लोकदोहोरी प्रतिष्ठान गण्डकीद्वारा कलाकार र पत्रकारलाई बधाई

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७८
look git

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले कलाकार र पत्रकारलाई बधाईसहित सम्मान गरेको छ ।

नव वर्ष २०७८ सालको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान, बधाई तथा सम्मान कार्यक्रममा प्रतिष्ठानले पत्रकार महासंघ कास्कीका नवनिर्वाचित पदाधिकारी सँगै गण्डकी प्रदेशका पदाधिकारी र राष्ट्रिय परिषद सदस्यहरुलाई बधाई दिएको हो ।

उक्त अवसरमा प्रतिष्ठानले पोखरा महानगर प्रज्ञा प्रतिष्ठानका कुलपतिसँगै प्राज्ञ सदस्यहरुलाई समेत सम्मान गरेको छ । गुरुङ कलाकार संघ नेपालका केन्द्रीय अध्यक्ष शर्मिला गुरुङ र उपाध्यक्ष राजु गुरुङसमेत कार्यक्रमबाट सम्मानित भएका छन् । प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी नेपाल पत्रकार महासंघ लमजुङको उपाध्यक्ष पदमा निर्वाचित भएकोमा उनलाई समेत सम्मान गरियो ।

कार्यक्रमबाट भर्खरै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभूषित ‘गाउँ सहरमा लमजुङ दरबार’ गीतकी गायिका माया गुरुङलाई समेत प्रतिष्ठान बधाईसहित सम्मान गरियो ।

कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले २०७७ सालमा कोरोना महामारीका कारण भएका समस्याहरुलाई समाधान गर्दै २०७८ सालमा सकरात्मक सोचका साथ अगाडि बढ्न शुभकामना दिइन् । उनले सानैमा आफू गीतसंगीतमा रुची राख्ने भएता पनि साथ दिने कोही नभएर पछाडि पर्नुपरेको बताइन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले २०७७ साल कलाकारका लागि पीडादायक भए पनि २०७८ सालमा पीडा खेप्नुपर्ने स्थिति नहोस् भनी शुभकामना दिए । उनले कलाकारिता बाहिरबाट रंगीन देखिए पनि भित्र भने चोेट खेप्नुपरेको बताए ।

गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले राष्ट्रिय आकंक्षा ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभिभारा पूरा गर्न कलाकार र पत्रकार एकैसाथ भएर लाग्नुपर्ने विषयलाई जोड दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष विमला भण्डारीले २०७८ साल जीवनलाई प्रगतीपथमा लैजान महत्वपूर्ण वर्ष बन्न सकोस् भनि शुभकामना दिइन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले स्वागत गर्दै २०७८ मा सबैलाई सकरात्मक सोचका साथ अगाडि बढ्न शुभकामना दिए ।

उनले राज्यले कलाकारलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन नहुँदा समस्या खेप्नुपरेको औंल्याए । संगीत रोयल्टी, पारिश्रमिक र सेन्सर बोर्डका विषयमा समेत राज्य उदासिन बन्दा कलाकार र पत्रकारलाई समस्या परिररहेको भनाइ उनको थियो । तीनै तहका सरकारले कलाकार र पत्रकारका विषयमा सोच्नुपर्ने विषयलाई उनले उठान गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width