पोखरासँग ठूला सहर जोड्दै बुद्ध एअर

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
buddha air

पोखरा । कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रमा अहिले बिस्तारै चहलपहल बढ्न थालेको छ । विदेशी पर्यटकको भर नभए पनि स्वदेशी पर्यटकहरु अहिले हिँडडुल गरेकै छन् । यात्रामा सडक अर्थात् गाडी प्रयोग गर्ने एकथरी पर्यटक छन् । अर्काथरी छन् हवाई मार्ग प्रयोग गर्नेहरु । उबडखाबड बाटो, गन्तव्यमा पुग्नै सकस मान्नेहरुले अहिले हवाई यात्रा रोज्ने गरेका छन् ।

यात्रुको यसै रोजाइलाई बुद्ध एअरले सदुपयोग गर्ने भएको छ । पोखरालाई मुख्य सहरसँग हवाई सम्पर्क गराउन बुद्ध एअर उडान गर्ने भएको हो । पोखराबाट नेपालगञ्जसहित ५ गन्तव्यमा मे १ देखि नियमित उडान भर्ने गरी बुद्धले तयारी थालेको हो ।

पोखरा–भैरहवा, पोखरा–सिमरा, पोखरा–नेपालगन्ज, पोखरा–विराटनगर र भरतपुर–भैरहवा उडान गर्ने बुद्ध एअरका निर्देशक रुपेश जोशीले बताए । हाल अधिकांश उडान काठमाडौंबाट देशका विभिन्न गन्तव्यमा गर्दै आएको बुद्धले अबदेखि काठमाडौंबाहिर पनि एक सहरबाट अर्को सहरमा पनि उडान गर्न लागेको उनले जानकारी दिए ।

यही मे १ देखि (वैशाख १८ गते) नयाँ गन्तव्यमा उडान सुरु गर्ने बुद्धले जानकारी दिएको छ । जोशीका अनुसार नयाँ गन्तव्यको उडान बिचक्राफ्टबाट हुनेछ । सुरुमा यी सबै गन्तव्यमा हप्ताको ३ उडान गर्ने र यात्रुको चाप बढ्दै गएपछि दैनिक उडान गर्ने एयरलाइन्सको योजना छ ।

यात्रुको माग बढ्दै गएर दैनिक उडान हुने अवस्था आएमा एटिआर–७२ जहाजबाट उडान गरिने बुद्धका एअरका निर्देशक जोशीले बताए । अहिलेसम्म काठमाडौंबाट हुने उडानमा मात्र धेरै ट्राफिक देखिएकाले आन्तरिक उडान गर्ने एयरलाइन्सले नयाँ उडान यही रुटमा थपिरहेका छन् ।

अहिले बुद्ध एअरले पोखरबाट भरतपुर र भैरहवा नियमित उडान भर्दै आएको छ । यी छोटा रुटका उडानमा कम्पनीले नाफा घाटाको हिसाब नगर्ने र अन्तको उडानबाट कभर गर्ने बुद्ध एअरका पोखरा कार्यालय प्रमुख गौतम बरालले बताए ।
उडानका हिसाबले फाइदा हुने पोखरा जोमसोम र लुक्लाको उडानका लागि सबै तयारी भए पनि कोरोनाको त्रासले जहाज ल्याउन नसकिएको कम्पनीले जनाएको छ । बुद्ध एअरले अहिले ७२ सिटे ९ वटा जहाजबाट उडान भर्दै आएको छ । ४७ सिटे जहाज र ३ र बिचक्राप्ट २ वटा जहाजले देशभर उडान गर्दै आएको निर्देशक जोशीले बताए ।

केही दिनमा अर्को जहाज थपिँदै छ । अहिले एअरलाइन्ले भाडा दर सस्तो गरेका कारण स्वदेशी यात्रुको संख्या ह्वात्तै बढेको छ । यात्रुको मागलाई ध्यानमा राख्दै पोखराबाट भद्रपुर र सुर्खेत पनि उडान भर्न सकिने कम्पनीले जनाएको छ ।
हालका लागि पोखरा सिमरा एकतर्फी भाडा कम्तीमा ४ हजार ३ सय रुपैयाँ राखिएको छ ।

नेपालगन्जको ४ हजार ५ सय, विराटनगरको ६ हजार, भैरहवाको ३ हजार १ सय भाडादर तोकिएको छ । पोखरा सिमरा उडान बुध, शुक्र र आइतबार हुनेछ । विराटनगर सोम, बिही र शनिबार र नेपालगन्ज बुध, शुक्र र आइतबार उडान गरिने एअरलाइन्सले जनाएको छ ।

नाट्टा पोखरा अध्यक्ष सञ्जयकान्त सिग्देलले बुद्ध एअरको यो कदमले पर्यटन व्यवसायीलाई ऊर्जा मिलेको बताउँछन् । उनले भने, ‘बुद्ध एअरको यो कार्यको हामी स्वागत गर्छौ, यसले पोखराको पर्यटनलाई ठूलो सहयोग पु¥याउँछ ।

Related News

सम्बन्धित समाचार

hero news full width