चेम्बर अफ कमर्स गण्डकीमा नयाँ कार्य समिति

आदर्श समाज सम्वाददाता
असार २६, २०७८
chamber-logo (1)

पोखरा । नेपाल चेम्बर अफ कमर्स गण्डकीमा किसान सुनार अध्यक्षमा नयाँ कार्यसमितिले पूर्णता पाएको छ ।
संस्थाको शनिबार पहिलो साधारण सभा तथा निर्वाचनबाट उपाध्यक्षमा श्रीबहादुर गुरुङ, महासचिवमा देवराज शर्मा, सचिव विष्णुकुमार श्रेष्ठ र कोषाध्यक्षमा तेजेन्द्र पौडेल निर्विरोध रुपमा चयन भए ।
सदस्यमा विजय हिराचन, भरतबहादुर रकाल, महेन्द्रमोहन भट्टराई, ज्ञानु अधिकारी, तारानाथ ढुंगाना, प्रकाश न्यौपाने, टीकाकुमारी गुरुङ, गंगाप्रसाद श्रेष्ठ, विष्णुकुमारी गुरुङ ‘एकता,’ युवराज खतिवडा र अरुण गिरी छन् । अध्यक्ष सुनारलाई अघि नै केन्द्रीय समितिले मनोनीत गरेको थियो ।
साधारणसभामा बोल्दै नेपाल चेम्बर अफ कमर्स केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले बिउँ पुँजी संकलन गरेर उत्पादनमुखी कार्यक्रम गर्न आग्रह गरे । उनले एकलभन्दा सामूहिक रुपमा व्यवसायमा जान सुझाव दिए । उनले कृषि, जडिबुटी, सुन्तला र सूचना प्रविधिको क्षेत्रमा काम गर्न आग्रह गरे ।
स्याङ्जा र गोरखामा सुन्तला खेती र हिमाली जिल्लामा जडिबुटी खेतीको सम्भावना रहेको चर्चा गर्दै उनले नयाँ प्रविधि मार्फत व्यवसायिक परियोजना गरे केन्द्रले सहयोग गर्ने बताए । कोभिड १९ का कहरले उद्योगी व्यवसायीलाई आफै उत्पादन गरेर आत्मनिर्भर बन्न सिकाएको बताए । उनले मिल्दोजुल्दो व्यवसाय गर्ने कर्पोरेट कार्यालय खोलेर काम गर्न सुझाव दिए । चेम्बर अरु निजी क्षेत्रको संस्थाभन्दा फरक भएको दाबी गर्दै उनले आफैं अग्रसर भएर उद्योग व्यवसाय प्रवद्र्धन गर्न आग्रह गरे ।
भर्चुअल जुम प्रविधिबाट भएको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स (जिल्ला तथा नगर) उपाध्यक्ष दीपक श्रेष्ठले प्रदेश, जिल्ला तथा नगरका उद्योगी व्यवसायीलाई समेटेर संस्थागत विकासमा लाग्ने बताए ।
गण्डकी प्रदेश चेम्बर अफ कमर्स गण्डकी अध्यक्ष किसान सुनारले गण्डकी प्रदेशको समृद्धिका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने उल्लेख गरे । उनले प्रविधिमैत्री सचिवालय बनाएर समग्र उद्योगी व्यवसायीका हकहितमा काम गर्ने बताए । स्थानीय सरकारसँग मिलेर व्यावसायिक परियोजना चलाउने उल्लेख गर्दै उनले चेम्बरले गण्डकी प्रदेशमा लगानी सम्मेलन गर्ने घोषणा गरे ।
नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य भाइचन्द्र श्रेष्ठ, निर्मला लम्साल, वागमती प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष सिद्धिलाल श्रेष्ठले सबै उद्योगी व्यवसायीलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width