उत्पादन र उपभोक्तालाई जोड्दै युवा

रासस
जेठ १, २०७७
unnamed

वासुदेव पौडेल –पोखरा, १ जेठ । कोरोना भाइरसले अर्थतन्त्रलाई जोखिममा पारेको अवस्थामा यहाँका युवा भने रोजगारी सिर्जनासँगै उत्पादन र उपभोक्ता जोड्ने अभियानमा जुटेका छन् ।

विभिन्न सेवा, पेशा र व्यवसायमा आवद्ध पाँच युवाले कृषिको आधुनिकीकरणका माध्यमबाट पशुपालनसहित प्राङ्गारिक तरकारी तथा फलफूल आदिको उत्पादनलाई जोड दिने गरी जलजा मल्टी एग्रो कम्पनी प्रालि सञ्चालनमा ल्याएका हुन् । पोखरा महानगरपालिका–३३ स्थित शहरे तहरामा करिब ५० रोपनी जग्गामा पशुपालनसहित प्राङ्गारिक तरकारी तथा फलफूल खेती सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष तथा व्यवस्थापक गोविन्द गौतमले जानकारी दिए । संस्थामा उनीसहित देवीलाल शर्मा तिमल्सिना, दुर्गा न्यौपाने, शोभाखर भण्डारी र सुमन गौतम आवद्ध छन् ।

कोरोना भाइरसको जोखिममा कारण स्वदेश तथा विदेशमा नेपालीले रोजगारी गुमाइरहेका विद्यमान अवस्थामा केही युवाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका साथै उत्पादन र उपभोक्तालाई सिधा जोड्दै आयआर्जन गर्ने लक्ष्यका साथ संस्था सञ्चालन गरिएको अध्यक्ष गौतमले बताए । “आफूहरूको क्रियाशीलता स्वदेश तथा विदेशमा रोजगारी गुमेका युवाका लागि पनि अनुकरणीय बनोस् भन्ने हाम्रो चाहना हो”, उनले भने, “महामारीले विशेषतः नेपाली मारमा परेका त छन् नै यसबाट पाठ सिक्दै श्रम सीपको उपयोग स्वदेशमै गर्नुपर्छ भन्ने भावना प्रत्येकमा आउनु जरुरी छ ।”

अघिल्लो वर्ष मङ्सिरदेखि औपचारिक दर्ता भइ सञ्चालनमा आएको संस्थाले भँैसीपालनसँगै बङ्गुर, कुखुरा तथा माछापालनका लागि प्रारम्भिकरूपमा आवश्यक भौतिक पूर्वाधार तयार गरिसकेको छ । चैतको दोस्रो सातामा नै ४० भैँसी, ५० बङ्गुर र दुई हजार ५०० कुखुराबाट व्यवसायको औपचारिक थालनी गर्ने सोच राखिएकामा कोरोना भाइरसको महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीले उक्त योजना प्रभावित भएको उनले जानकारी दिए ।

आगामी पाँच वर्ष्भित्र रु चार करोडको लगानीमा २०० तथा भैँसी, १०० बङ्गुर, पाँच हजार ब्रोइलर, दुई हजार लेयर्स कुखुराका साथै १५० सङ्ख्यामा बाख्रापालन गर्ने सोच राखिएको छ । त्यस्तै माछापालनका साथै प्राङ्गारिक तरकारी तथा फलफूल उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस अवधिभित्रै डेरी तथा दाना उद्योग पनि सञ्चालन गर्ने संस्थाको योजना छ । संस्थाले पशुपालनसँगै उत्पादित मल कृषिजन्य उत्पादनमा उपयोग गर्दै प्राङ्गारिक उत्पादन गर्ने गरी एकअर्कोलाई जोड्ने लक्ष्य राखेको उनले बताए । संस्थाले काम शुरु गरेसँगै प्रारम्भिक चरणमा नै छ÷सात जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन् । अध्यक्ष गौतमका अनुसार संस्थाले गरेका उत्पादन सुपथ मूल्यमा सिधैँ उपभोक्ताले पाउने गरी भविष्यमा ठाउँ–ठाउँमा सेवा केन्द्र राखेर बिक्री वितरण गरिने छ ।

बहुउद्देश्यीय व्यवसायसँगै आयआर्जन गर्ने र अन्य युवालाई रोजगारीका साथै उपभोक्तालाई सुपथ मूल्यमा दूध, मासु, फलफूल तथा तरकारी उपलब्ध गराउने आफूहरूको प्रयास अन्यका लागि पनि अनुकरणीय बन्ने विश्वास लिइएको संस्थाका सदस्य देवीलाल शर्मा तिमल्सिनाले बताए । “बिचौलियाका कारण उत्पादक र उपभोक्ताबीचको दूरीसमेत टाढा बन्दै गएको अवस्थामा उत्पादनलाई सिधैँ उपभोक्तासमक्ष पु¥याउनु पनि हाम्रो लक्ष्य हो”, उनले भने । उत्पादक र उपभोक्ताबीचको दूरी कम गर्न सके मात्रै पनि दुवै पक्ष लाभान्वित बन्ने विश्वास लिइएको संस्थाका सचिव दुर्गा न्यौपानेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width