महिला अधिकारको परिवर्तित स्वरुप

अधिवक्ता तारा शर्मा
असार २०, २०७८
Tara Sharma

जननी, माता, आमा, महिला र नारी शब्दलाई अर्थ र व्याख्याको कुनै जरुरत छैन । व्यक्ति विशेषले आफ्नै तरिकाले यी शब्दहरुलाई विश्लेषण गर्ने र शब्दकोषमा पनि यस शब्दको आफ्नै विशिष्ट स्थान रहेको छ । आध्यात्मिक, भौतिक तथा धर्मशास्त्रहरुले समेत श्रद्धा, भक्ति र सम्मानका साथ परिभाषित गरेकाले पनि हाम्रा सामाजिक संस्कार तथा कानुनमा समेत शिक्षा दिने प्रथम गुरु तथा भगवान् स्वरुपमा वर्णित तथा परिभाषित गरेको पाइन्छ । तर पनि विभिन्न पात्र तथा व्यक्ति विशेषको कर्म तथा समय परिस्थिति अनुसार यी शब्दहरुको अथ्र्याइ कहिलेकाहीं पृथक हुने वा बनाइने गरिन्छ ।
विगत १२/१३ वर्षदेखि व्यक्तिगत रुपमा म विभिन्न माध्यमबाट महिला अधिकार तथा लैंगिक हिंसाविरुद्ध काम गर्दै आइरहेकी छु । करिब १० वर्ष अगाडि पोखरामा नै महिला पत्रकारको हैसियतले मलाई एउटा महिला अधिकारकर्मीको गोष्ठीमा आमन्त्रण गरिएको थियो । जहाँ मैले आरक्षणले महिलालाई झन्झन् आश्रित बनाउँछ भन्ने मत जाहेर गर्दा केही अग्रज अधिकारकर्मीले मलाई तपाईं महिला विरोधी हुनुहुँदो रहेछ, अबबाट हाम्रो कार्यक्रममा सहभागी गराइने छैन भनेर कटाक्ष गर्नुभएको तीतो अनुभव आज पनि मेरो मानसपटलमा ताजा नै छ । तर त्यो बेला मेरो विचारमा विमति राख्ने अधिकांश साथीहरु आज मसँग सहमत हुनुहुन्छ । योग्यता र क्षमता अभिवृद्धि नगरी नारी पुरुष समान सक्षम हुन असम्भव छ भन्न थाल्नुभएको छ । महिला अधिकारका तालिम दिने स्थलमा वा सेमिनार गोष्ठीहरुमा मैले महिला पुरुषको समान सहभागिता हुनुपर्छ भन्दा पुरुषका अगाडि महिलाले आफ्ना वेदना समस्या कसरी राख्न सक्छन् तपार्इं खाली यस्तै नचाहिने कुरामात्रै गर्नुहुन्छ भन्ने साथीहरु तपाईंले ठीक भन्नु भा’रैछ । महिला पुरुषलाई सँगै राखेर महिला केन्द्रित कार्यक्रम गर्दा बढी प्रभावकारी हुँदो रहेछ भन्न थाल्नुभएको छ । यी सबै महिला अधिकारका परिवर्तित स्वरुप हुन् ।
हाम्रा हजुरआमा आमाहरुले भोगेका कष्ट हामीले भोग्नुपरेको छैन र हामीले हाम्रा जीवनमा महिला हुनु परेकै कारणले कुनै यातना या कष्ट सहनुपर्छ भने ती यातना वा कष्ट भोलि हाम्रा छोरी चेलीले भोग्न नपरोस् भन्नेतर्फ हाम्रो पहल कदमी हुनुपर्छ । हुन त परिवर्तन समयचक्रसँगै आफैं हुने गर्दछ तर आमूल परिवर्तनका लागि सकारात्मक द्वन्द्व वा क्रान्ति हुन जरुरी छ । महिलामाथि गरिने विभेद वर्गीय, विभेद र जातीयताविरुद्धको विभेदले हाम्रो शान्त समाज र हामी शान्तिगामी नेपालीलाई कहिलेकाहीं हिंसातर्फ डोर्‍याएको आभाष भइरहेको हुन्छ । यो पक्कै पनि देश र जनताको लागि राम्रो होइन । महिला र जातीयताका विषयमा राम्रो शीर्षक बनाएर राजनीतिक रंगमन्चमा भाषण बाजी गर्नेहरु र हाम्रो सनातन धर्ममा खोट लगाएर धर्म परिवर्तन गर्न लगाउने कलुषित भाव बोकेर महिला र जातीयताका भावना र संवेदनाहरुसँग खेल्नेहरुको पहिचान गर्नैपर्छ । यस्ता व्यक्ति तथा गुटहरुको पहिचान तथा हाम्रो सामाजिक कुरीतिलाई सम्बोधन गरी हामी हाम्रो गन्तव्यमा पुग्नैपर्छ । हाम्रा अधिकार के के हुन्? यिनको प्रयोग कसरी गर्ने भन्ने विषयमा पनि जानकार हुनु अति आवश्यक छ । राज्यले प्रदान गरेका कुराहरु के के छन्? र ती कुराहरु बुझ्न, जान्न र क्षमता योग्यता अभिवृद्धि गर्नतर्फ नलाग्ने र खाली राज्य र पुरुषलाई मात्रै गाली गर्ने सेमिनार, भाषण र लेखमा को बढी क्रान्तिकारी बन्ने होडबाजी तथा प्रतिस्पर्धामा लाग्ने जुनखालको संस्कार विकास भएको छ यो पनि अर्को गम्भीर प्रत्युत्पादक विषयका रुपमा उठान गर्नुपर्ने देखिन्छ ।

