खानेपानी टंकीका लागि ग्रिनको सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७९
Green development

पोखरा । ग्रिन डेभलमपमेन्ट बैंकले कास्कीको मादी ७ स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले टंकी खरिद गर्न रकम सहयोग गरेको छ ।

बैंकले लेखनाथ खानेपानी उपभोक्ता संस्थामार्फत २ हजार लिटरका २ थान र १ लिटरको १ थान टंकी खरिद गर्न ६७ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।

सोमबार आयोजित समारोहमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत हरिबहादुर वुढाथोकीले लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मालाई बैंकको सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत रकम हस्तान्तरण गरेका हुन् ।

उनले लेखनाथवासीलाई मात्र नभई आसपासका क्षेत्रमा समेत स्वच्छ पानीको व्यवस्थापनमा लेखनाथ खानेपानी उपभोक्ता संस्था सफल रहेको र उक्त अभियानमा बैंक सहभागी हुन पाउनु गर्वको विषय रहेको बताए ।

खानेपानी संस्थाका अध्यक्ष मुरारी शर्माले बैंकहरुले समेत जनतालाई शुद्ध खानेपानी उपलव्ध गराउने अभियानमा सहभागी भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्यको अपेक्षा गर्ने बताए ।

कार्यक्रममा बैंकका तर्फबाट संयुक्त धाख्वा, दुर्गाप्रसाद श्रेष्ठ, रविचन्द्र तिमिल्सिना तथा खानेपानी उपभोक्ता संस्थाका कार्यसमितिका पदाधिकारी, सदस्यहरु तथा कर्मचारीको सहभागिता थियो ।

पोखरा सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल कास्की, बागलुङ, म्याग्दी, तनहूँ र नवलपुरमा रहेका १६ वटा शाखा कार्यालयहरुबाट अत्याधुनिक बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width