एडिबीद्वारा स्वास्थ्य सामग्री र सहुलियतपूर्ण ऋण बजेट सहयोग

रासस
वैशाख १८, २०७७
ADB asian development Bank

एशियाली विकास बैंक(एडिबी)ले तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री र २५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायता उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावाबीच कोभिड–१९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोगबारे आज भएको टेलिफोन वार्तामा बैंकले त्यस्तो जानकारी दिएको हो । वार्तामा अर्थमन्त्री र बैंकका अध्यक्षबीच कोभिड–१९ ले अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बंैकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्न सक्ने थप सहयोगका विषयमा छलफल भएको थियो ।

अर्थमन्त्रीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो सङ्क्रमण हुन नपाएको जानकारी गराउँदै कोरोना महामारीको असरलाई सम्बोधन गर्न बैंकले अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्रीहरु र २५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्रदान गर्न लागेकामा आभार व्यक्त गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्री खतिवडाले एशियाली विकास बैंक नेपालको मुख्य विकास साझेदार रहेको बताउँदै बैंकले ऊर्जा, यातायात, खानेपानी र शहरी विकासलगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्नुभयो । नेपालले अङ्गिकार गरेको सङ्घीय प्रणालीको प्रतिफल आम नागरिकले पाउन सक्ने तुल्याउनका लागि सङ्घीय संरचनाका सबै संस्थाहरु बलियो बनाउनुका अतिरिक्त स्थानीय पूर्वाधार विकासमा लगानी बढाउनु पर्ने कुरामा समेत अर्थमन्त्रीले जोड दिनुभयो । उहाँले स्थानीय तहहरुबीच अन्तरआवद्धता बढाउन चाहिने पूर्वाधार विकासमा बैंकबाट थप सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कोभिड–१९ बाट स्वास्थ्य सेवामा सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी रहनुपर्ने तथ्य उजागर भएको बताउँदै आगामी दिनमा नेपालको स्वास्थ्य पूर्वाधार विकासमा बैंकको थप सहयोगको अपेक्षा गर्नुभयो । उहाँले कोरोना सङ्क्रमणबाट वैदेशिक रोजगारीका अवसरहरु खुम्चिदै जाँदा युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आधुनिक एवम् व्यावसायिक कृषि र स्थानीय पूर्वाधार एवम् ग्रामीण वित्त व्यवस्था विस्तारमा लगानी गर्नुपर्ने आवश्यकता रहेकाले यी क्षेत्रमा सहायता बढाउन एशियाली विकास बैंकलाई आग्रह गर्नुभयो ।

अध्यक्ष आसाकावाले कोभिड–१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै कोभिड–१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवम् निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैंकले सहयोगलाई बढोत्तरी गर्दै जाने बताउँदै आगामी दिनमा बैंकले ऊर्जा, यातायात, नागरिक उड्डयन, सङ्घीयतामा सेवाप्रवाहजस्ता क्षेत्रमा थप लगानी गर्ने बारेमा पनि जानकारी गराउनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width