आगलागी पीडित परिवारको बिचल्ली

रासस
वैशाख २०, २०७८
fire

रोल्पा । यही वैशाख १३ देखि १६ गतेसम्म भएको भीषण आगलागीबाट घरसम्पत्ति गुमाएका त्रिवेणी र रुन्टीगढी गाउँपालिकाका ३७ घरपरिवार बिचल्लीमा परेका छन । आगलागीबाट घर गुमाई खुला आकाशमा बस्न बाध्य उनीहरुलाई केही दिनयता परेको अविरल वर्षाका कारण पीडा थपिएको छ ।

घरसँगै लत्ताकपडा, अन्नपात र नगद सबै जलेर नष्ट भएपछि सडकमा बस्न वाध्य उनीहरुलाई सामान्य राहत उपलब्ध भए पनि ओत लाग्ने घरको अभावले दिनचर्या जटिल बन्दै गएको छ ।नेपाल रेडक्रस सोेसाइटी रोल्पा, प्रतिनिधिसभा सदस्य वर्षमान पुन तथा प्रदेशसभा सदस्य दीपेन्द्र पुन र सम्बन्धित वडाका वडा कार्यालयले प्रतिपरिवार एकएक बोरा चामल उपलब्ध गराए पनि बास गुमाएका उनीहरुको दिनचर्या निकै कष्टकर देखिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो ।

नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल रोल्पाले आगलागी पीडित परिवारका १७० व्यक्तिका लागि रु दुई लाख बराबरको लत्ताकपडा वितरण गरेको छ । एमाले लुम्बिनी प्रदेश समितिका सचिवालय सदस्य ईश्वरी घर्तीका अनुसार आगलागी पीडितका मागका आधारमा युवा सङ्घले उक्त राहत हस्तान्तरण गरेको हो ।

विभिन्न व्यक्ति तथा संस्थाले दिएको राहतले बिहानसाँझको छाक टार्न सहज भए पनि ओत लाग्ने छानो नहुँदा उनीहरुको दैनिकी कष्टकर भएको नेतृ घर्तीले बताउनुभयो । वर्षात्को समय नजिकिँदै गएकाले उनीहरुलाई सुरक्षित बासका लागि पहल भइरहेको उहाँको भनाइ छ ।

बस्ती नजीकैबाट सल्किएको आगलागीबाट त्रिवेणी २, ३ र ६ का चेत्रे, धानवाङ, कापडाँडा, पिराले, बुर्तिवाङ तथा रुन्टीगढी ९ गुनामका ३७ घर र ११ गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट गोठमा बाँधिएका पशु समेत जलेर नष्ट भएका थिए । लामो समयको खडेरीसँगै लागेको आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीले प्रयास गरेका थिए । चार दिनसम्म लागेको आगो वर्षात् शुरु भएपछि भने नियन्त्रणमा आएको थियो ।

आगलागीबाट रोल्पामा हरेक वर्ष ठूलो मात्रामा धनजनको क्षति हुन्छ । भिरालो जमीन र सल्लाको वन भएका कारण जिल्लाका वन क्षेत्र आगलागीको उच्च जोखिममा छन् । रोल्पामा ४५ प्रतिशत सल्लाको र २२ प्रतिशत मिश्रित वन रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्राकृतिक र मानवीय कारणबाट आगलागी हुने गरे पनि यहाँ हुने शतप्रतिशत आगलागी मानवीय कारण हुने गरेको डिभिजन वन अधिकृत दधिलाल कँडेलले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • पुराना रुख काट्नेलाई कारबाहीको माग

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । माघ दोस्रो साता पोखराका विभिन्न टोलहरुमा सयौं वर्ष पुराना रुख र चौताराहरु नराम्ररी मुठारिए । टोल विकास संस्था…
  • कास्की पोखरा समाज जापानमा कमल

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । कास्की पोखरा समाज जापानको छैटौं अधिवेशनले कमल बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । टोकियोमा भएको अधिवेशनबाट…
  • कर्मयोगी भक्तराज सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । बगाले टोल विकास संस्थाले संस्थापक अध्यक्ष भक्तराज श्रेष्ठ र उनकी जीवनसंगीनी मोहनमाया श्रेष्ठलाई सम्मान गरेको छ । साथै…

hero news full width