संघीयताको जग बनेको रहेनछ : पञ्चराम

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७९
Pancharam Gurung

पञ्चराम गुरुङ

सुरुमा प्रदेश संरचनाको विरोधमा सडक तताउनुहुन्थ्यो, अहिले सरकारमै हुनुहुन्छ । किन ?

हामीले राजनीति गर्ने भनेकै देश र जनताका लागि हो । हामी चाहे बाहिर बसौं, चाहे सरकारमा बसौं देशप्रति वफादार भएर काम गर्ने हो । जहाँबाट काम गरे पनि कुनै अप्ठ्यारो लाग्दैन । ठूलोरुपमा सोचेको छैन ।

प्रदेश संरचना खारेजीको मत लिएर अपेक्षाविपरीत सरकारमा जान मिल्छ ?

कुनै पनि फोहोर सफा गर्न त्यहाँ पस्नैपर्छ । हिजोका दिनमा प्रदेश चाहिंदैन भनेर सडकबाट ठूलो आवाज उठाएको थियो तर कसैले सुनेनन् । अब हामी संसद र सरकारबाटै आवाज उठाउँछौं । सरकारमा आएपछि चुपचाप सरकारको दानापानी खाएर बस्ने होइन, हामी हाम्रो विचार र सिद्धान्तमा अडिग छौं । राप्रपा जनताको विकास र समृिद्धका लागि लड्छ ।

संघीयताप्रति तपाईंको धारणा के छ ?

यो संविधानको आलोचनासहितको समर्थन हामीले गरेका छौं । केही राम्रा छन्, केही हामीले अस्वीकार गरेका छौं । संविधान परिवर्तनशील छ । हिन्दु राष्ट्र, संघीयताका विषयमा जनधारणाअनुसार परिवर्तन गर्न सकिन्छ भन्ने उल्लेख छ । जनतालाई हामीप्रति आकर्षित गरेर परिवर्तनका लागि लबिङ गर्छौं । हामी अहिले जम्मा २ जना (प्रदेशसभा सदस्य) छौं तर माग राख्न छोड्दैनौं ।

यसअघि सत्ता चलाइसकेका दलहरुले संघीयताको जग बसायौं भन्छन्, जग बसेको रहेछ त ?

इमानदार भएर भन्दा यो राज्यको लागि बोझ नै रहेछ । प्रदेशको आफ्नो संरचना र आम्दानी केही छैन । स्वविवेकले काम गर्ने अधिकार पनि छैन । संघबाट सधैं अंकुश लगाउँछन् । वास्तवमै संघीयताको जग बसेको छैन । यस्तो जगमा घर बनाउने हो भने भूकम्पले ढाल्न सक्छ । बेलैमा सचेत हुनुपर्छ ।

३ वटा मन्त्रालय गाभेर तपाईंको मन्त्रालय बनेको छ, क्षेत्राधिकारका कारण काम गर्न सकस भएको छैन ?

वास्तवमा यो सरकारको राम्रो पाटो नै मन्त्रालय घटाउने हो । १२ मन्त्रालय घटाएर ७ बनाएका छौं । यसमा सबैले सम्मान र समर्थन गर्‍यौं । मेरै भागमा ३–४ वटा मन्त्रालय गाभियो । सोचेभन्दा बढी व्यस्त भइने रहेछ, बुझ्न पनि समस्या भैरहेको छ । सबै मन्त्रालयको आफ्नै विधान र ऐन भएकोले सबैतिर पुग्नै पर्‍यो, बुझ्नै पर्‍यो । अरु मन्त्रालयभन्दा बढी काम मसँग थुप्रिएको छ ।

तपाईं त फोहोर फाल्न सरकारमा गएको भन्नुहुन्थ्यो, सरकारको फोहोर देख्नुभयो ?

राज्यको बोझ हो यो, स्पष्ट भैसकेको छ । प्रदेश चाहिन्छ भन्दै गर्दा यसको औचित्य पुष्टी गर्न सकेका छैनौं । कानुन बनेका छन्, कार्यान्वयन भएका छैनन् । न बस्ने घर छ, न बसेर खाने आम्दानी छ । हामीलाई अप्ठ्यारो लागिरहेको छ । जुन क्षेत्र छोयो त्यहीँ फोहोर छ । प्रदेश चलाउनेहरुको नियत सफा भए पनि केन्द्रिकृत मानसिकताको जालो तोड्न सकिएको छैन । यही सबैभन्दा दुर्गन्धित फोहोर हो ।

प्रदेश चलाउनेहरुको नियत सफा भए पनि केन्द्रिकृत मानसिकताको जालो तोड्न सकिएको छैन

औंला नै गनेर भन्दा प्रदेश संरचना सञ्चालनको अड्चन के छन् ?

