रहेनन् समाजसेवी जयबहादुर

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
maj jay

पोखरा । तमु धिं नेपालस्थित तमु धिं सांस्कृतिक भवनदाता समाजसेवी जयबहादुर गुरुङको ८३ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनको आफ्नै निवास पोखरा ९ नयाँबजारमा निधन भएको हो ।

तमु धिं नेपालका संरक्षक गुरुङको केही समय अघि स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंमा उपचार गरी ल्याइएको थियो । ब्रेजो मेश्रो घान्द्रुक समाज पोखराका अनुसार उनकोे मंगलबार अपरान्ह ३ बजे शवयात्रासहित बौद्ध अर्घौ सदन रामघाटमा अन्त्येष्टि गरिनेछ ।

घान्द्रुक गाउँ भई पोखरा नयाँबजार निवासी उनी अत्यन्तै परिश्रमी, इमान्दार, अनुशासित, अन्तर्मुखी स्वभाव, कोमल मनका भएको तमु धिं कास्कीले जनाएको छ । स्व. गुरुङ गाउँको विकास, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, समाज भवनहरु, वृद्धाश्रम, मठमन्दिर, गुम्बा विकासका साथै दीन दुखीलाई सहयोग गर्ने स्वभावका थिए । गुरुङका श्रीमती रुपकुमारी गुरुङ, १ छोरा र १ छोरी छन् ।

यसैबीच तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले विज्ञप्ति जारी गरी संस्थाका संरक्षक, तमु धिं सांस्कृतिक भवनदाता समाजसेवी जयबहादुर गुरुङको निधनले तमु धिं नेपाललाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । तमु धिंले स्वर्गीय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दे शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width