मेनकाजी : कर्मशील, निष्ठावान, अब्बल संस्कृतिकर्मी

रेम विक
जेठ १९, २०७८
menkaji grg

पोखरा ।  ‘जे काम होस्, त्यो समयमै हुनुपर्छ ।’ मेनकाजी यस्तै भन्थे अनि गर्थे पनि । मेनकाजी गुरुङको पर्याय नै बनेको थियो ‘पंचुआलिटी’ । समयमा काम नहुँदा मेनकाजी कहिलेकाहीं त आजित हुन्थे । आफूले केही कार्यक्रम गर्नुपरेमा तोकिएकै समयमा थाल्थे ।

‘हिमाली सांस्कृतिक परिवारले गर्ने हरेक कार्यक्रमहरु दाइले भनेकै समयमा सुरु गर्नुहुन्थ्यो । सायद उहाँले गरेका कुनै त्यस्ता कार्यक्रम थिएनन्, जो समयमा सुरु भएनन् ।’ चलचित्र अभिनेता तथा निर्देशक माओत्से गुरुङ सम्झन्छन्, ‘तर मेनकाजी दाइलाई नै मृत्युले समयभन्दा अगाडि लगिदियो ।’

नेपाली नृत्यको क्षेत्रमा मेनकाजीको योगदान अविस्मरणीय रहेको उनी बताउँछन् । नेपाली लोक सांस्कृतिक नृत्यको जगेर्ना र त्यसको प्रचार गर्न मेनकाजी कहिल्यै थाकेनन् । यो क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन उनी जीवनकालको अन्तिम अवस्था सम्म पनि अनवरत लागिरहे । मेनकाजीको निधनले परिवार त शोकमा छ नै पोखरासँगै पूरै नेपालको लोकसांस्कृतिक अभियानमा लागेकाहरुबीच सन्नाटा छाएको छ ।

लोक सांस्कृतिक नृत्यलाई स्थापित गर्नुपर्छ भन्नेमा सधैं अडिग मेनकाजी क्लासिकल र कत्थक नृत्यमा स्नातक हुन्

केही दिन अगाडि मात्रै हो । मेनकाजीको परिवारलाई कोरोना पोजेटिभ देखियो । श्रीमतीसँगै मेनकाजी पनि मेडिप्लस हस्पिटल रानीपौवामा भर्ना भए । कोरोनाकै कारण उनले अस्पतालमै भएको बखत् श्रीमती गुमाउनु पर्‍यो । ठूलो आघात पर्‍यो उनको मनमा । यद्यपि उनी कोरोनासँग जुधे । र, जिते पनि । तर विडम्बना, उनको मुटुमा ठूलै झड्का पर्‍यो । जो मेनकाजीले थेग्न सकेनन् । ‘दाइलाई पहिल्यैदेखि मुटुको समस्या थियो । कोरोनाको रिपोर्ट त नेगेटिभ नै आएको हो । तर दाइलाई मुटुको समस्याले लग्यो,’ मेनकाजीका माइला भाइ श्रीजंग गुरुङले भने ।

मेनकाजीका १ छोरा र १ छोरी छन् । ‘छोराछोरी दुबैजना यतिबेला अस्ट्रेलियामा छन् । लकडाउनका कारण उडान ठप्प हुँदा उनीहरुले आमा र बुवा अन्तिम समयमा पनि देख्न पाएनन् । कस्तो नराम्रो घटना भयो,’ श्रीजंगले भने ।

मेनकाजीको लोकसांस्कृतिक यात्रा

मेनकाजीलाई सानैदेखि हो नृत्यको चस्का पसेको । पछि डाँफे कला मन्दिरसँग उनी जोडिन आइपुगे । ‘डाँफे बाजे’ अर्थात् मीनबहादुर गुरुङसँगको सहकार्यपछि उनमा नेपाली लोक सांस्कृतिक नृत्यमा अझै केही गर्नुपर्छ भन्ने भावना बढ्यो । यो २०३६ साल ताकाको कुरा हो ।

४० साल ताका हो, मेनकाजीले पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा लोकनृत्य विधातर्फ गोल्ड मेडल पनि जिते । मेनकाजीका भाइ श्रीजंग सम्झन्छन्, ‘त्यो बेलामा लोकनृत्य र लोकदोहोरीलाई पनि खेलकुदकै एउटा विधाजसरी प्रतियोगितामा समावेश गराइन्थ्यो ।’

३० को दशकबाटै नृत्य करिअर अगाडि बढाएका मेनकाजीले ४० सालतिर नेपाली फिल्म कान्छीमा काम गर्ने मौका पाए, डान्सरको रुपमा । ‘कान्छी हे कान्छी’ मा अभिनेत्री शर्मिला मल्लसँग छमछम नाचेका युवा जोशका मेनकाजीलाई त्यसपछि त झन् बढी नृत्यप्रति मोह बढ्यो । त्यसपछि उनको फिल्मी यात्रा पनि सुरु भयो । लोक सांस्कृतिक नृत्यलाई स्थापित गर्नुपर्छ भन्नेमा सधैं अडिग मेनकाजी त्यहि बेलामा भारतको इलाहबाद पुगेर क्लासिकल र कत्थक नृत्यमा स्नातक गरे ।

