आधारभूत पत्रकारिता तालिम सुरु

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७८
training journalism

लमजुङ । नेपाल पत्रकार महासंघको आयोजनामा बेंसीसहरमा आधारभूत पत्रकारिता तालिम सुरु गरिएको छ । ३ दिनसम्म सञ्चालन हुने तालिमको बेंसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बिहीबार उद्घाटन गरे ।
मेयर अर्यालले पत्रकारिताको भाषा र समाचारको पुष्ट्याइँ नभएका कारण बेलाबेलामा खड्किने गरेको अनुभव सुनाएका थिए । सामाजिक मर्यादा बढाउने र सकारात्मक सुझावसहितको पत्रकारिता आफूले पाउन नसकेको उनले बताए । पत्रकारिता क्षेत्रमा देखिएका विकृति हटाउन सच्चा पत्रकारहरू लाग्नु पर्नेमा उनले जोड दिए ।
एमसिसीमा २ अतिशक्ति राष्ट्रले चासो राख्दै खेल्ने मौका पाएका कारणले त्यसको कार्यान्वयनमा देश जोखिममा पर्ने हो र प्रत्युत्पादक हुन्छ कि भन्ने उनले आशंका व्यक्त गरे ।
राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले पत्रकारले राज्यका तीन अंगका कामको समीक्षा गर्ने र आफ्नो आचारणभन्दा बाहिर जान नहुने बताए । उनले सुशासन र अमनचयन ध्यान दिन, निष्पक्ष भएर निडरताका साथ कलम चलाउन पत्रकार चुक्न नहुने उनले उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले समाजमा पेशागत मर्यादा उल्लंघनको क्रम बढेको छ, पत्रकारहरू यसतर्फ बढी होसियार हुनुपर्छ भने । आचारसंहिता पालनामा पत्रकारहरू थप प्रतिवद्ध हुनुपर्छ भने ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा महासंघको जिल्लाका संस्थापक अध्यक्ष एवं तालिम संयोजक नवराज पहाडीले स्वागत गर्दै उद्देश्यमा प्रकाश पारेका थिए । महासंघका निवर्तमान जिल्ला अध्यक्ष आश गुरुङले शुभकामना व्यक्त गरेको उदघाटन सत्रको कार्यक्रमको सञ्चालन जिल्ला सचिव रुद्रहरि ढकालले गरेका थिए ।
तालिममा १० पुरुषसहित ४२ जनाले भाग लिएका छन् । तालिमको पहिलो दिन नवराज पहाडी, किसान संगीत नेपाली, नवीन कुइँकेल र सन्देश पौडेलले प्रशिक्षण दिए । शुक्रबार नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा तथा प्रनाउ कृष्णबहादुर कार्कीले प्रशिक्षण दिने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width