नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०८१
bharatpur 1

चितवन । चार लनेमा विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा कालोपत्रे गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ । निर्धारित समयभन्दा सुस्त गतिमा सडक विस्तारको काम भएको गुनासो बढेसँगै निर्माण कम्पनीले केही दिन अगाडि प्लान्ट जडान गरेको हो ।

सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम चाँडै सम्पन्न गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरेको जनाएको छ । कम्पनीका ठेक्का सह व्यवस्थापक राकेश झाले नारायणगढ–बुटवल सडकको कालोपत्रे गर्ने काम चाँडो सम्पन्न गर्न प्रतिघन्टा ४ सय मेट्रिक टन क्षमताको ‘हटमिक्स प्लान्ट’ जडान गरिएको बताए । प्लान्टमा बालुवा, ढुंगा, गिटी र अलकत्र हालेपछि मेसिनले आफैं अलकत्रलाई पगालेर अस्फाल्ट (कालोपत्रे गर्ने तयारी कच्चा पदार्थ) बनाएर पठाउने उनले बताए ।

यस प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको खण्डमा जडित क्षमताको ८० प्रतिशतसम्म कार्य क्षमता हुने भन्दै उनले दैनिक २ किलोमिटरसम्म कालोपत्रे गर्न सकिने बताए । प्लान्ट कावासोती–१६ डण्डास्थित सुख्खा खोलाको किनारमा जडान गरिएको छ । यहाँबाट उत्पादन भएको अस्फाल्टले एकैपटक ३÷४ स्थानमा कालोपत्रे गर्न सक्ने अवस्था रहेको झाको भनाइ छ ।

‘अहिले सडकमा सब बेस र बेस तयार भएको ठाउँमा कालोपत्रे गरिरहेका छौं,’ उनले भने,‘विभिन्न कारणले गर्दा हाम्रो हटमिक्स प्लान्ट पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । दैनिक ८ न्टा मात्र प्लान्ट सञ्चालन हुने हो भने पनि १० दशमलव ५० मिटर चौडाइ र ६० मिलिमिटर मोटाइमा दैनिक २ किलोमिटर कालोपत्रेको कार्य सजिलै गर्न सकिन्छ ।’

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले यस सडक विस्तारका लागि जडान गरिएको प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आउन नसक्दा केही फाइदा नभएको बताए । ‘सडक विस्तारका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरण पनि न्यून परिचालन भएको छ,’ उनले भने, ‘यो लामो दिनमा पनि दैनिक ८÷९ घन्टाभन्दा बढी काम हुन सकेको छैन, जसले गर्दा काममा ढिलाइ भएको छ ।’ बाटो सम्याउने ग्रेडर आवश्यकताभन्दा आधा कम भएको भन्दै उनले १५ वटा ग्रेडरले सम्याएर बेस बनाउँदा समय लाग्ने र कालोपत्रेको काम ढिला हुने सुनाए ।

नारायणगढ–बुटवल सडकको कालोपत्रे गर्ने काम चाँडो सम्पन्न गर्न प्रतिघन्टा ४ सय टन क्षमताको ‘हटमिक्स प्लान्ट’ जडान गरिएको

‘प्लान्टलाई पूर्ण क्षमतामा चलाउन सकेको खण्डमा प्रतिघन्टा करिब १६ वटा गाडीमा अस्फाल्ट भरेर कालोपत्रे गर्ने ठाउँमा पठाएर कामलाई तीव्रता दिन सकिन्थ्यो,’ उनले भने, ‘निर्माण कम्पनीलाई जनशक्ति र उपकरण बढाउन पत्राचार गर्दा पैसाको अभाव भएको सुनाउँछ ।’ निर्माण कम्पनीले १ प्रतिशत काम गरेपछि भुक्तानी पाउने गरी सम्झौता भएको र सोहीअनुसार भुक्तानी भइरहेको खनालले बताए । ‘यो पूर्वी खण्डको ठेक्का रकम ९ अर्ब ३८ करोड रहेको छ, यसको १ प्रतिशत काम भएपछि भुक्तानी दाबी गर्ने र योजनाले भुक्तानी गर्ने सम्झौतामा उल्लेख भएको छ,’ उनले भने, ‘निर्माण कम्पनीले यहाँबाट पाएको पैसालेमात्रै काम गरिरहेको छ, उसले थप पैसा लगानी गरेर काम गर्ने चासो नै नदेखाउँदा काममा ढिलासुस्ती भएको हो ।’

निर्माण सुरु भएको ४२ महिनामा सडक विस्तारको काम सक्ने गरी विसं २०७५ माघमा निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सरकारसँग सम्झौता गरेको थियो । दुई पटक म्याद थप भइसकेको योजनाको हालसम्म भौतिक प्रगति ५० दशमलव ६२ प्रतिशत मात्रै पुगेको इन्जिनियर खनालले बताए । यस खण्डमा हालसम्म एकतर्फी गणना गर्दा ३७ किलोमिटर कालोपत्रे, २१ वटा साना पुल निर्माण, ८ वटा ठूला पुलको निर्माण अन्तिम चरणमा, १ सय ६३ वटा कल्भर्ट निर्माण भएको भएको खनालले उल्लेख गरे ।

विस्तार सुरु भएको ५ वर्ष नाघ्दासमेत आधामात्रै काम सकिएको सडकमा उड्ने धूलोका कारण स्थानीयवासी र यात्रुहरूले सास्ती खेप्नुपर्ने बाध्यता छ । कालोपत्रे नभएको ठाउँमा उड्ने धूलोका कारण सडक देख्नै समस्या हुने तथा खाल्डाखुल्डीका कारण दुर्घटनासमेत हुने गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • अन्नपूर्ण गापाले सार्वजनिक गर्‍ यो वर्षभरीका उपलब्धि

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा, ६ जेठ ।अन्नपूर्ण गाउँपालिकाले पछिल्लो १ वर्षमा गरेका कार्य समेटेर छापिएको पुस्तक ‘अन्नपूर्ण दर्पण भाग २’ आइतवार सार्वजनिक गरेको…
  • पेमा धेछेन्लिङ गुम्बामा प्रवचन

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । २५६८ औं बुद्ध जयन्ती एवं सागा दावा तिथिको अवसरमा आयोजित धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । पेमा…
  • एकातिर खोला, अर्कैतिर पुल

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    म्याग्दी ।  जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  •  १०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…      

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं ।  खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो…

hero news full width