गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसनमा राजन गोंगजु

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७७
Petrolium News

पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसन अध्यक्षमा दोस्रो कार्यकालका लागि राजन गोंगजु चयन भएका छन् । शनिबार पोखरामा भएको संस्थाको १३ औं महाधिवेशन उपाध्यक्षमा मनबहादुर क्षेत्री, महासचिवमा मोहन सुवेदी, उपमहासचिवमा सुजन बराल र कोषाध्यक्षमा नवराज थापा निर्विरोध चयन भए । सदस्यमा विप्लव हमाल, सुमन श्रेष्ठ, रामबहादुर बसेल, सुनिल केसी र नवराज पौडेल चयन भए ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लागेकाले नेपालमा पुनः मूल्यवृद्धि हुन सक्ने संकेत गरेका छन् ।

निगमले फागुन ४ मा मात्रै डिजेल, पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो । उनले प्रतिलिटर १ रुपैयाँ मूल्य घट्दा निगमलाई दैनिक ८० लाख रुपैयाँ घाटा हुने उल्लेख गर्दै विश्वबजार र इन्डियन आयल कर्पोरेसनको मूल्य समायोजन आधारमा निगमले निर्धारण गर्ने बताए ।
कार्यकारी निर्देशक पौडेलले भारतबाट आएको इन्धन कम मूल्यमै उतै तस्करी हुने गरेको भन्दै सिमा क्षेत्रका पम्पलाई खरिद बिक्रीको लगत राख्न निर्देशन दिइएको उल्लेख गरे । उनले सीमा क्षेत्रमा जर्किनबाट समेत इन्धन तस्करी भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न कठिन भएको बताए ।

कार्यकारी निर्देशक पौडेलले पम्प सञ्चालन अनुमतिका लागि निवेदनको चाङ लागेको उल्लेख गर्दै अध्ययनबिना नयाँ पम्पलाई सञ्चालन अनुमति नदिइने स्पष्ट पारे । पेट्रोलियम पदार्थको गुणस्तरका लागि सरकारी निकाय वाणिज्य तथा नापतौल र निगमका विच नै सहकार्य हुन नसकेको उल्लेख गर्दै समन्वयको खाँचो रहेको औंल्याए ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका राष्ट्रिय अध्यक्ष लिलेन्द्र प्रधानले निगमको डिपोसँग खरिद गरेको परिमाण बिक्री गर्ने समयमा नपुग्ने उल्लेख गर्दै व्यवसायीहरुले घाटाको व्यापार गर्नु परेको बताए । उनले तापक्रम आधारमा हुने इन्धनको नोक्सानीको पूर्तिका लागि व्यवसायीको माग निगमले गम्भीरतापूर्वक नलिएको बताए । प्रधानले यान्त्रिक गडबढीका कारण हुने क्षतिले व्यवसायीले दुःख व्यहोर्नुपरेको भन्दै स्पष्ट मापदण्ड बनाउनु पर्नेमा जोड दिए ।

एसोसिएसन अध्यक्ष राजन गोगंजुको अध्यक्षतामा भएको कार्यक्रममा आयल निगम गगनगौंडा डिपो भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख मनोज ठाकुर, गगनगौंडा डिपो प्रमुख पुस्कर कार्की, नापतौल तथा गुणस्तर कार्यालय पोखराका प्रमुख तिलक केसी, संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार बिलबहादुर गुरुङ, गण्डकी ट्यांकर व्यवसायी संघका अध्यक्ष सुरेन्द्ररमण पराजुली लगायतले बोेलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width