उनले थुप्रै नेपाली भाषी अनि गुरुङ भाषी फिल्महरुमा नृत्य निर्देशकको रुपमा काम गरे । त्योसँगै उनले केही बंगाली फिल्ममा पनि नृत्य निर्देशकको रुपमा काम गरे । पछिल्लो पटक उनी गुरुङ भाषा र संस्कृतिमा आधारित रहेर बन्ने फिल्महरुमा बढी व्यस्त बने । उनले निर्देशन गरेका थुप्रै गुरुङ फिल्मका गीतहरु उद्योगकै लागि गौरव गर्ने खालका बनेका छन् । गुरुङ फिल्ममा पनि उनको निकटता विशेषगरी अभिनेता तथा निर्देशक बेदबहादुर गुरुङ ‘श्याम’ र अर्का निर्देशक लोकबहादुर गुरुङसँग थियो । मेनकाजीकै कोरियोग्राफीमा फिल्ममा समावेश गरिएको गीत ‘प्रेतना रोधीं री’ निकै चर्चित पनि छ । पछिल्लो पटक उनले ‘यम्फु देउराली’ मा काम गरेका थिए ।

मेनकाजीले पोखराको सेन्ट मेरिज स्कुलमा नृत्य पढाए, करिब ३५ वर्ष । यही ३५ वर्षको बीचमा नृत्य विधाबाटै उनले थुप्रै पुरस्कार र सम्मान पनि प्राप्त गरे । गोरखा दक्षिण बाहुबाट विभूषित मेनकाजीले राष्ट्रिय शिक्षक पुरस्कार पनि हात पारे । उनलाई नेपाल सरकारले क्षेत्रीय प्रतिभा पुरस्कारबाट पनि पुरस्कृत गरेको थियो ।

चर्चित गायक प्रजापति पराजुली र अर्का सारंगीवादक धनबहादुर गायक मेनकाजीका हितैषी हुन् । धनबहादुर गायक पनि केही समय अगाडि ईश्वरको प्रिय भइसकेका छन् । ‘मेनकाजी, धनबहादुर र मैले सँगै डाँफे कला मन्दिरमा नाच्न, गाउन अनि बजाउन सुरु गरेका हौं । हामी खुब मिल्ने,’ गायक प्रजापति पराजुली सम्झन्छन्, ‘त्यो बेलामा मैले एउटा गीत बनाएको थिएँ, पोखरामा क्या राम्रो फेवाताल भन्ने बोलको । अलिक फास्ट बिटको त्यो गीतमा नाच्न र बजाउन जान्ने अब्बल मान्छेहरु चाहिने । डाँफे कला मन्दिरका क्याप्टेन मामाले हामी तीनजनाको समूह बनाइदिनुभयो । र, त्यही गीत लिएर हामी विराटनगर गयौं । हाम्रो टिमले बाजी मार्‍यो । हामी प्रथम भयौं ।’

धनबहादुर गायक हल्ली हल्ली मादल बजाउने । निकै रसिलो मान्छे । नृत्यमा जस्तो भन्यो त्यस्तै नाच्ने मेनकाजी । प्रजापतिचाहिं गीत गाउने । प्रजापति पुराना दिन सम्झिन्छन्, ‘त्यसपछि त झन् हाम्रो दोस्ती खुब जम्यो । खुब रमाइलो हुन्थ्यो हामीबीच । अब त म एक्लै भएँ ।’

गायक प्रजापति पराजुली मेनकाजीलाई एउटा असल मित्रसँगै कुशल संस्कृतिकर्मीको रुपमा आफूले लिएको बताउँछन् । कुनै लोभ नभएको र आफ्नो जिम्मामा आएको काम ढंग पु¥याएर समयभित्रै सक्ने मेनकाजीको विलक्षण बानी भएको प्रजापति बताउँछन् । ‘बरु म कतिचोटी विवादमा परे हुँला, लोभ गरे हुँला । तर अहँ, मेनकाजीले कहिल्यै त्यस्तो गरेनन् । साह्रै असल मान्छे थिए, मेनकाजी,’ प्रजापतिले मन खिन्न बनाए ।

मेनकाजीले कसैको आश गरेनन् । उनले जे गरे आफ्नै बलबुतामा गरे । परिवार धान्नका लागि सेन्ट मेरिज स्कुलमै होस्टेल सञ्चालन गरेका मेनकाजीले त्योसँगै अर्को एउटा स्कुल पनि चलाएका थिए । यद्यपि उनी लोक संस्कृति बचाउने अभियानमा सदैव लागिरहे । ‘पोखरालाई सांस्कृतिक राजधानी भन्नुपर्छ,’ भनेर उनले सधैं भन्दै आए ।

तर पछिल्लो समय मेनकाजी सन्तुष्ट थिएनन् । कारण, उनी सही उद्देश्यसहित लोकसंस्कृति बचाउने अभियानमा लागेपनि खास कतैबाट उनले सहयोग पाइरहेका थिएनन् । अझै लोक संस्कृतिकै क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थामा हुने गरेका राजनीतिले उनलाई खुब गिजोल्ने गरेको थियो । ‘दाइलाई राजनीतिक तिकडम गर्न कहिल्यै आएन । जसरी उहाँ समयको पंचुअल हुनुहुन्थ्यो त्यसरी नै हरेक काम खुरुखुरु हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । तर दाइले जुन पोजिसन पाउनुपर्ने हो राजनीतिक खिचातानीले गर्दा त्यो पाउनुभएन,’ अभिनेता तथा निर्देशक माओत्से गुरुङ भन्छन्, ‘खासगरी पछिल्लो पटकको गण्डकी प्रदेश र महानगरको प्रज्ञा प्रतिष्ठान गठनमा मेनकाजी दाइको विशेष गुनासो थियो ।’

Related News

सम्बन्धित समाचार

hero news full width