सुरक्षा पालुवा सहकारीको साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७७
surakshya

पोखरा ।  पोखरा–३३ स्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा शनिबारदेखि सुरु भएको छ ।

कालिकास्थानमा प्रधानकार्यालय रही विभिन्न पाँचवटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सहकारीले कोरोना महामारीको जोखिम दृष्टिगत गर्दै सप्ताहव्यापी रुपमा साधारणसभा गर्न लागेको हो ।

कार्यक्रमको वडाध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गर्दै शेयर सदस्यको आर्थिक समृद्धिका लागि उत्पादनमा जोडिने किसिमका कार्यक्रम ल्याउन आग्रह गरे । सहकारीप्रतिको जनविश्वास कायम गर्न आर्थिक अनुशासनको पनि उत्तिकै आवश्यकता हुने औंल्याउँदै उनले आर्थिक अनुशासनका पद्धति विकास गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिकामा रहेका सहकारीलाई उत्पादनसँगै पर्यावरणीय संरक्षणमा समेत जोड्ने लक्ष्य रहेको बताउँदै उनले त्यसका लागि वडातर्फबाट पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले सहकारीलाई यस अवस्थासम्म ल्याइपुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै शेयर सदस्यहरूको विश्वास आगामी दिनमा अझै बलियो बनाउने गरी क्रियाशील हुने बताए । कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा सजगता लगायतका कुरा दृष्टिगत गर्दै साधारसभाका कार्यक्रम सप्ताहव्यापी रुपमा सेवा केन्द्रहरू मार्फत गर्न लागिएको उनले जानकारी दिए ।

सहकारीका सल्लाहकारद्वय केशरप्रसाद निदोर्षी र यज्ञप्रसाद अधिकारी (ठूला)ले शेयर सदस्यको विश्वास जित्ने गरी थप रचनात्मक कार्यक्रम सहित कृयाशिल बन्न आग्रह गरे ।

संस्थाका सचिव यज्ञप्रसाद आचार्यद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष माधवप्रसाद कंडेलले स्वागत र शिक्षा समिति संयोजक निर्मल आचार्यले सहकारीका सिद्धान्त वाचन गरेका थिए ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद अधिकारीका अनुसार २ हजार १ सय ९ जना शेयर सदस्य रहेको सहकारीले ६५ करोड ३७ लाख ५५ हजार रुपैयाँको कारोबार गरेको छ ।

सहकारीले प्रधानकार्यालय कालिकास्थानसहित पोखरा–३३ कै लामगादी र पुँडीटार, पोखरा–८ न्यूरोड एवम् पोखरा–२९ भण्डारढिक र पुलचोकस्थित सेवा केन्द्रहरूबाट सेवा प्रवाह भइरहेको उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width