पाँचदलीय गठबन्धन अपवित्र गठबन्धन हो : शिवबहादुर गुरुङ (महेन्द्र)

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७९
Shiva Bahadur Gurung (Mahendra) (3)

युवा नेता शिवबहादुर गुरुङ (महेन्द्र) नेकपा एमालेतर्फबाट कास्कीको मादी गाउँपालिकामा अध्यक्षको उम्मेदवार हुन् । हाल उनी राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशका संयोजक हुन् भने पार्टीको कास्की जिल्ला कमिटीको सचिवालय सदस्य पनि हुन् । मादी गाउँपालिका १०, कयरेका गुरुङले २०५८ सालबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । हङकङ आइडी त्यागेर म केही गर्न सक्छु भन्ने अठोटका साथ स्वदेश फिरेका गुरुङको राजनीतिक यात्रा युथ फोर्सबाट सुरु भएको हो । युथ फोर्सको गण्डकी अञ्चल कमिटी सदस्य, उपाध्यक्ष हुँदै केन्द्रीय कमिटी सदस्य बनेर समेत उनले जिम्मेवारी पूरा गरे । युथ फोर्स विघठन भई राष्ट्रिय युवा संघ नेपाल बनेपछि केन्द्रीय सदस्य हुँदै स्थायी कमिटी सदस्य र सचिव बन्न पुगे । म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्नेलाई आजीवन छाड्दिनँ भन्ने गुरुङसँग आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित गरी आदर्श समाज प्रतिनिधिले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ :

युवा नेता हुनुहुन्छ, पर्यटन व्यवसायी पनि हुनुहुन्छ, अध्यक्षको उम्मेदवाररुपमा यहाँका भावी योजना के–कस्ता छन्?

‘सुखी नेपाली, समृद्ध नेपाल’ जुन नेकपा एमालेको नारा र अभियान छ त्यो अभिायन मैले मादी गाउँपालिकाको हकमा पूरा गर्ने छु । यसका साथै यसअघि अध्यक्षबाट थालनी गरिएका सबै राम्रा र बाँकी रहेका काम पनि मैले पूरा गर्ने छु । यसैगरी ‘स्वच्छ मादी, सुन्दर मादी र पर्यटकीय मादी’ बनाउने छु । कृषियोग्य मादी पनि मेरो प्राथमिकतामा रहने छ । कृषि पर्यटन विकासका लागि मैले कामहरु गर्ने छु । यहाँका ४ मुख्य खोला र नदीहरुमा आवश्यक ठाउँमा पुलहरु निर्माण गर्ने छु । यी नदी र खोलामाथि कतिपय ठाउँमा अहिले आवतजावतमा कठिनाइ छ । ती ठाउँमा विकास र सेवाको रुपमा पुल निर्माणको काम अगाडि बढाउने छु । मादीको विकास गर्ने एकमात्र पार्टी भनेको एमाले देखिएको छ । पहिला–पहिला पनि धेरै पार्टीहरुले जितेर गएका थिए तर पनि गाउँ फर्किएर पुगेनन् । धेरै सांसदहरु भए तर अहिले एमालेको संसदहरुले पनि विकास निर्माण र पूर्वाधारका धेरै काम गर्नुभएको छ । उहाँहरुको शिक्षा र आइडियाअनुसार मैले पनि काम गर्ने छु । आमजनतालाई १ देखि १२ वडासम्म सम्बोधन हुने गरी काम गर्ने छु । यसैक्रममा युवामैत्री काम र उनीहरुलाई उद्यमी बनाउने अनि युवालाई पेसा, व्यवसाय र उत्पादनमा जोड्ने छु । कृषकलाई आवश्यक अनुदान दिलाउनेतर्फ ध्यान दिने छु । अहिले हाम्रा धेरै खेतबारी बाँझै छन् । कतिपय ठाउँ एकखेतीमा मात्र सीमित छन् । तीनखेत हुने ठाउँमा अहिले एकखेती पनि देख्न गाह्रो छ । मौसम र हावापानीअनुसार हाइब्रिड बिउँ लगाउँदा एकै वर्षमा पाँचखेतीसम्म गर्न सकिने सम्भावना मादीमा छ । कसरी छ भने मादी नदीले गर्दा पनि सिंचाइयोग्य जमिन भएका कारण हामीले मादीमा चारपाँच वटा बाली १ वर्षमा उत्पादन गर्न सक्छौं । यतिमात्र नभई हामीले उत्पादनलाई बजार व्यवस्थापन पनि गर्ने छौं । यसले रोजगारी बढ्ने छ । बेरोजगारी घट्ने छ र गरिबी निवारणमा समेत टेवा पुग्ने छ । मौलिक, रैथाने र अर्गानिक खेतीतर्फ पनि मेरो जोड रहने नै छ । यसका साथै मादीका बाँकी पूर्वाधार निर्माणका काम पनि म पूरा गर्ने छु । सिंगो मादीका जनताको मत, मन र आशीर्वाद मलाई चाहिएको छ । म शीर निहुर्‍याउन नपर्ने गरी तपाईंहरुका समस्या सम्बोधन गर्ने छु । मादीलाई पर्यटकीय र कृषियोग्य मादी बनाउने छु ।

