी गरिरहने बताए । ‘अब यहाँ खिचडी पाक्न सक्छ । त्यसैरी हाम्रो खबरदारी भनेको निजी क्षेत्रलाई दिन पाइँदैन भन्ने छ,’ उनले भने ।

उद्घाटनपछि मन्त्री किराँतीले मन्दिर अवलोकन गर्नुभन्दा रेखदेख र संरक्षण गर्नु ठुलो कुरा भएको बताए । यसका लागि तीनै तहको सरकारसँगै पोखरावासी चनाखो हुनुपर्ने उनको भनाइ थियो ।’ ‘राजाले के गरे भन्ने विषय इतिहास भइसकेको छ, ऐतिहासिक स्थलहरूको संरक्षण गर्ने जिम्मा नेपाली सबैको हो, उनले भने, ‘पर्यटन क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड हो, पोखरास्थित रत्नमन्दिर दरबार, ताल, सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रचारप्रसार गर्नु सबैको कर्तव्य हो ।’

 १ सय ७४ रोपनी ४ आना २ दाम क्षेत्र ओगटेको रत्न मन्दिरभित्र साना ठूला १० वटा भवन छन्

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रेशम जुग्जालीले रत्नमन्दिर दरबारको संरक्षण गर्ने दायित्व स्थानीय सरकारलाई दिन आग्रह गरे । पोखरा महानगरका मेयर धनराज आचार्यले लामो प्रयासपछि खुलेको रत्नमन्दिरले पोखराको पर्यटनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘रत्नमन्दिर खुला हुनु बहुप्रतीक्षाको घडी हो । आज त्यो पूरा भयो,’ उनी भन्छन्, ‘अहिले परिसर खुलेको छ । केही प्राविधिक कुरा मिलाएपछि भित्री भाग पनि खुल्छ । रत्न मन्दिरका कारण पोखराको पर्यटन नयाँ उचाइमा पुग्ने विश्वास लिएका छौं ।’

रत्न मन्दिर प्रवेश गर्न नेपालीका लागि १ सय रुपैयाँ शुल्क तोकिएकोमा विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइनेछ । यस्तै विदेशी पर्यटकलाई १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

रत्न मन्दिर विसं २०१५ मा बनेको हो । राजा महेन्द्र शाहले पोखरा फेवा किनारमा टहलिन र तनावमुक्त भएर बस्न कान्छी रानी रत्नको नामबाट मन्दिर निर्माण गरेका थिए । पछि वीरेन्द्र, ज्ञानेन्द्र हुँदै यो संरचना २०६७ मंसिर २० गतेदेखि नेपाल ट्रस्टको स्वामित्वमा छ । उक्त जग्गा १ सय ७४ रोपनी ४ आना २ दाम रोपनी क्षेत्रफलमा फैलिएको छ । मन्दिरभित्र साना ठूला १० वटा भवन छन् ।

नखुलेको ढोका खोलेपछि के के भेटिन्छ ?
सर्वसाधारणका लागि रत्न मन्दिर परिसर खुला गरिए पनि मुख्य दरबार ‘मन्दिर’ को ढोका खुलेन । त्यहाँ पुग्ने सबैको कौतुहलता त्यही रह्यो । नेपाल ट्रष्टको कार्यालयका अनुसार विविध कारण मन्दिर खुला नगरिएको बताएको छ । साँघुरो ठाउँ भएकाले सुरक्षाको ख्याल गर्दै प्रवेश निषेध गरिएको ट्रस्टका कर्मचारीको भनाइ थियो । तर, सर्वसाधरणको कौतुहलता मेटाउन नेपाल सरकार, नेपाल ट्रस्टको कार्यालयले ‘रत्न मन्दिरको संक्षिप्त परिचय’ नामको ब्रोसर सार्वजनिक गरेको छ । जसमा मन्दिरको ११ कोठामा के के छ भन्ने उल्लेख गरेको छ ।

जसअनुसार पहिलो कोठालाई राजारानीको शयन कक्ष, कोठा नं.२ पोखरा सवारीको बेला रानीद्वारा पूजाआजा गर्ने तथा कपडामा इस्त्री गर्ने कोठा, कोठा न.३ शाही नातेदारहरूको शयन कक्ष, विशेष गरी राजाका छोरी ज्वाइँहरूले प्रयोग गर्ने गरेको, कोठा नं. ४ शाही नातेदार तथा वरिष्ठ पाहुनाहरूको शयन कक्ष छ । शयन कक्षमा बिपी कोइराला पनि बास बसेको कुरा कोइरालाको आत्मवृतान्तमा उल्लेख छ ।

कोठा नं. ५ शाही नातेदारहरूको शयन कक्ष, विशेष गरी युवराज र युवराज्ञीहरूले प्रयोग गर्ने गरेको, कोठा नं. ५ शाही नातेदारहरूको शयन कक्ष, कोठा नं. ७ मनोरञ्जन कक्षको रुपमा विशेष गरी म्युजिक सुन्ने बजाउने, रेडियो सुन्ने, क्यारमबोर्ड खेल्ने प्रयोजनार्थ प्रयोग गर्ने, कोठा नं. ८ आराम कक्ष, राजाले नुहाउने क्रममा कहिलेकाहीं प्रयोग गरिएको, कोठा नं. ९ डाइनिङ हल, कोठा नं. १० भेटघाट गर्ने लक्ष्य, रत्नमन्दिर दरबार तथा अन्य भवनमा बस्ने व्यक्तिहरूले पाहुना भेटघाट गर्ने तथा उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्ने प्रयोजनका लागि ल्याएको, कोठा नं.राजाका मुख्य एडिसीको शयन कक्ष रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width