मादीको बजेट ५६ करोड ४ लाख

आदर्श समाज सम्वाददाता
असार ११, २०७८
madi gaupalika

पोखरा । मादी गाउँपालिकाले आगामी आवको लागि ५६ करोड ४ लाख ८३ हजार ५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक बजेट चालु आवको प्रस्तावित अनुमानभन्दा ५.२० प्रतिशतले बढी हो ।
गाउँपालिकाको नवौं सभामा उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलले आर्थिक विकासतर्फ ३ करोड ३ लाख, सामाजिक विकासमा २९ करोड ४० लाख, पूर्वाधार विकासमा १० करोड ६८ लाख विनियोजन गरिएको छ । यस्तै, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड १३ लाख र सुशासन तथा संस्थागत विकासतर्फ ११ करोड ७९ लाख छुट्टाइएको जनाइन् ।
पालिकाले संघीय सरकार वित्तीय समानीकरणबाट ९ करोड ३ लाख, संघीय सरकार सशर्त अनुदानबाट २५ करोड १३ लाख, संघीय सरकार विशेष अनुदानबाट १ करोड २० लाख, संघीय सरकार राजस्व बाँडफाँटबाट ८ करोड २८ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट ९९ लाख, प्रदेश सरकार राजस्व बाँडफाँडबाट ६७ लाख, आन्तरिक आय तथा रोयल्टी अल्यासमेत १० करोड ६९ लाख स्रोत अनुमान गरेको छ ।
बजेटले कोरोना महामारी नियन्त्रण, व्यवस्थापन गरी कोभिडका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएका नागरिकलाई रोजगारी सिर्जना गर्ने, कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने, भौतिक पूर्वाधार विकासका जोड दिँदै अधुरा तथा क्रमागत योजना सम्पन्न गर्ने योजनालाई प्राथमिकतामा राखेको छ । साथै महिला सशक्तीकरण तथा आयआर्जनसम्बन्धी कार्यक्रममार्फत सामाजिक रुपान्तरणमा सहयोग गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, अपांग, दलित, जनजाति तथा अल्पसंख्यकको उत्थान हुने कार्यक्रम सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति प्रवद्र्धन जस्ता सामाजिक क्षेत्रमा लगानी वृद्धि गर्ने, सार्वजनिक सेवा प्रवाह पारदर्शी र गुणस्तरीय बनाउने, फोहोरमैला व्यवस्थापन गरी वन तथा वातावरण संरक्षण एवं विपद् व्यवस्थापन गर्ने विषयलाई प्रमुखताका साथ उठाइएको छ ।
यस्तै अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रमको लागि ५० लाख, कृषि तथा औजार उपकरण तथा कृषि सामग्री अनुदानको लागि ६६ लाख छुट्टाइएको छ ।
यसअघि गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले आगामी आवको लागि सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको जानकारी गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width