तपाईंले उम्मेदवारी दिनुका आधारहरु के हुन्, के हिसाबले योग्य हुनुहुन्छ, तपाईं ?

मैले चुनाव जित्ने आधार–अहिले देशमा विकास गर्ने पार्टी एकमात्र नेकपा एमाले हो । यो पार्टीले धेरै विकासका कामहरु गरेको छ । यसले पुनःनिर्माणका कामहरु गरेको छ । उदाहरणका लागि विनासकारी भूकम्पले ढलेको धरहरादेखि भत्किएको रानीपोखरी पुनःनिर्माण गरेको छ । यसैगरी हाम्रो दल सत्तामा हुँदा गण्डकी प्रदेश सरकारले पनि केही लोकप्रिय योजनाहरु ल्याएको थियो । घरहरुमा खरको छानो विस्थापन गरी टिनको छानो लगाउने योजना पूरा गरेको छ । यसैगरी ‘एक घर, एक धारा’ योजना एमालेकै सरकारले ल्याएको लोकप्रिय कार्यक्रम हो । यी र यस्ता थुप्रै लोकप्रिय र विकासका काम एमालेको संघीय, प्रदेश र स्थानीय सरकारले गरेका छन् । यी आधारले पनि मैले चुनाव जित्ने छु ।

पाँचदलीय गठबन्धनका उम्मेदवार एकातिर तपाईं अर्कातिर, कसरी चुनाव जित्नुहुन्छ?

यो अपवित्र गठबन्धन हो भन्ने धेरै जनताले बुझिसकेको अवस्था छ । यसले गर्दा अहिले देश नै संकटमा पुगिसकेको छ । आर्थिकरुपमा पनि देशको हालत नाजुक अवस्थामा पुगी सक्यो । आयातहरु रोक्नुपर्ने अवस्थामा देश पुग्यो । अहिले १ करोड रुपैयाँको जग्गा बैंकमा धितो राख्दा १० लाख नदिने अवस्थामा पुर्‍याएको छ । बैंकमा तरलता छैन भनिन्छ । एमालेको सरकार हुँदा यो अवस्था थिएन । धेरै व्यवसायीहरु अहिले डुबेका छन् । कोरोना महामारीले गर्दा त्यो बेला व्यवसाय गर्न पाएका थिएनन् । बीचमा केही हप्ता व्यवसाय खोल्दा हाम्रो सरकार ढल्ने अवस्थामा पुग्यो । त्यसकारण पनि पाँचदलीय गठबन्धन अपवित्र गठबन्धन हो । यो सरकार जनमतबाट नभई सर्वोच्च अदालतको परमादेशबाट बनेको गठबन्धन हो । यसले जनतालाई सम्बोधन हुने कुनै काम पनि नगरेका कारणले गर्दा अहिले यसले मादीको राजनीतिमा हामीलाई कुनै असर पार्ने जस्तो मैले देख्दिनँ ।

यो सरकार जनमतबाट नभई सर्वोच्च अदालतको परमादेशबाट बनेको गठबन्धन हो । यसले जनतालाई सम्बोधन हुने कुनै काम पनि नगरेका कारण यसले मादीको राजनीतिमा हामीलाई कुनै असर पार्दैन ।

मादी पर्यटकीय सम्भावनाको दृष्टिले पनि प्रचूर सम्भावना बोकेको क्षेत्र हो, यसबारे के सोच्नु भएको छ?

