परदेशको पसिनाको प्रतिफल कसरी ?

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७९
Rojgar

पोखरा । बढ्दो बेरोजगारसँगै विभिन्न अवसर खोजीमा दैनिकरुपमा ठूलो संख्यामा नेपाली विदेशिने गरेका छन् । त्यसरी विदेशिएकामध्ये नेपालमा ६० प्रतिशत घरपरिवारले विप्रेषण (विदेशबाट पठाएको रकम) बुझ्छन् । दैनिकरुपमा करिब १७ सय युवा जनशक्ति नेपाली जन्मभूमि छोड्दा सोको न्युनिकरणका लागि सरकारले बर्सेनि विभिन्न योजना बनाए पनि साकार हुन सकेको छैन ।

त्यसो त विप्रेषणले नेपालको कुल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान दिएको तथ्यांक छ । चुनावको मुखमा विभिन्न दलका मीठामीठा घोषणापत्रबीच झट्टै वैदेशिक रोजगारीको खोजीमा युवा जनशक्ति पछि हट्नेवाला छैन । विदेशमा रगत–पसिना बगाएर कमाएको रकमले घरपरिवारको आवश्यकता भरथेग चलेकै छ । तर, रकमको खास सदुपयोग भने हुन सकेको छैन ।

दैनिक १७ सय नेपाली विदेशिने गरेकोमा यसको व्यवस्थापनमा जोड

केन्द्रीय तथ्यांक विभागको आर्थिक वर्ष २०६६÷७७ को तेस्रो जीवन सर्भेक्षणअनुसार श्रम गन्तव्यमा जाने नेपालीले कमाएको रकममध्ये ७८.९ प्रतिशत दैनिक उपभोगमा खर्च हुन्छ । ऋण तिर्न ७.१, घर खरिदमा ३.५, शिक्षमा ३.५ प्रतिशत खर्च गर्दा उनीहरु मात्र २.४ प्रतिशतमात्र बचाउँछन् ।

यसै सन्दर्भमा बुक पब्लिकेसन्सले शुक्रबार यहाँ ‘परदेशको पसिनाःकसरी लिने प्रतिफल’ विषयक अन्तक्र्रिया ग¥यो । वैदेशिक रोजगारी, श्रम आप्रवासन र अवसरको ढोका क्षेत्रमा रहेर गरिएको अन्तक्र्रियाका वक्ताले वैदेशिक रोजगारीलाई नकार्न नसकिने तर यसलाई व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिए । उनीहरुको ज्ञान, सीप र रकमको सदुपयोगमा तिनै तहका सरकारले आवश्यक नीति नियम बनाउनुपर्ने पनि आवश्यक औंल्याइयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वैदेशिक रोजगारका अँध्यारो पक्ष रहे पनि यसमा सम्भावनाको खोजी गर्नुपर्ने बताए । उनले पोखरामा ८.७ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको जानकारी दिंदै यसको न्युनिकरणमा वैदेशिक रोजगारबाट फर्किएको ज्ञान, सीपको प्रवद्र्धनमा प्रतिबद्धता रहेको जनाए । सरकारी काममा मनसुन र भनसुनमा हुन्छ भनिन्थ्यो ठ्याक्कै हुँदो रहेछ भन्दै उनले आगामी दिनमा सरकारी कार्य झन्झटमुक्त गर्ने तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनसँगै वैदेशिक श्रमसँग जोडिएर आउने विभिन्न विषयमा समाधानका लागि पहल गर्ने बताए ।

आप्रवासीविद् डा. गणेश गुरुङले विगतमा ४२ प्रतिशत गरिबीको रेखामुनिको जनसंख्या वैदेशिक रोजगारकै कारण २५ प्रतिशतमा झरेको सुनाए । ‘वैदेशिक रोजगारलाई नकार्ने हैन, सदुपयोग गर्ने हो । कसरी हुन्छ व्यवस्थित गर्ने हो,’ उनले भने, ‘सडक बनेपछि दुर्घटना हुन्छ, के अब सडक नै नबनाउने ?’ उनले बैंकिङ सिस्टममा बिनाधितो ऋण सुविधा जबसम्म मिल्न सक्दैन, तबसम्म वैदेशिक रोजगार रोक्न नसकिने दाबी गरे । विदेशबाट फर्किएकाको ज्ञान, सीप सदयोग गर्ने विषयमा सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने डा.गुरुङको जोड छ ।

आप्रवासी महिला अधिकारकर्मी मञ्जु गुरुङले वैदेशिक रोजगारमा महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको गुनासो गरिन् । वैदेशिक रोजगारकै कारण थुप्रै विकृति विसंगति पनि निम्तिएको बताइन् । महिलाहरु अवाञ्चित गर्भ लिएर फर्कने, मानसिक सन्तुलन गुमाउने, तिनका बच्चाहरु ड्रग्समा फस्ने, महिलाहरु आर्थिक तथा शारीरिक हिंसासहित फस्ने गरेको लगायत विकृति विसंगति रहेकोले सुरक्षित आप्रवासन हुन नसकेको बताइन् । आफू पनि वैदेशिक रोजगारमा गएर आएको स्मरण गर्दै उनले झापामा गरिएको एक परियोजनामा फर्केर आएर कामदारको ‘सर्टिफिकेसन’ गर्ने काम गरेको जानकारी दिइन् । राम्रा अभ्यासको पोखरा महानगरले पनि अनुशरण गर्नुपर्ने उनको सुझाव छ ।

विगतमा ८ वर्षसम्म कतार बसेर फर्किएका भीम श्रेष्ठले वैदेशिक रोजगारको दुष्चक्रबाट माथि उठ्नुपर्ने सुझाव दिए । युवा जनशक्ति रहर नभै बाध्यताका कारण खाडी मुलुकमा रोजगारमा जानुपर्ने अवस्था रहेको र त्यहाँ काम गर्दा सुरक्षित आप्रवासनको अभाव रहेको उनको भनाइ थियो । उनका अनुसार कतारमै करिब ४ लाख नेपाली कामदार छन् ।

गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष रघुराज काफ्लेले वैदेशिक रोजगारीमा जाँदा कम्तीमा सम्बन्धित मुलुकको भाषासहित आवश्यक सीप सिक्नुपर्ने सुझाव दिए । विगतमा आफू वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा कार्यकारी प्रमुख रहेर काम गरेको अनुभव सुनाउँदै उनले वैदेशिक रोजगारका अँध्यारा पाटो धेरै देखेको स्मरण गरे । फिलिपिन्स र बंगलादेशको उदाहरण दिंदै उनले नेपालले पनि अर्धदक्ष तथा अदक्ष नभै दक्ष कामदार पठाउनुपर्ने उनको जोड छ । करिब २ घण्टा चलेको अन्तक्र्रियाको सहजीकरण पत्रकार जनकराज सापकोटाले गरेका थिए । वैदेशिक रोजगारी वरिपरि रहेर सहभागीका विभिन्न जिज्ञासा वक्ताले मेटाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width