वर्ष खेलाडीको चर्चा

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०८१
NSJF GANDAKI sports award top 3 female player

पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर उत्कृष्ट ३ को मनोनयनमा परेका छन् । छनोट समितिको सिफारिसमा तीमध्ये सर्वोत्कृष्ट १ जनालाई शुक्रबार स्कुटरसहित अवार्ड प्रदान गरिने छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत वर्षको खेल उपलब्धि आधारमा मनोनयनमा पारेका ३ खेलाडीलाई नजिकबाट चिनौं-

अनुश्का शेरचन (आर्चरी)
पोखराकी अनुश्का बल्ल १७ वर्षकी भइन् । ११ वर्षको छँदै आर्चरी खेल्न थालेकी उनी आठौं राष्ट्रिय खेलकुद भाग लिएर टिम इभेन्टमा गोल्ड मेडल जितेकी थिइन् । राष्ट्रिय खेलकुदमा पदकसँगै नवौंमा समेत उनले खेल खेलिन् । जसमा मिक्स इभेन्टमा रजत र टिम इभेन्टमा कास्य जित्न सफल भइन् । बाबु योगेन्द्र शेरचनको प्रेरणाबाट आर्चरीमा लागेकी उनी नेपाली आर्चरी खेलको भविष्य हुन् । सानै उमेरमा उदाएकी उनले आर्चरीबाट नेपाललाई ठूलै पदक दिलाउने आशा गर्न सकिन्छ । आर्चरीप्रति इच्छा जाहेर गरेपछि परिवारले उनलाई समर्थन गर्दै प्रशिक्षणमै व्यस्त गराएका छन् । २०८० मा अनुश्काले इराकको बागदादमा भएको एसिया आर्चरी कपमा सहभागी भई दोस्रो चरणसम्म प्रवेश गर्न सफल भइन् । गत वर्ष पोखरामा सम्पन्न ११ औं राष्ट्रिय च्याम्पियनसिपमा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण र मिक्स टिममा स्वर्ण पदक जितेकी थिइन् । उनी मञ्चले आयोजना गरेको स्पोर्टस् अवार्डको चौंथो संस्करणमा समेत उदीयमान खेलाडी विधामा उत्कृष्ट ३ भित्र परेकी थिइन् ।

अरुणा शाही (भलिबल)
नेपाली महिला राष्ट्रिय टिमको कप्तान अरुणाले भलिखेल खेल थाल्दा मात्र १३ वर्षकी थिइन् । पछि गण्डकीको प्रतिनिधित्व गर्दै खेल्ने उनले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरिन् । त्यसयता नियमित राष्ट्रिय टोलीमा स्थान बनाइराख्न सफल उनले भारतसँगको मैत्रिपूर्ण, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं साग खेल्दै भलिबलमा आफ्नो एकछत्र राज गरिरहेकी छिन् । अरुणाले राष्ट्रिय टोलीमा डेब्यु गरेको ५ वर्षपछि सन् २०१९ मा राष्ट्रिय टोलीको कप्तानमा नियुक्त भइन् । कप्तानी सम्हाल्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई ऐतिहासिक पदक समेत दिलाउन सफल भएकी छन् ।
अरुणाकै कप्तानीमा सन् २०१९ मा एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले उपाधि जितेको थियो । टोलीले गत वर्ष चीनमा भएको १९ औं एसियाडमा पहिलो पटक सहभागिता जनायो । गत वर्ष काभा कपमा कास्य पदक जित्न सफल भयो । यी २ प्रतियोगितासँगै अरुणाले राष्ट्रियस्तरको एनभीए कप भलिबलमा एभरेष्ट क्लबको प्रतिनिधित्व गर्दै च्याम्पियन भइन् । अवार्डमा ४ पल्टसम्म मनोनयनमा परेकी उनी यसअघि २ पटक वर्ष खेलाडी भइसकेकी छन् । यसपालि जिते उपाधिमा ह्याट्रिक हुनेछ।

सुस्मिता थापामगर (आइटीएफ तेक्वान्दो)
२०६० सालमा बागलुङ बडिगाडमा जन्मिएकी सुस्मिताले छोटो समयमै उचाइ हासिल गरिसकेकी छिन् । कक्षा ६ पढ्दा भलिबल खेलेकी उनी विद्यालयस्तरमा प्रतियोगितामा भाग लिई विभिन्न पदक जित्ने गर्थिन् । तर आफूले पढ्दै गरेको भानु स्कुलमा २०७४ सालमा रवीन्द्र बुढामगरले आइटिएफ टेक्वान्दो दोजाङ सञ्चालन गरेपछि तेक्वान्दोप्रति आकर्षित भइन् । त्यसबेला ८ कक्षा पढ्थिन् । खेल सिकिन् र छोटो समयमै नीगलापनी आइटिएफ तेक्वान्दो डोजाङकै उत्कृष्ट खेलाडी बनिन् । उनले आठौं राष्ट्रिय खेलकुदमा १ स्वर्ण र २ रजत पदक जितेकी थिइन् । नवौंमा गण्डकीलाई १ स्वर्ण र १ रजत पदक दिलाउन सफल भइन् । गत वर्ष उनी काजकिस्तानमा भएको २२ औं वल्र्ड आइटिएफ च्याम्पियनसिपमा सहभागी भइन् । ११ औं नेसनल जेनेरल चोइ आइटीएफ तेक्वान्दो डो च्याम्पियनसिप एकलतर्फ १ स्वर्ण, टिम प्यार्टन १ स्वर्ण, व्यक्तिगत १ कास्य हासिल गरिन् भने ८ औं नेसनल प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिप व्यक्तिगततर्फ १ स्वर्ण प्राप्त गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width