बेलायतमा नेपाली मेला हुँदै

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०७८
nepali mela

पोखरा  । तमुधि युकेको आयोजनामा आगामी साता बेलायतमा नेपाली मेला हुँदैछ । अगस्ट २९ मा हुने सो मेलाको १२ औं संस्करणको तयारी धमाधम भइरहेको जनाइएको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यसपटक लन्डनस्थित नेपाली दुतावासको सहकार्यमा हुँदैछ ।
बेलायतकै सबैभन्दा बृहत् फुटबल प्रतियोगिता ‘गोर्खा कप’ सकिएको महिनाभित्र केम्पटन पार्क रेस कोर्समा मेला हुने भएको हो । पत्रकार सम्मेलनमा मेला संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरुङले मेला तयारीबारे जानकारी दिँदै करिब ३० हजार पाउण्ड अनुमानित खर्च हुने बताए । मेलामा बेलायतस्थित विभिन्न १९ संघसंस्थाले भाग लिने तय भएको उनको भनाइ छ । ती संस्थाले नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभुषा झल्किने विभिन्न झाँकी, नृत्य प्रस्तुत गर्ने छन् । बेलायत सरकारले कोरोनासम्बन्धी नियम हटाए पनि इच्छुक आगन्तुकलाई मास्क र स्यानिटाइजर उपलब्ध गराइने संयोजकले जनाए । मेलामा करिब ३ हजार दर्शक सहभागी हुने अनुमान गरिएको बताए । उनका अनुसार विगतमा ८/१० हजारसम्म दर्शक आउँथे ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले मेला उद्घाटन गर्नेछन् । यसपटक विगतमा जस्तो अन्य देशका कुटनीतिज्ञ उल्लेख्य सहभागी नहुने सम्भावना छ । ‘डिप्लोम्याट्स निमन्त्रणा गर्ने जिम्मा दूतावासलाई दिइएको हो । समय अभाव, कोभिड र दूतावासमा सबै नयाँ टिम भएका कारण धेरै डिप्लोम्याट्स नहुन सक्छन्,’ संयोजक गुरुङले भने, ‘तर, विदेशीहरु र स्थानीय काउन्सिल नेता दर्शकका रुपमा रहने अपेक्षा छ ।’ मेलामा खाना, च्यारिटी, हस्तकला लगायतका २७ व्यापारिक स्टल रहनेछन् । विभिन्न सांस्कृतिक प्रस्तुति र दर्शकले काटेको टिकटबाटै राफल ड्र पनि सञ्चालन गरिनेछ । राफल ड्र विजेतालाई १ तोला सुन, उपविजेतालाई ट्याबलेट र तृतीयलाई १ सय पाउण्ड नगद दिइने तमुधिं युकेले जनाएको छ ।
मेलामा सहभागी भएर नेपाली मौलिकपनको रसस्वादन गर्न तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले अपिल गरेका छन् । मेलामा झाँकी र नृत्य दुवैमा प्रथम हुने समूहलाई १ हजार १ सय पाउण्डसहित ‘एम्बासडर कप’ प्रदान गरिनेछ । मेलाका लागि दुतावासबाट २५ सय पाउण्ड सहयोग प्राप्त भएको आमा समूह महासचिव यशोदा गुरुङले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width