कास्की जिल्ला अदालतमा तोडफोड

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७८
court (2)

पोखरा । कास्की जिल्ला अदालतमा मंगलबार राति ताल्चा फुटाएर तोडफोड गरिएको छ । अदालतका ३ वटा कोठाको ताल्चा अदालतको च्याम्बर, इजलास र बेन्चसमेत फुटाइएको हो ।
मंगलबार दिउँसो राम्रैसँग बन्द गरेर गएको अफिस बुधबार बिहान तोडफोड भएको अवस्थामा देखेको जिल्ला अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए । ‘अदालतको १ र ६ नम्बर इजलास र बेन्चमा चैत ८ गते राति फुटालिएको अवस्थामा देखिएको छ,’ उनले भने । तोडफोड गर्न प्रयोग गरिएको रड सोही स्थानमा छाडेर गएको उनले बताए । अदालतका ३ कोठाको ताल्चा फुटाएर त्यसभित्रका दराज पनि फुटाएको उनको भनाइ छ । ‘३ वटा कोठामा ४ दराज थिए । दराजको चाबी भेटेकोहरु चाबीले नभेटेको दराजको चाबी फोरेको छ,’ उनले भने, ‘एउटा दराज फुटाल्ने प्रयास गर्दा नसकेर छोडेको देखिन्छ, घर्रामा हात हालेर त्यहाँको सामान छरपस्ट बनाएको देखिएको छ ।’
बिहान तोडफोड भएको थाहा भएपछि प्रहरीलाई खबर गरी अहिले अनुसन्धान जारी रहेको उनले बताए । बिहान इजलास र च्याम्बरको अवस्था त्यस्तो देखेपछि तुरन्त प्रहरीलाई खबर गरी प्रहरीले अनुसन्धान गरिरहेको सूचना अधिकारी पनेरुले बताए । कोठाभित्रका कम्प्युटरलगायत सामान नलगेकाले मिसिल चोरी गर्ने आशंकाले तोडफोड गरेको हुन सक्ने उनको भनाइ थियो । ‘त्यहाँ भएका कम्प्युटर लगायतका सामानहरु त्यही नै छ,’ उनले भने, ‘मिसिलमा भएको कुनै कागजपत्र हराएको छ–छैन भनी हेर्नुपर्छ । त्यसका लागि हामी पाना–पाना चेक गर्छौं ।’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले अनुसन्धान जारी रहेकाले ‘चोरी’ वा ‘तोडफोड’ भन्न सक्ने अवस्था नरहेको जानकारी दिए । १ नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र ६ नम्बर इजलासमा देवप्रकाश योगीले मुद्दा हेर्दै आएका थिए । बुधबार बिहान सरसफाइ गर्न आएकी कर्मचारीले इजलास कक्षका ढोका फुटेको देखेपछि अन्य कर्मचारीलाई खबर गरेका थिए । प्रहरीले इजलासको ढोका फुटाउन प्रयोग गरिएको फलामको रडसमेत बरामद गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width