मादीमा दूधपोखरी, तारा हिलटप, कोरी, कफुचे क्षेत्रको मात्र नभई यहाँबाट मनाङ हुँदै थोरङपासबाट मुस्ताङ पुग्न सकिने चर्चित पदमार्ग छ । हामीले मादीलाई यसरी पनि जोड्न सक्छौं । खासगरी मादीलाई चर्चित अन्नपूर्ण चक्रीयमार्गसँग जोड्न सकिन्छ । मनाङको तिलिचो तालमा अहिले वार्षिक हजारौं आन्तरिक पर्यटक पुग्छन् । हामीले ती पर्यटकलाई त्यहाँबाट मादी हुँदै पोखरा भित्र्याउन सक्छौं । त्यो रुट पनि हामी हेर्दै छौं, यसको विकास र प्रवद्र्धन कार्य हामी अगाडि बढाउँदै छौं । घलेखर्कबाट सिक्लेस पुग्ने तारा हिलटपको रुट, करपु डाँडा र क्होलासोथर अनि कोरीमात्र नभई विदेशमा समेत नभएको कम उचाईको कफुचे हिमताल हामीसँग छ । हिमनदी र कफुचे माथिको हिउँपहिरो छ । कफुचे तालमा हिमालबाट झर्ने पहिरोको आवाज र दृष्य मानिसलाई गज्जव गरी लोभ्याउने खालको छ । यसलाई पनि जोगाएर हामीले अगाडि लैजानु पर्छ । यो हेर्न विदेशबाट समेत पर्यटक ल्याउने काम हामी गर्न सक्छौं । यस्ताखालका थुप्रै पर्यटकीय सम्पदा छन् । यतिमात्र नभई पहिलाका पुरातात्विक र धार्मिकखालका पर्यटनलाई बढवा दिने खालका काम पनि हामीले गर्न सक्छौं । लम्तरी नादा माई एकदम प्रख्यात तीर्थस्थलको रुपमा मानिन्छ । बाइसे–चौबिसे राजाको पालामा त्यहाँ दरबार भएको प्रमाणहरु छन् । नेकपा एमालेको सरकार हुँदा प्रदेश सरकारले बजेट छुट्याएर यसको पुनःनिर्माण गरेको थियो । काम अझै २० प्रतिशत बाँकी छ । यो गठबन्धन सरकार आएपछि काम रोकिएको छ । एक पैसा दिएको छैन । हामी आएपछि काम निरन्तर अगाडि बढाउँछौं । मादीमा धार्मिक र पुरातात्विक गन्तव्यहरु पनि धेरै छन् । थप अरु गन्तव्य पनि हामी निर्माण र विकास गर्ने छौं ।

व्यक्तिगत कुरा गर्दा तपाईंको विगतलाई जोडेर कतिपयले नकारात्मक टिप्पणी पनि गर्ने गरेका छन्, के भन्नुहुन्छ?

विगतका पनि मैले त्यस्तो केही नराम्रो गरेको छैन । कुनै घटना अपराध गरेको छैन । यो मानिसले हल्ला चलाएको विषय हो । हल्लाका पछाडि दौडेरमात्र हुँदैन । दौडिंदा–दौडिंदा मानिसले यो मानिसको कस्तो हो भनेर बुझ्न सक्दैन । अहिले भने आमजनताले मलाई बुझेको छ । सबै हल्ला र भ्रमहरु चिरिएका छन् । मेरो कामले चिरेको छ । म व्यवसायी भए पनि विगत ३ वर्ष कोभिडका कारण म आफैं अहिले बैंकको ऋण र ब्याज तिर्न नसकेको अवस्थामा छु । खासमा भन्ने हो भने म अहिले धेरै खर्च गर्न सक्ने अवस्थामा छैन । उही पनि एमालेको प्रचार खर्चिलो र भड्किलो हुन्न । म आफैंले पनि संगठन चलाउँदा भड्किलो कार्यक्रम नगर्नुस् भनेर भन्ने गरेको छु । एउटा कार्यक्रमले १० कार्यक्रम गर्न सकिन्छ । म यसरी हिंडेको मानिस हो । त्यसैले जनताको विश्वास मसँग छ ।

अन्तिममा मतदातालाई के आव्हान गर्न चाहनुहुन्छ?

