भाग्यले बाँचेपछि डोकोमा जीवन

धनबहादुर गुरुङ
भाद्र २७, २०७८
Ful Kumari Tamang Photo 1

पोखरा । निंगालोको चोयाँसँग उनले प्रिती साटेको झण्डै ५ वर्ष भयो । धादिङबाट पोखरा झरेकी ४८ वर्षीया फूलकुमारी तामाङलाई तीज न तिहार, चाडपर्वको सुर्ता छैन । मात्र उनको ध्यान चोयाँको बिट कसरी मार्ने भन्नेमै छ ।
कोरोना महामारी रहे पनि गाउँसहर तीजको रमझममै छ । शनिबार ऋषिपञ्चमी । साडीमा सजिएका महिला दिदीबहिनीहरु कोही पैदलै त कोही स्कुटरमा ओहोरदोहोर गरिरहेका थिए । तर, पोखरा ५, पस्र्याङ धारापानी बस्ने तामाङलाई त्यसको कुनै चासो थिएन ।
बहत्तर सालको विनासकारी भूकम्पमा घरसँगै २ छोरी गुमाएपछि उनको परिवार धादिङबाट पोखरा झरेको हो । त्यहाँको गंगाजमुना गाउँपालिका १ स्थित आफ्नै घरले २ छोरी र उनलाई च्यापेको थियो । तत्काल उद्धार गर्दागर्दै ७ र २ वर्षीया छोरीहरुको प्राणपखेरु गइसकेछ । उनी भने अचेत थिइन् । उनको टाउको फुटेको थियो । कसैले पनि उनलाई बाँच्छ भनेकै थिएनन् । छोरीको शवसँगै अचेत श्रीमतीको दर्दनाक क्षण हेर्न नसक्दा हरिमान तामाङ बेहोस थिए ।
संयोगले तामाङ दम्पतीका ३ छोरा भने सकुशलै थिए । अचेत अवस्थामै उनलाई उद्धार गरी जिल्ला अस्पताल धादिङ पुर्‍याउँदा बल्ल उनको होस खुलेको थियो । त्यति बेला बाहिर डाक्टरको गाइँगुइँ सुनिहाले । ‘म होसमा आउँदा बाहिर डाक्टरहरुले यो महिला बाच्दैन भनेको सुने, बाँचे पनि रगत र गिदी मिसिएको छ कुनै कुरा मेसो पाउँदिनन्, डाक्टरले यसो भनेको मैले सुनें,’ उनले कहालीलाग्दो क्षण सम्झिइन्, ‘चल्न नसके पनि उनीहरुले त्यसो भनेको सुन्दा म बाँच्छु भन्ने लागेकै होइन ।’
फूलकुमारीको टाउको मात्र चोट थिएन, दायाँ हर नै चल्दैनथ्यो । जिल्लामा उपचार सम्भव नभएपछि भरतपुर पुर्‍याइयो । २२ दिन त्यहाँ उपचार गरेपछि थप उपचारका लागि छिमेकी देश भारत लगियो । भारतमा दायाँ हर उपचारपछि उनी सिधैं पोखरा आइन् । त्यो बेलासम्म उनका छरछिमेक विस्थापित भइ पोखराको पस्र्याङ धारापानीमा बसिसकेको थियो । छिमेकीसँगै उनको बचेका परिवारका सदस्य पोखरा आएका थिए । उनको जेठी छोरी भूकम्प जानुअघि बिहेपछि नै पोखरा आएकी थिइन् । उनी पनि छोरीसँगै पोखरा दीपमा बसिन् । भूकम्प गएको १ वर्षपछि उनी पूरै निको भएपछि छिमेकीसँगै धारापानीमै बस्न उनका ३ छोरा, श्रीमान्सँगै गइन् । उनको जहान त्यहाँ जाने बेलासम्म धादिङको री गाउँबाट ८ परिवार पुगिसकेको थियो ।
त्यस बेलासम्म सरकारले दिएको अनुदान, संघसंस्था दिएको सहयोग सकिसकेको थियो । परिवार पालिन धौंधौं थियो । श्रीमान्को ज्यामीको ज्यालाले गुजारा गर्न अप्ठेरो भयो । केही त गर्नुपर्छ भनेर सुरु गरिन्, अनि थालिन् चोयासँग खेल्न । बाबुबाजे ऊबेलादेखि गर्दै आएको काम उनले री गाउँमै सिकेकी हुन् । त्यसैले उनलाई चोयासँग खेल्न ईच्छा जाग्यो । श्रीमान् हरिमानले वनबाट निंगालो ल्याएर चोयाँ काढेर सहयोग गरे । कास्कीको ल्वाङ, घलेल, कृस्ती, भुर्जुङखोला, स्याङ्जा लगायत स्थानबाट ल्याएको चोयाँबाट उनले महिनामा १ सय वटा थुन्से तयार गर्छिन् । त्यसबाहेक अर्डर आएको खण्डमा डालो, कोक्रो, भकारी पनि बुन्ने बताउँछिन् ।
एउटा थुन्से ३ सयमा बेच्ने गरे पनि थोकमा लैजाँदा २ सयमै दिने गरेको उनले बताइन् । ‘एक महिनामा १ सय थुन्से बुन्छु,’ उनले भनिन्, ‘यही खरिद गर्न आउँछन्, सबै होलसेलमै जान्छ ।’ महिनामा २५ देखि ३० हजार कमाइ भए पनि लगानी अनुसार आम्दानी नहुँदा खर्च धान्न गाह्रो भएको उनको गुनासो छ । उति साह्रो फाइदा नभए पनि जानेको सीपले बसिबिंयालो गरेको उनले बताइन् । जेठा र महिला छोराले आ–आफ्नो सुर गरेकोमा कान्छा उनीसँगै बसेर पढ्छन् । कोरोना महामारीले झनै अप्ठेरो परेको उनको भनाइ छ । एपेन्डिटाइटिसका बिरामी श्रीमान्ले मासिक ५/६ हजारको औषधी खान्छन् । छोराको खर्च जुटाउन गाह्रो छ । उनको २० लाख जति त ऋण नै रहेको फूलकुमारीले बताइन् । त्यसैले पनि उनी दिनरात चोयासँगै दुख साट्छिन् । चाडपर्वसँग उनको कुनै सम्बन्ध छैन । ‘के गर्ने ? केही होला कि भनेर जानेको काम गर्नै पर्‍यो,’ आदर्श समाजसँगको कुराकानीमाले उनले भनिन्, ‘मर्न पनि सकिएन काल नआई मरिने रहेनछ ।’
री गाउँबाट आएका ९ परिवार धारापानी पाखामा ५ वर्षको लागि ५ लाख ५० हजार तिरेर बस्छन् । त्यहाँ बस्ने परिवारका पुरुषहरु ज्यामी काम गर्छन् भने अधिकांश महिला निंगालोको चोयामै दिन काट्ने बाटो बनेको छ । धारापानीमा एउटा बस्ती नै बसाएको री गाउँका महिला चोयाँबाट बनेको सामान बेचेर नूनतेल र दैनिक खर्च जुटाउनुपर्ने कठिन अवस्थामा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width