प्याब्सन स्पोर्टस् मिट : भलिबलमा प्रतिभा र पश्चिमाञ्चल फाइनलमा

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७९
pabson

पोखरा । १७ औं प्याब्सन स्पोर्टस मिटअन्तर्गत भलिबलमा प्लस टु छात्रातर्फ प्रतिभा मावि र पश्चिमाञ्चल मावि फाइनल प्रवेश गरेका छन् ।

प्रतिभाले करुणानिधिलाई र पश्चिमाञ्चलले गुरुकुललाई समान २–० सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । भलिबल संयोजक नवीन बरालका अनुसार तेस्रो स्थानका लागि करुणानिधि र गुरुकुल आमनेसामने हुनेछन् ।

मावि तह छात्रा भलिबलमा भने क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंललबार रेन्वोले डायमण्डलाई २–१, नेपाल आदर्शले स्टेप बाई स्टेपलाई २–१, ताराकुञ्जले नेशनल इन्भेन्टिभलाई २–०, टप्सले धवलागिरीलाई २–० को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइनल यात्रा तय गरेका छन् ।

मावि छात्रतर्फ सेमिफाइनलमा नीलगिरि, सिर्जना, न्यु मोडल र धवलागिरी प्रवेश गरेका छन् । नीलगिरिले नेशनल इन्भेन्टिभलाई २–०, सिर्जनाले विद्या निकेतनलाई २–०, न्यु मोडलले ताराकुञ्जलाई २–१ र धवलागिरीले ढुंगेसाँघुलाई २–० को सोझो सेटमा पराजित गरे ।

यस्तै, सिनियर र जुनियर छात्र फुटबलमा क्वाटरफाइनल समीकरण पूरा भएको छ । प्रचार संयोजक डिल्लिराम अर्यालका अनुसार जुनियरतर्फ २ विद्यालयका खेलाडीको कारण प्रोटेस्ट लाग्दा खेल नै गुमाउन पुगे । मेट्रोपोलिटान र भ्यु पोइन्ट कारबाहीमा परेका हुन् । मेट्रोपोलिटनले वेसलाइनलाई ३–१ र भ्यु पोइन्टले कुमुदिनीलाई २–० ले पराजित गरेकोमा उजुरी परेपछि पराजित बाबजुद दुवै टिमले अन्तिम ४ मा पुग्ने मौका पाएका हुन् । यस्तै, रेन्वोले स्नो भ्यूलाई ५–० र इडेनले मनकामनालाई २–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे । सिनियर छात्रतर्फ स्नो भ्युले बालोदयसँग र शान्तिदीपले मेरीगोल्डसँग भेट पक्का गरे । यसअघि स्नो भ्युले बालविद्यालाई ३–१ र बालोदयले शिशु कल्याणलाई २–० ले पराजित गरेको प्याब्सनले जनाएको छ ।

बास्केटबल प्लस टु छात्रामा प्रतिभा र भाष्कर उपाधिका लागि भिड्ने भएका छन् । प्रतिभाले मेरीगोल्डलाई २८–९ र भाष्करले केफलाई २०–४ को स्कोरमा पराजित गर्दै फाइनल पुगेका हुन् । सोही इभेन्टमा छात्रतर्फ प्रतिभा र पारामाउन्ट फाइनलमा प्रतिष्पर्धा गर्ने छन् । प्रतिभाले बालकल्याणलाई ३८–२० र पारामाउन्टले पश्चिमाञ्चलाई ३०–२५ ले पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरे ।

स्पोर्टस् मिट अन्तर्गत सिनियर, जुनियर मावि तह र प्लस टु (कक्षा ११–१२) तर्फका विभिन्न खेलकुद प्रतियोगिता जारी रहेका छन् । मंगलबार एथलेटिक्स र टेबुल टेनिसका खेल सुरु भएको स्पोर्टस मिट संयोजक उमा लामिछानेले जनाइन् ।
प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस् मिटअन्तर्गत २९ मंसिरसम्म चल्ने प्रतियोगितामा विभिन्न खेलमा गरी झण्डै ८ हजार खेलाडी प्रतिस्पर्धामा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width