कोरोनाबाट ४५ लाखको मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७८
corona death (1)

फाइल तस्बिर

पोखरा । विश्वमा कोभिड–१९ को महामारीका कारण कम्तीमा ४५ लाख मानिसले ज्यान गुमाएका छन् ।
विश्वभरबाट संकलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्यांकअनुसार सोमबारसम्म ४५ लाख ५० हजार ६ सय २० संक्रमितको मृत्यु भएको छ ।
कोभिडका कारण जुलाईको सुरुमा सबैभन्दा धेरै दैनिक ७ हजार ८ सय संक्रमितको मृत्यु भएको थियो । गत हप्ता प्रतिदिन औसत १ हजार २ सय ९० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिका पुनः एक पटक विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकका रूपमा देखिएको छ । यस वर्षको जनवरीमा अमेरिकामा प्रतिदिन औसत ३ हजार ३ सय ८० जनाको मृत्यु दर्ता गरिएको थियो । यो संख्या ग्रीष्म ऋतुको सुरुसम्ममा घटेर २ सयमा झरेको थियो ।
विश्वले पुनः डेल्टा भेरिएन्टको लहरको सामना गरिरहेका कारण कोभिडजन्य मृतक संख्यामा वृद्धि हुन थालेको हो ।

गण्डकीमा १२९३ को मृत्यु

गण्डकीमा कोरोना संक्रमणबाट हालसम्म १ हजार २ सय ९३ जनाको मृत्यु भएको छ । सोमबार थप ३ सँगै मृत्यु हुनेको सख्या झन्डै १३ सय पुगेको हो ।
मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा १२ का ७७ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जा वालिङ १ की ५८ वर्षीया महिला र गल्याङका ४७ वर्षीया महिलाको आइतबार मृत्यु भयो । यसैगरी, देशभर थप १६ जनाको मृत्यु भयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ३० पुगेको छ ।
गण्डकीमा प्रदेशमा कोरोनामुक्त हुनेको संख्या बढ्न थालेको छ । सोमबार ३ सय ३ जना निको भएसँगै कोरोना जित्नेको संख्या ७५ हजार ७ सय ३ पुगेको छ । पछिल्लो एक हप्तामा प्रदेशमा ३ हजार ४ सय ९८ निको हुँदा २ हजार २ सय ५२ जना संक्रमित भएका छन् ।
पछिल्लो एक हप्तामा ३ हजार ४ सय ९८ निको हुँदा २ हजार २ सय ५२ जना संक्रमित भएका थिए भने साउनको १४ देखि २० गतेसम्म एक हप्ताको तथ्यांकमा ३ हजार ३ सय ६२ संक्रमित हुँदा १ हजार ४ सय ८६ जना निको भएका थिए । नेपालभर पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १४ हजार ५ सय २० छ ।
गण्डकीमा सोमबार १ सय ७० संक्रमित थपिए । ९ सय ४८ जनाको नमुना परीक्षणमा १७.९३ प्रतिशतमा कोरोना देखिएको हो ।
कास्कीमा ३६ पुरुष तथा ३७ महिला गरी ७३ जनासहित म्याग्दीका ७, गोरखाका ३०, तनहुँका ६, स्याङ्जाका १५ र नवलपुरका ३९ जना संक्रमित भएका हुन् । मनाङ, मुस्ताङ, पवर्त, लमजुङ र बाग्लुङमा शून्य संक्रमित हुँदा प्रदेशका बाँकी ६ जिल्ला ८९ पुरुष तथा ८१ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८१ हजार २ सय ७८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८ सय ९२ परीक्षणमा थप १ हजार ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width