राष्ट्रिय औद्योगिक व्यापार मेला तयारी

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७९
PCCI Mela Press Meet

पोखरा । पोखरा उद्योग वाणिज्य संघले २० औं संस्करणको समृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९ तयारी अगाडि बढाएको छ । कोरोनाका कारण २ वर्षसम्म रोकिएको मेला यही मंसिर १६ देखि २५ सम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुँदैछ ।

शुक्रबार पत्रकार सम्मेलनमा मेलाका मुख्य संयोजक एवं आयोजक संघका अध्यक्ष पवनकुमार प्रजापतिले कोरोनाले रोकिएको मेलालाई यसपटक नयाँ र फरक तरिकाले आयोजना गर्न लागिएको बताए । उनका अनुसार मेलामा कृषि, हस्तकला, स्थानीय उत्पादनसँग सम्बन्धित वस्तुहरु प्रदर्शनी र बिक्रीका लागि राखिने छन् ।

बजारको माग अनुसारका प्रत्यक्ष तालिम र उद्यम, व्यवसाय र पोखरासम्बन्धी टक सो पनि समेटिने छन् । ‘मेलालाई व्यवसायको रुपमा भन्दा पनि प्रवद्र्धनको रुपमा आयोजना गर्न लागिएको हो,’ प्रजापतिले भने । उद्यमशीलता र व्यवसायको प्रवद्र्धन नै मेलाको मूल उद्देश्य रहेको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । विविध तालिम संचालनका लागि सिटिइभिटीसँग समन्वय गरिएको उनले बताए ।

मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० वटा सहित करिब २ सय ५० स्टल रहने जनाइएको छ । पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामान बिक्री मेलाका आकर्षण छन् । उद्योग, शिक्षा, स्वास्थ्य र पर्यटनलगायत उत्पादन र सेवाको प्रवद्र्धन तथा बजारीकरणमा मेलाले सघाउने उद्देश्य छ ।

मेला अवलोकनकर्ताले क्युआर कोडमार्फत् टिकट लिन सक्ने र सम्पूर्ण स्टलको जानकारी प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । मेलाबाट १ करोड आम्दानी गर्ने लक्ष्य आयोजकको छ । जसमा १५ लाख बचत हुने अनुमान छ । बचत उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीको क्षमता अभिवृद्धिको लागि खर्च गरिने जनाइएको छ ।

लक्ष्मी हाउसको मुख्य प्रायोजनमा हुने मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेलासमिति सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २ सय ५१ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य संघा अध्यक्ष प्रजापतिको अध्यक्षतामा कार्यसम्पादन समिति गठन गरिएको छ । कार्यसम्पादन समितिअन्तर्गत सल्लाहकार समिति र विभिन्न २५ वटा उपसमिति गठन भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width