इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०८१
indra school
पोखरा। इन्द्रराज्यलक्ष्मी मावि, लामाचौरको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भएको छ । त्यस अवसरमा गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन भयो ।
भवन उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै विद्यालयलाई जिल्लाकै नमुना बनाउनुपर्ने बताए । उनले संघीय शिक्षा तथा निजामती ऐन शीघ्र ल्याउनुपर्ने भन्दै पठनपाठनका सिलसिलामा नेपाली भाषालाई प्राथामिकता दिन सुझाव दिए ।
पूर्व अर्थमन्त्री बरालले पढ्नुको अर्थ जान्नु र बुझनु हुनुपर्ने भन्दै सिक्ने सिकाउने प्रक्रिया जीवनभर चलिरहने बताए । जनताका अपेक्षा तथा विश्वासलाई आफूले सधै शिरोपर गर्ने उनको भनाइ छ ।
शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश प्रमुख अम्बिकाप्रसाद आचार्यले अभिभावकले विद्यालयमा धनको मात्रै नभई मनको पनि लगानी गर्नुपर्ने बताए । उनले विदेश जाने सपना छाड्न विद्यार्थीलाई सुझाव दिए । उनले सिकाइलाई सकेसम्म सांगीतिक बनाउनुपर्ने धारणा राख्दै नतिजा सुधार योजना निर्माण गरी लागु गर्न विद्यालयलाई सुझाव दिए ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले अभिभावक शिक्षालाई बलियो बनाउनुपर्ने जनाउँदै शिक्षामा अंग्रेजी भाषालाई प्राथमिकता नदिन सुझाव दिए । पठनपाठनको माध्ययम भाषाकै कारण आजकल नेपाली भाषा, संस्कृति माथि निरन्तर प्रहार भइरहेको औंल्याउँदै प्रमुख आचार्यले इन्द्रराज्यलक्ष्मीलाई उत्कृष्ट विद्यालय बनाउन सबै लाग्नुपर्ने धारणा राखे ।
विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले पोखरा १६ शिक्षाको हवका रुपमा विकास भइरहेको चर्चा गर्दै सबैको ध्यान शैक्षिक गुणस्तर बृद्वितर्फ हुनुपर्ने आंैल्याए।
कार्यक्रमबीच शिक्षकहरु सीता पौडेल, सचिन सुवेदी, शारदा जिसी, कल्पना गौतम तथा कर्मचारी याम मगरलाई सम्मान गरियो । त्यस्तै शिक्षक रामजी जिसी र पूर्व लेखापाल सुशीलकुमार श्रेष्ठको बिदाइ भयो ।
विद्याथी सिर्जना नेपाली, नीति पनेरु, शिक्षक कमला सुनार, पूर्व प्रावि, कक्षा ९, १० र ११ का विद्यार्थीले विभिन्न प्रस्तुति राखे भने विभिन्न अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरिनुका साथै पुरस्कार पनि वितरण गरियो ।
विद्यालय प्रतिवेदन प्रस्तुत गर्दै प्रअ केशवप्रसाद अम्गाइले समृद्ध राष्ट्रका लागि असल विद्यार्थी नाराका साथ विद्यालय अगाडि बढिरहेको चर्चा गर्दै सामूहिक प्रयासबाट मात्रै विद्यालयको प्रगति हुने जनाए । उनले बालउद्यान, अलपत्र अवस्थाको सभाहल निर्माणलाई भावी योजनाका रुपमा समेट्दै खेल मैदानमा फुटट्रयाक निर्माण अनिवार्य बनेको औंल्याए ।
विद्यालय अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष राजकुमार जिसीले स्वागत र सूचना अधिकारी सीता पौडेल तिमिल्सिनाले सञ्चालन गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width