मतदातालाई के भन्न चाहन्छु भने मैले आफ्नो व्यापार–व्यवसाय र घरपरिवार सबै छाडेर गाउँमा आएर काम गर्छु भनेको छु । मैले जनताको विश्वास जित्न कोरोना महामारीको बेलामा धेरै बिरामीलाई गाउँबाट ल्याएर औषधि उपचार गर्नेदेखि डिस्काउन्ट गर्न लगाउनेसम्मको काम गरेको छु । गाउँगाउँमा गएर सेनिटाइजर र मास्क वितरण गरेको छु । संघसंस्थासँग सहकार्य गरी ५० अक्सिजन सिलिन्डर गण्डकी अस्पताललाई दिएको छु । युवा संघको नेता भएपछि टोलटोलमा विभिन्न संघसंस्थाको सहयोगमा ५३ अक्सिजन कन्सन्टेटर बाँडें । मैले जनतलाई विश्वास दिलाएको छु । विश्वास पाएको छु । कोभिडबाट आक्रान्त हुँदा छेउको छिमेकीले चिनी र चियापत्ति माग्दा नदिने अवस्था थियो । घरघरमा गएर मैले कोरोना कसरी सर्छ कसरी सर्दैन भनी चिकित्सक लगी सम्झाएको छु । मैले जनताको मन जितेको छु । र, विकास निर्माणका काममा म जोडिएको छु । योजनाहरु लैजाने विषयमा पनि मैले नेतृत्व गरेर अगाडि बढेको छु । आफ्ना नेतालाई पनि यो ठाउँको महत्व र विकासको आवश्यकता सम्झाएको छु । सिंचाइ र पुल चाहिन्छ भनेर नेताहरुलाई जानकारी गराएर झक्झक्याइरहेको छु । त्यसैले विश्वास छ, तपाईं मादी गाउँका जनताले मलाई अत्यधिक मतले विजय गराउनुहुनेछ ।

Related News

सम्बन्धित समाचार

  • महिला उत्थानमा सीप विकासका ४७ वर्ष

    आदर्श समाज सम्वाददाता फागुन २१, २०७९
    पोखरा हस्तकलाका माध्यमबाट विगत ४७ वर्षदेखि नारी उत्थानमा योगदान पुर्याउँदै आएको महिला सीप विकास संस्थाले यही फागुन २४ गते नारी…
  • संघ सरकारको दबदबा कायमै : रोशन गाहा

    धनबहादुर गुरुङ फागुन ४, २०७९
    अघिल्लो कार्यकाल प्रदेश सभा सदस्यमात्र भएर ५ वर्ष बित्यो । दोस्रो पटक निर्वाचित भएपछि पार्टीले मन्त्री बनाएको छ । विगतमा…
  • ‘बजेट खर्च बढाउन ऐन संशोधन’

    प्रकाश ढकाल फागुन ४, २०७९
    गण्डकीको अर्थतन्त्र अहिले ठ्याक्कै कुन अवस्थामा छ ? अन्तर्राष्ट्रिय परिस्थितिले पनि प्रदेशको अर्थतन्त्रमा प्रभाव पार्ने रहेछ । कोरोनाका कारण गण्डकीको…
  • संघीयताको जग बनेको रहेनछ : पञ्चराम

    आदर्श समाज सम्वाददाता फागुन ४, २०७९
    सुरुमा प्रदेश संरचनाको विरोधमा सडक तताउनुहुन्थ्यो, अहिले सरकारमै हुनुहुन्छ । किन ? हामीले राजनीति गर्ने भनेकै देश र जनताका लागि…
  • सिस्टमको विकास गर्दैछौं : हरिबहादुर चुमान

    आदर्श समाज सम्वाददाता फागुन ४, २०७९
    तपाईंले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय नै रोज्नुपर्ने कारण के हो ? यो विषय गठबन्धन सरकारको हो ।…

hero news full width