गण्डकी । कोरोना भाइरसको महामारीका कारण देशका विभिन्न क्षेत्र प्रत्यक्ष प्रभावित भएजस्तै पोखराका धार्मिक पर्यटकीयस्थल पनि त्यसको प्रकोपबाट अछुतो रहन सकेका छैनन् । कोरोनाको कहरसँगै बन्द भएका पोखराका विन्ध्यवासिनी, तालबाराही, भद्रकालीलगायत मठमन्दिर अहिलेसम्म पनि खुल्न सकेका छैनन् ।
मन्दिरमा आउने भक्तजनले चढाउने भेटीघाटी तथा दान सहयोगबाट मन्दिरको दैनिक प्रशासनिक खर्च चलाउँदै आइएकोमा दर्शनार्थी नै नभएपछि उक्त नियमित खर्चसमेत जुटाउन धौधौ परेको छ । पोखरा आउने पर्यटकले यहाँका विन्ध्यवासिनी, तालबाराहीलगायतका धार्मिक तीर्थस्थल नपुगेसम्म पोखरा भ्रमणलाई अपुरो ठान्दछन् । देशका विभिन्न स्थानबाट आउने आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारतबाट आउने पर्यटक त अनिवार्यरूपमा विन्ध्यवासनी, तालबाराहीलगायतका मठमन्दिर पुग्ने गरेका छन् । लकडाउन यता हालसम्म मन्दिर नखुल्दा भक्तजनबाट विगतमा प्राप्त हुने गरेको दान तथा भेटीघाटी सङ्कलन नभएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
“अघिल्लो वर्षमा यस अवधिमा विन्ध्यवासनी मन्दिरमा करिब ३ करोड ५० लाख भेटीघाटी सङ्कलन भएको थियो”, उनले भने, “यस वर्ष त चैतदेखि नै बन्दाबन्दी शुरु भएयता मन्दिरमा पूजाआजामा रोक लगाइएका कारण भेटीघाटी तथा दान सहयोग प्राप्त हुने कुरै भएन ।” दर्शनार्थीका लागि मन्दिर खुला नभए पनि मन्दिरमा बिहान बेलुका नियमित पूजाआजा भने सञ्चालन भइरहेको छ । लामो समयदेखि मन्दिर बन्द भएपछि भक्तजन तथा विभिन्न स्थानबाट आएका दर्शनार्थीले पूजाआजा गर्न पाउनुपर्ने माग गर्दै आएको अवस्थामा समितिले सुरक्षा मापदण्ड अपनाएर मन्दिरमा पूजाआजा गराउन पहल गरेको थियो ।
समितिको पहलमा असोज २२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सुरक्षा मापदण्डसहित मन्दिर खोल्ने निर्णय गरिए पनि प्रशासनबाट उक्त निर्णयको कार्यान्वयनमा रोक लगाइएको सचिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त निर्णयमा एकपटकमा २५ जनालाई मात्र मन्दिर परिसरमा प्रवेश गराउँदै सामाजिक दूरी, मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोगलगायतका कुरालाई समेटिएको थियो । कोरोना कहरसँगै मन्दिरको आम्दानी घटेपछि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले यसअघि रहेका ५५ कर्मचारी कटाएर १५ जना कायम गरेको छ । मन्दिरमा कोरोना कहरअघि दैनिक बढीमा ३/४ हजार जनासम्म दर्शनार्थी आउने गर्दथे ।
विशेषतः आश्विन शुक्ल पक्ष, चैत्र शुक्ल पक्ष, नयाँ वर्ष र महत्वपूर्ण तिथि एवं पर्वका बेला यहाँ दर्शनार्थीको भीड लाग्ने गर्दछ ।
कोरोनाको कहरले भद्रकाली मन्दिरमा पनि प्रभाव पारेको छ । लकडाउन शुरु भएयता हालसम्म दर्शनार्थीका लागि मन्दिर खुला नगरिएको श्रीगणेश तथा भद्रकाली मन्दिर सेवा समितिका सचिव योगेन्द्रमान श्रेष्ठले जानकारी दिए । मन्दिरमा दर्शनार्थी नआएपछि विगतका वर्षमा हुने आम्दानी नहुँदा दैनिक प्रशासनिक खर्च जुटाउन पनि हम्मेहम्मे परेको उनले बताए । अघिल्लो वर्षमा यस अवधिमा लगभग १५ लाख दान तथा सहयोग प्राप्त भएको उनले बताए । भद्रकाली मन्दिर आजभन्दा झण्डै २ सय वर्ष पुरानो हो ।
तालबारही मन्दिर पनि कोरोना कहरका कारण लकडाउन यता खुल्न नसकेको तालबारही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । मन्दिरको दानपेटिकामा नियमित रूपमा सङ्कलित रकमका साथै कोजाग्रत पूर्णिमा तथा नयाँ वर्षका दिन राम्रै दान सहयोग प्राप्त हुने गरेको थियो । प्राप्त दान तथा सहयोगले दैनिक प्रशासन सञ्चालनमा सहजता ल्याउने गरेको उनले बताए । मन्दिर नखुले पछि यहाँका डुङ्गा व्यवसायी पनि प्रत्यक्ष मारमा परेका छन् । माछापुच्छ्रे हिमालको छायाँ देखिने तालको बीचमा रहेको सानो टापूमाथि प्यागोडा शैलीको कलात्मक मन्दिर अवस्थित छ र यसलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रूपमा पुजिँदै आइएको छ । तालको बीचमा रहेका कारण तालबाराही हुन गएको सहजै अनुमान गर्न सकिने यो मन्दिर कसले र कहिले निर्माण गरेका हुन् भन्ने यकिन तथ्य भने अझै अनुसन्धानकै पर्खाइमा छ ।
फेवाताल बीचमा रहेको तालबाराही मन्दिरको दर्शन गर्न वर्षभरि नै दर्शनार्थी आउने गर्दछन् । यी धार्मिकस्थलका साथै पोखराको गुप्तेश्वर महादेव गुफा, पुम्दिकोटका साथै लेखनाथ क्षेत्रमा रहेका ऐतिहासिक धार्मिक पर्यटकीयस्थल ठूलाकोट, कोटभैरव, नर्मदेश्वर मोक्षाश्रमधामलगायतका धार्मिकस्थलमा पनि कोरोनाले केही न केही प्रभाव पारिरहेको छ ।
Related News
सम्बन्धित समाचार
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१