दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०८१
syangja traffice

स्याङ्जा । सडक अनुशासनको पालना तथा सवारी दुर्घटना न्यूनीकरणका मंगलबारदेखि स्याङ्जामा ‘ट्राफिक सप्ताह’ सुरु गरिएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सप्ताहव्यापी ट्राफिक सप्ताहव्यापी सचेतना अभियान सुरु भएको हो ।

पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सुरु गरिएको अभियानले पैदलयात्रु तथा सवारी यात्रुले ट्राफिक नियम सम्बन्धी ज्ञान उपलब्ध गराउने गरी अभियान सञ्चालन गर्न सुझाव दिए । सवारी चापसँगै साँघुरा सडकमा सवारी साधन जथाभावी सञ्चालन गर्न नहुने जनाउँदै यसलाई नियन्त्रण गर्न अभियानले सहयोग पुग्ने उनले बताए । राजमार्ग तथा बाहिरी क्षेत्रमा मात्र नभई भित्री सडकमा समेत निगरानी बढाउनु पर्ने उनको भनाइ छ । नागरिकका जीउ, ज्यान र धनको सुरक्षार्थ अहोरात्र खटिने ट्राफिक प्रहरीलाई आवश्यक र हातेमालो गर्दै अघि बढ्ने नगरप्रमुख रेग्मीले बताए ।

कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्या, आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक शालिकराम शर्मा, प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना, स्याङ्जा—गण्डकी बस यातायात कम्पनीका अध्यक्ष भानुभक्त बराल लगायतले ट्राफिक सप्ताह अभियानलाई सार्थक बनाउन प्रबिधिमैत्री सेवा, पर्याप्त उपकरण र आवश्यकता बमोजिमका दरबन्दी लगायतका सेवा सुबिधा उपलब्ध गराउनु पर्नेमा जोड दिए । यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउनेमा वक्ताको भनाइ छ ।

यसैगरी, ट्राफिक सप्ताह अभियानलाई जिल्लाभरका ११ वटै पालिकामा पुगेर मनाइने प्रहरी प्रमुख शर्माले बताए । सप्ताहको पहिलो दिन सुरक्षाकर्मी, राजनीतिकर्मी, विद्यार्थी, स्थानीयवासी, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको समूहले बाजागाजा सहित पुतलीबजार नगरपरिक्रमा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width