पुरुषलाई गाली गर्नेमा को बढी क्रान्तिकारी बन्ने भन्ने होडबाजीमा लाग्ने संस्कारलाई गम्भीर प्रत्युत्पादक विषयका रुपमा उठान गर्नुपर्ने देखिन्छ

आना निहित स्वार्थका लागि तालीको गडगडाहट सुन्न र अल्पकालीन जितको जय जयकारका आशमा महिलाका मुद्धालाई अगाडि ल्याएको नाटक गर्नेहरुका पछि लाग्ने हाम्रा दिदी बहिनीहरुले आफ्नो इमान्दारिता र सक्षमताको फाइदा अरुलाई लिन किन दिइरहनु भएको छ? महिला सहभागिता बिनाका सम्पूर्ण कार्यहरु अधुरा छन् भन्ने कुराको ज्वलन्त इतिहास छ । सन् १७८९ को फ्रेन्च क्रान्तिमा त्यहाँ निरंकुश राजतन्त्र फाल्न पुरुषहरुमात्र संलग्न आन्दोलन सफल हुन नसकेपछि पुरुषहरुले महिलालाई तिमीहरुले चाहेको अधिकार तिमीहरुलाई दिनेछौं, मिलेर आन्दोलन गरौं भनी संयुक्त आन्दोलन अगाडि बढाएपछि मात्रै सन् १७९३ मा त्यहाँ निरंकुश राजतन्त्रको अन्य भएको थियो । तर पछि पुरुषहरु सत्तासीन भएपछि महिलाले गरेको योगदानको कदर गर्न सकेनन् । महिलाहरुले सत्तासीन पुरुषलाई तिमीहरुले हामीसँग गरेको वाचा अनुसारको अधिकार दिनुपर्‍यो भनी अनुरोध गर्दा ए तिमीहरुलाई अधिकार चाहिने भनी सत्तासीन पुरुष नेताहरुले महिलाहरुको नेतृत्व गरिरहेकी महिला नेतृ ओलम्पे दे गोजेजको घाँटी रेटी हत्या गरिदिएका थिए । यी र यस्ता कैयौं उदाहरणहरु छन् । जहाँसुकै जुनसुकै कार्य महिलाबिनाका अधुरा र अपुरा छन् । यो सत्यतालाई बिस्तारै बुझ्दै छन् समाज र सत्तासीनहरुले ।
आरक्षण तथा कोटा प्रणाली समस्या समाधानका अल्पकालीन सम्बोधनका विकल्प हुन् । यसले व्यक्ति तथा समुदायमा रहेको प्रतिस्पर्धात्मक गुण तथा चरित्रको हत्या गर्दछ । अब हामी आरक्षणका लागि मात्र बोल्ने होइन दीर्घकालीन समस्या समधानका कडीका रुपमा रहेका योग्यता तथा क्षमता अभिवृद्धिमा जोड दिने हो । अब कोटाका कुरा गर्ने होइन क्षमताका कुरा गर्ने हो । सही गलत सकारात्मक र नकारात्मक दुवै पाटोको विश्लेषण गरी अगाडि बढनु तपाईं हाम्रै दायित्व हो । हामीले हाम्रो सफलता र सक्षमता माथि शंका गर्नु हुँदैन । जब हामीले हाम्रो क्षमता र सक्षमतालाई पहिचान गर्न सक्दैनौं । त्यतिबेला हामी स्वयं नै आफ्नो प्रगतिका बाधक आफैं बन्नेछौं । त्यसैले आफैंले आफैंलाई विश्वास गर्नुपर्छ । एक समय थियो सम्माननीय सम्बोधन गरिने पाँच पदमध्येमा हाम्रो देशमा राष्ट्रपति, प्रधानन्यायधीश र सभामुख तीन पदमा महिलाहरु आसीन हुनुहुन्थ्यो । यो पद उहाँहरुलाई कसैले उपहार स्वरुप प्रदान गरेको होइन। अवश्य नै उहाँहरुले आफ्नो क्षमता र योग्यताको आधारमा हासिल गर्नु भएको हो । प्रथम महिला प्रमुख जिल्ला अधिकारी उषा नेपाल आफ्नै योग्यताले प्रमुख जिल्ला अधिकारी हुनु भयो । सन्तहरुको भेलाद्वारा पशुपतिनाथलाई पाँचौ मठ घोषणा गरी वेदलाई विज्ञानको पराकाष्ठा मान्ने नेपाली महिला सन्यासी हेमानन्द गिरीलाई सोही