पहिलो कुरा स्रोत छैन । बजेट नभए के काम गर्ने ? मन्त्री भनेर झण्डा हल्लाएर हिंड्नेमात्रै हो । सरकार भनेका छौं, बजेट संघबाट नआएसम्म केही गर्न नसक्ने । हामीभन्दा बढी स्थानीय सरकारसँग अधिकार बढी देखें । दोस्रो स्वविवेकले काम गर्न सकिएन । तेस्रो ऐन संशोधन र कार्यान्वयन आवश्यक छ । चौंथो आँफैले पनि स्रोत खोज्नुपर्ने छ । यी सबै कुराहरु जनमुखी हुनुपर्छ । तबमात्रै जनताले विश्वास गर्छन् । हामीले प्रदेश संरचनाप्रति जनताले विश्वास गर्ने आधार नै निर्माण गर्न सकेनौं ।

दिनदिनै खेलाडी विदेशिनुपर्ने छ, बेरोजगारी दर बढेको बढ्यै छ । युवाजति जहाज चढेर जागिर खोज्न जाँदा मन रुँदैन ?

एकदमै मन रुन्छ । वास्तवमा यो निकै चिन्ताजनक अवस्था पनि हो । खेलाडीहरुले सम्मान र लाभ पाउन सकेका छैनन् । युवापुस्तालाई विदेश पठाएर देशको समृद्धि हामीले कसरी खोज्न सकिन्छ ? यसमा म सिरियस छु, दक्ष खेलाडीलाई अन्याय हुँदैन । युवालाई देशमै रोक्न सकेसम्म प्रयास गर्छौं । मन्त्रालयमा यति धेरै पद खाली छ, पदपूर्ती भएको छैन । आह्वान गर्दा कोही आउँदैनन् । शिक्षा लिए पनि दक्ष जनशक्ति नपाउनु दुखको कुरा हो । अब प्राविधिक शिक्षालय खोल्ने र दक्ष जनशक्ति उत्पादनमा सरकारले जोड दिन्छ ।

५ वर्षभित्र के के काम गर्ने योजना छ ?

म अहिले विज्ञहरुसँग सुझाव संकलनमा लागिरहेको छु । राजनीति गरेर आएको मान्छेलाई जनताका समस्या र पीडा थाहा भए पनि प्रक्रिया धेरै पुर्‍याउनुपर्ने रहेछ । शिक्षालाई सीपमूलक बनाउने पहिलो सोच छ । प्रदेशका सबैको पहुँचमा स्वास्थ्य सेवा विस्तार गर्ने योजना छ । अन्यायमा परेका इमानदार खेलाडीलाई देशमा खेलेरै बस्न सक्ने बनाउने चाहना छ ।

पहिलो पटक सरकार बन्दा २०७४ मै प्रदेशमा मुटु, मिर्गौला रोग उपचारका लागि विशिष्टीकृत अस्पताल बनाउने घोषणा थियो, त्यो कहिले पूरा हुन्छ ?

मलाई केही कुराहरुले अनौठो लागिरहेको छ । आज पनि गण्डकीमा ८ सय ५० हाराहारीमा डायलसिस लिने बिरामी हुनुहुन्छ । ५ सय जनाले लिइरहनुभएको छ । ३ सय ५० जना प्रतीक्षामा हुनुहुन्छ । उहाँहरुले पालो पाउन अघिल्लो बिरामी कि निको भएर घर जानुपर्‍यो, नभए बिरामीको मृत्यु हुनुपर्छ । यो सुन्दा साह्रै मन दुख्यो । तुरुन्त म डायलसिस मेसिन खरिद प्रक्रियामा लगेको छु । २–३ महिनाभित्रै ५० वटा मेसिन खरिद गर्दै छौं । अस्पताल पनि निर्माण गर्नुपर्ने छ । त्यो पनि प्रक्रिया सुरु हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width