‘सहकारीको प्रवद्र्धन गर्न ३ तहकै समन्वय जरुरी’

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७७
sahaakri syangja

स्याङ्जा । राष्ट्रिय सहकारी दिवसको अवसरमा स्थानीय तह र सहकारी अभियानबीच सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले स्याङ्जाको पुतलीबजारमा शुक्रबार अन्तरक्रिया भएको छ । सहकारीको अनुगमन, नियमन र प्रवद्र्धनका लागि स्थानीय सरकार र सहकारी अभियानबीच सहकार्य गरी अगाडि बढ्न कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् ।

जिल्ला सहकारी संघ स्याङ्जा, जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जा, राष्ट्रिय सहकारी बैंक पुतलीबजार शाखा र पुतली बजार नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीले जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि सरकार र सहकारीबीच समन्वय आवश्यक रहेको बताइन् । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले स्थानीय सरकार र सहकारीबीचको सहकार्य, नियमन तथा अनुगमन सम्बन्धमा सहजीकरण गरेका थिए । सहकारीको प्रवद्र्धनका लागि स्थानीय तह र सहकारी अभियानबीच सहकार्य र समन्वय आवश्यक रहेको भन्दै उहाँले सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए ।

कार्यक्रमको उद्देश्यका बारेमा जानकारी दिँदै जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले स्याङ्जाको सहकारी अभियानलाई प्रभावकारी बनाउन, सहकारीमार्फत उत्पादन बढाउन, सहकारीहरुलाई व्यवस्थित र उद्देश्यमूलक बनाउनका लागि शिक्षा, तालिमका साथै प्राविधिक ज्ञान आवश्यक रहेको बताए ।

स्याङ्जा शीतभण्डार सहकारीका अध्यक्ष अनन्तकुमार श्रेष्ठले सहकारीलाई व्यावसायिक रुपमा अगाडि बढाउनका लागि अभियान र स्थानीय सरकारबीचको सहकार्य र समन्वयमा जोड दिए ।

कार्यक्रममा स्याङ्जाका सबै पालिकाका सहकारी शाखाका प्रमुखहरु, जिल्ला तथा विषयगत सहकारी संघका पदाधिकारी तथा सदस्यहरु, सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि र प्रवन्धकहरु सहित १ सय जनाको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width