मठको शंकराचार्य घोषणा गर्दा उहाँ विश्वको पहिलो महिला शंकराचार्य हुन पुग्नुभयो। तर पछि भारतीय साधुहरुको संगठन भारत धर्म महामण्डल र काशी विद्धतपरिषद्ले वक्तव्यमा भारतको चार दिशा (काशी, द्वारका, पुरी र बद्री मठ) बाहेक अन्य कुनै पनि मठमा ‘अभिषिक्त’ सन्यासीलाई शंकाराचार्य भन्न नमिल्ने भनि उहाँको शंकाराचार्य पद खारेज गरेको थियो । यी र यस्ता कंैयौ उदाहरण छन् हामीसँग अब पनि हामी आरक्षण र कोटामा अल्झियौं भने हाम्रो वृत्तिविकासमा ह्रास आउन सक्छ ।
हाल महिलाको सम्पत्तिमा स्वामित्व २६.३ प्रतिशत हुनु महिला साक्षरता दर बढेर ५७.७ प्रतिशत पुग्नु सुखद् पक्ष हो भने नेपाली महिलाहरुको लामो समयदेखिको संघर्ष र राज्यले गरेका नीतिगत व्यवस्थाको उपज पनि हो । हाम्रो प्रजनन क्षमताले गर्दा पुरुषभन्दा शारीरिक रुपमा हामी कमजोर हुन्छौं । यो सत्यतालाई हामीले स्वीकार्नुपर्छ तर महिलासँग भएको प्रजनन क्षमता र घर परिवार सम्हालेर पनि जुन उचाइमा पुगेका छन् त्यो अदम्य साहस भगवान्ले केवल महिलालाई मात्रै प्रदान गरेका छन् । महिलाका यी साहसिक पाटाहरुलाई बहुसंख्यक पुरुषहरुले मन नपराउन सक्नुहुन्छ । सँगैको दौडमा एउटाले अनेकौं पर्खाल पार गर्दै गन्तव्यमा पुग्न सफल हुन्छ र अर्कोले सिधा र छोटो बाटो गन्तव्यमा पुग्छ भने अवश्य नै महत्व र चर्चा त पर्खाल पार गरी गन्तव्यमा पुग्नेकै हुन्छ । हामीले बौद्धिकतामा पुरुषको हाराहारी पुर्‍याउन योग्यता अभिवृद्धिमा जोड दिंदै आत्मबललाई उच्च राख्न जरुरी छ । हामी बिचरा र कठैबरा किन बनिरहने ?
जापान चीनका केही प्रान्तलगायत कोरियामा पनि महिलालाई महिनावारी भएमा तीन दिन बिदा दिने चलन रहेको छ । तर अमेरिकन महिलाहरुले यो विषयमा छलफल गर्न पनि चाहेनन् किनकि अमेरिकन महिलाहरुले पुरुषहरुले महिलालाई तिमीहरु कमजोर छौ भन्ने साबित गर्न यो कुरा ल्याइएको हो, हामीलाई बिदाको आवश्यकता छैन भनी महिनावारी बिदाको विरोध गरे र यो विषयलाई सिनेटमा पुग्नै दिएनन् । अब समय आएको छ हामीले हाम्रा आवश्यकताको पहिचान गरी त्यही अनुसारको ऐन कानुन निर्माण गर्ने अधिकारको माग गर्ने र त्यसको सदुपयोग गर्ने गर्नुपर्छ । त्यसैले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि पुरुष महिला दुवैले हामी एक अर्काका परिपूरक हौ,ं सहयात्री सहयोगी हौं भन्ने सोची एक अर्काको भावनाको सम्मान गर्ने बानीको विकास हुनु अति आवश्यक छ । हाम्रो लडाइँ शारीरिक होइन, बौद्धिक लडाइँ हो । असमानता तथा अन्यायका विरुद्धको लडाइँ हो । त्यसैले विभेद तथा अन्यायका विरुद्ध ज्ञान, विवेक, बुद्धि, चेतना, योग्यता, क्षमता, आँट, उत्साह र इमानदारिताका साथ सकारात्मक लडाइँ लड्नुपर्छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    मुख्य समाचार

    Gandaki University

    sanil ads

    wordlink ads