कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०८१
top 3 male

पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी (पुरुष) विधाको मनोनयनमा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मगर परेका छन् । तीमध्ये एक जनालाई शुक्रबार हुने समारोहमा वर्ष खेलाडी घोषणा गर्दै टेलजी इलेक्ट्रिक स्कुटरसहित अवार्ड प्रदान गरिनेछ । पोखरा सभागृहमा हुने अवार्ड कार्यक्रममा उक्त विधामा मनोनयनमा परेका तीनै जना आ–आफ्नो खेल क्षेत्रमा दख्खल राख्छन् ।

अर्जुन कुमाल 

गुल्मी खज्र्याङका अर्जुन कुमालको जन्म १८ वर्षअघि भारतको नयाँदिल्लीमा भएको हो । भारतको क्रिकेट संस्कारबाट उनी टाढा हुन सकेनन् र भारतमै गण्डकीका राहुल शर्मासँग क्रिकेट सिके । अहिले पनि उनी समय मिलाएर राहुलसँग प्रशिक्षण लिन भारत गइरहन्छन् । राहुलको आग्रहमै उनी पोखरा आएर गण्डकीबाट खेल्न सुरु गरे । १३ वर्षकै उमेरमा यू–१६ क्रिकेट लिग प्रतियोगितामा गण्डकी प्रदेशबाट विकेटकिपरको रुपमा खेलेका थिए । २०२१ को प्रधानमन्त्री कपमा विभागीय टोली आर्मीविरुद्ध डेब्यु खेलमै ६ चौकासहित ३६ रन जोड्दै धेरैको ध्यान तानेका थिए ।

शुक्रबार हुने अवार्ड समारोहमा वर्ष खेलाडीले टेलजी इलेक्ट्रिक स्कुटरसहित अवार्ड प्राप्न गर्ने

५ वर्षअघि यू–१६ हुँदै सुरुआत गरेका उनले घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा लगातार शानदार प्रदर्शन गर्दै आएका छन् । २०१९ मा थाइल्याण्डमा सम्पन्न यु–१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटबाट नेपाली क्रिकेटमा सुरुआत गरे । यु–१९ विश्वकप खेलेका अर्जुन २०८० सालको प्रदर्शनका आधारमा नै पोखरा स्पोर्टस् अवार्डमा मनोनयनमा परेका छन् । २०८० सालमा उनले ४ वटा अन्तर्राष्ट्रिय टुर गरे । योसँगै आयरल्याण्ड र क्यानडासँग नेपाल ‘ए’ बाट खेले । यु–१९ विश्वकपमा पाकिस्तान, अफ्गानिस्तान, न्युजिल्याण्डसँगै नेपाल समुह ‘डि’ मा थिए । जसमा अर्जुनको प्रदर्शन उत्कृष्ट थियो । उनले न्युजिल्यान्डसँग ९० रन प्रहार गरेका थिए । उनकै प्रदर्शनमा विश्वकपको सुपर सिक्समा पुगेको थियो ।
मलेसियामा भएको यु १९ एसिसी प्रिमियर कपको उपाधि जिताउँदा पनि उनले नेपालका लागि महत्वपूर्ण इनिङ्स खेलेका थिए । त्यहाँ उनले साउदी अरबविरुद्धको खेलमा १११ बलमा १७ चौका र २ छक्कासहित १४३ रन प्रहार गरे । फाइनलमा युएईलाई हराउन ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले यु–१९ एशिया कप पनि खेले । जहाँ उनले अफ्गानिस्तानविरुद्ध ९१ रनको इनिङ्स खेलेका थिए । यो बाहेक उनी २०८० सालमा गण्डकी प्रदेशबाट पिएम कप टि–२० र एक दिवसीय खेल खेलेका थिए ।

प्रदीप खड्का

२०५० सालमा पोखरामा जन्मिएका प्रदीप सानैदेखि टेनिस कोर्टसँग नजिक भए । जुनियर गेम खेल्दै १७ वर्षको उमेरमा उनले छैटौं सिटिजन बैंक ओपन टेनिस प्रतियोगिता खेले । अहिले उनी नेपालको टेनिसमा पुरुषतर्फ सिंगल र डबल दुबैमा नम्बर १ मा छन् । उनको यात्रा अहिलेसम्म जारी नै छ । उनले सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल हात पार्दै आफूलाई राष्ट्रिय प्रतियोगितामा उभ्याएका हुन् । १३ औं सागमा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल भए । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जिते ।

