नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीमा लीलाराम गौतम

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७८
pustak byavasayi

म्याग्दी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका लीलाराम गौतम निर्वाचित भएका छन् । शनिबार साँझ म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट पोखराका जगदीश गौतमलाई पराजित गर्दै लीलाराम अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित लीलारामले ६९ मत र अर्का जगदीशले २७ ल्याएका थिए । मनाङ बाहेक प्रदेशका १० जिल्लाका प्रतिनिधि सहभागी अधिवेशनमा १ सय ६ जना मतदाता रहेकोमा कुल ९७ मत खसेको थियो । अन्य पदमा सहमति भए पनि अध्यक्षमा मतदान भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी म्याग्दीका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष देवकृष्ण काफ्ले, प्रथम उपाध्यक्ष रामचन्द्र नेपाल, सचिव कृष्ण पोख्रेल,कोषाध्यक्ष तारा घले, सहसचिव प्रदिप खनाल चयन भए । सदस्यमा छायाँदेवी लुइँटेल, धनबहादुर अधिकारी, थानेश्वर सुवेदी, जनक पन्त, सरस्वती भण्डारी, तीलकराम पौडेल चयन भए ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले अधिवेशनको उदघाटन गरेका थिए । अधिवेशनमा नवनिर्वाचित अध्यक्ष गौतमले गण्डकी प्रदेशभित्रका व्यवसायीको हितमा विभिन्न योजना सहित काम गर्ने प्रतिबद्धता जनाए । नवनिर्वाचित अध्यक्ष गौत म्याग्दी उद्योेग वाणिज्य संघका द्वितीय उपाध्यक्ष समेत हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width