कफीको न्युनतम मूल्य तोकियो

आदर्श समाज सम्वाददाता
मंसिर १, २०७७
IMG-5460

पाेखरा । राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट यस आर्थिक वर्षको मंसिर १ बाट लागू हुने गरि न्युनतम मूल्य कायम गरेकाे छ । कृषकले उत्पादन गर्दा लाग्ने लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको छ ।

यस वर्षको राष्ट्रिय कफी दिवसको नारा “कफी विस्तारमा उन्नति, आर्थिक प्रगति ” रहेको छ ।

१. यस वर्ष कृषकबाट उत्पादित ताजा फल (फ्रेश चेरी) को प्रति केजी मूल्य A ग्रेडको रु. ९० कायम गरिएको छ जुन प्रांगारिक पद्दतिबाट उत्पादन गरिएको, ठिक्क पाकेको पानीमा राख्दा डुब्ने, केलाएर राखिएको हुनुपर्ने छ । गत वर्ष भन्दा यस बर्ष प्रति केजी मूल्यमा रु. ५ बढेको हो । त्यस्तै B ग्रेडको कफीको प्रति केजी मूल्य रु. ८० कायम गरिएको छ जुन A मा नपरेको अन्य कफीलाई B मा राखिएको छ ।

२. चिसो प्रसोधन विधि अन्तर्गत तयार गरिएको ११५ चिस्यान भएको पार्चमेन्ट कफीको ब् ग्रेडको मूल्य रु. ४५० कायम गरिएको छ जुन गत वर्ष भन्दा प्रति केजीमा रु. २५ बढेको हो भने B ग्रेड मा परेका ताजा फलवाट तयार गरिएको B ग्रेड पार्चमेन्ट कफीको मूल्य रु. ३९७ कायम गरिएको छ ।

३. त्यस्तै चिसो प्रसोधन विधिबाट १२ देखि २४ घण्टा भित्र प्रसोधन गर्न नसकिएको कफी चेरीलाइ घाम वा अन्य माध्यमबाट सुकाएर ११ प्रतिशत चिस्यान भएको ड्राइ चेरी कफीको A ग्रेडको मूल्य रु. १४८ र B ग्रेड कफीको मूल्य रु. ९५ कायम गरिएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्युनतम मूल्य कायम गरे पनि कृषकहरुले भने स्थान विशेष अनुसार ताजा फलको प्रति केजी मूल्य रु. १०० भन्दा बढी पाउदै आएका छन् भने पार्चमेन्टको प्रति केजी मूल्य रु.५०० भन्दा बढी मूल्य पाउदै आएका छन् ।

विगतका वर्षहरूमा कफीको तथ्याङ्क बढे पनि गत वर्ष जलवायु प्रतिकूलताका कारण, कफीको गबारो, सिन्दुरे रोग लगायत अन्य कारणबाट विस्थापित भएको कफी बगानको क्षेत्रफल कटौती गरी यस वर्ष तथ्याङ्क समायोजन गरिने भएकाले कफीको तथ्याङ्क तथा क्षेत्रफलमा ५० प्रतिशत गिरावट आउने सक्ने प्रक्षेपण गरिएको छ । कोरोना महामारीका कारण केहि स्थानीय पालिकाबाट तथ्यांकहरु पूर्ण रुपमा आइसकेको छैन ।

मात्रात्मक रूपमा थोरै उत्पादन भए पनि नेपाली कफीले गुणस्तरका सन्दर्भमा नेपाललाइ चिनाउन थालिसकेको छ। खासगरी भूमध्य रेखीय क्षेत्रमा बढी मात्रामा खेति गरिने कफी भूमध्य रेखीय क्षेत्र भन्दा टाढा रहेको नेपाल जस्ता देशहरुमा पनि खेति हुदै आएको छ । नेपाल जस्तो उच्च भौगोलिक क्षेत्र रहेको स्थानमा खेति गर्दा कफीको गुणस्तर राम्रो हुने, कफीको स्वाद, बास्ना तथा सन्तुलित गुण हुने हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग उच्च हुनुको साथै मूल्य पनि अन्य देशको भन्दा उच्च रहेको छ।

बोर्ड पोखराको सेमी हाइटेक नर्सरीमा कफी विरुवा

खासगरी नेपालमा साना कफी कृषक र सहकारी ब्यबस्थापनबाट अर्गानिक पद्दति अपनाई छहारी भित्र कफी खेति गरिने हुनाले बिश्व बजारमा विशिष्ट कफी अर्थात स्पेशियालिटि कफीको रुपमा परिचित हुदै आएको छ । नेपालका ४३ जिल्लामा कफी खेति विस्तार भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा गरि नेपालमा करिब १४,००० मे.टन कफीको माग हुदै आएको छ ।

एक दसक अघि कुलिन वर्गको मात्र पेय पदार्थको रूपमा लिइने कफी आज हरेक भान्साको शाेभा बनिसकेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धि भएको देखिन्छ । तर माग अनुसार आपुर्ती नहुँदा विगत केही वर्ष कफीको आयात बढेको र निर्यात घटेको तथ्याङ्कले देखाउँछ ।

साथै, भन्सार विभागको आव २०७६/७७ को तथ्याङ्क अनुसार ११ करोड ८८ लाख बराबरको २६६ मे.टन कफी नेपालमा आयात हुँदा ५ करोड ७७ लाख रूपैयाँ बराबरको ४६.८९ मे.टन मात्रै कफी निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

नेपाली बजारमा कफीको मागमा उच्च वृद्धि हुँदा उत्पादन बढ्न नसके पछि कफीको आयात बढेको र निर्यात घटेको आँकलन गर्न सकिन्छ । कफीको आन्तरिक माग पुरा गर्नका लागि पनि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नु पर्ने देखिन्छ ।

यस वर्ष कफी दिवसकाे मूल समाराेह आयोजना नगरिने

प्रत्येक वर्ष राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट मंसिर १ गते राष्ट्रिय कफी दिवसको दिन सार्वजनिक गरिदै आएकोमा राष्ट्रिय कफी दिवसको १६ औँ संस्करण यही मंसिर १ गते भाइटिकाको दिन पर्न गएको र कोरोना महामारीका कारण नेपाली जनजीवन सामान्य रूपमा अझै पनि फर्किनसकेकाले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस वर्ष कफी दिवसको मूल समारोह आयोजना नगर्ने भएको छ ।

यद्यपी कफी कृषक, सहकारी, उद्योग कफी क्याफे, कफी पारखी र कफीसँग सरोकार राख्ने सबै सरोकारवालाहरूलाई १६ औँ राष्ट्रिय कफी दिवस यथास्थानमा मनाउन बोर्डले अपिल गरेकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width