नवौं राष्ट्रिय खेलकुदमा ३ स्वर्ण पदक जित्न सफल खेलाडी हुन् । उनले मेन्स सिंगल, मेन्स डबल र टिम इभेन्टमा स्वर्ण पदक जिते । योबीचमा उनले नेपाल र विदेशमा भएका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । प्लस टु सकेका प्रदीप २२ वर्षकै उमेरमा विदेशी प्रशिक्षक बन्नु पनि उनको अर्को सफलता हो । २०८० साल उनका लागि अझै उत्कृष्ट रह्यो । १९ औं एसियन खेलकुदमा नेपालबाट सहभागिता जनाउँदै दोस्रो चरणमा पुगे । बहराइनमा भएको डेभिस कपमा पनि उनी सहभागी बने । दोस्रो सिलीगुरी मनिप्राइजमा सहभागी बनी दोस्रो भए । सोही वर्ष नै उनी १२ औं सहविर मेमोरियल ओपन टेनिसमा सिंगलतर्फ विजेता र डबल्समा उपविजेता भए । छैटौं बुटवल ओपन टेनिसमा विजेता (सिंगल) बने । २० औं माछापुच्छ«े ओपनमा सिंगततफै दोस्रो भए । यस्तै, पहिलो राइजिङ स्टार ओपनमा सिंगलतर्फ दोस्रो, तेस्रो वीरगणेशमान सिंगल र डबल्समा प्रथम, नवौं सिटिजन बैंक ओपनमा मिक्स डबल्समा पहिलो र सिओएस राष्ट्रिय ओपस टेनिसमा मिक्स डबल्समा पनि प्रथम भए । उनले यसअघि पनि वर्ष खेलाडीको उपाधि जितेका छन् ।

हिमाल सुनारी मगर

गण्डकी प्रदेशबाट भलिबल खेल्ने हिमाल सुनारी मगरको जन्म २०५५ मा पाल्पाको निस्दी ४ मा भएको हो । अहिले उनी नवलपुरको बौदीकाली ४ आमडाँडा बस्छन् । उनको सानैदेखि भलिबलमा रुचि थियो । दाइ होमबहादुर सुनारीको पछिपछि झुम्राको बल लिएर हिंड्दाहिंड्दै उनी पनि भलिबल खेलाडी बने ।

सानैदेखि टोल, गाउँ, विद्यालय, पालिकाहुँदै जिल्लास्तरीय प्रतियोगिता खेलेका उनी ६ वर्षअघि नवलपुरको जिएम समाजसँग जोडिए । त्यसपछि गण्डकी प्रदेश भलिबल टिममा पर्न थाले । उनले २०७८ सालमा दोस्रो टाइगर कप पनि खेले । त्यो प्रतियोगितामा गण्डकीले उपाधि त जित्न सकेन तर उनको क्वीक स्पाइकले सबैको ध्यान तानेको थियो । तेस्रो टाइगर कपमा भने गण्डकीले उपाधि नै उचाल्यो । २०८० साल उनको लागि निकै उपलब्धिमूलक रह्यो ।

गण्डकीले सहभागिता जनाएको धेरैजसो प्रतियोगितामा उपाधि हात पारेको छ । चितवनमा भएको अन्तरप्रदेश स्तरीय खेलकुदमा भलिबलतर्फ गण्डकीले स्वर्ण पदक हात पा¥यो । त्यहाँ हिमाल सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । लामाचौर कप, मुख्यमन्त्री कप (झापा) र वीरगञ्ज कपमा पनि गण्डकी प्रथम भयो । चौथो टाइगर कपमा गण्डकी दोस्रो बन्दा उनले उत्कृष्ट सर्भरको पुरस्कार हात पारे । कञ्चनपुरमा भएको मुख्यमन्त्री कप र बुटवलमा भएको मणिमुकुन्द कप गण्डकी द्वितीय भयो । यस्तै, ३४ औं राष्ट्रिय खेलकुद भलिबल र नवलपुरमा भएको जिएम कपमा तेस्रो बनेको गण्की एनभिए कप र बागलुङमा भएको बुकी कपमा चौथो बन्यो । उनले जिल्ला तथा पालिकास्तरीय प्रतियोगिता पनि जितेका छन् ।

२०८० सालमा दुवई र मलेसिया भलिबल खेल्नकै लागि पुगे । तनहुँ सेवा समाजको निमन्त्रणामा दुबै उत्कृष्ट खेल प्रस्तुत गरे । सगरमाथा क्लबको निमन्त्रणामा मलेसिया खेली उपाधि जित्दै सर्वोत्कृष्ट खेलाडी बने ।

Related News

सम्बन्धित समाचार

hero news full width