नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

आदर्श समाज सम्वाददाता
वैशाख १, २०८१
mahayagya

पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ ।

वैशाख १ देखि १० सम्म सञ्चालन हुने महायज्ञमा हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले कथा वाचन गर्ने छन् ।

महायज्ञको पूर्वसध्यामा पहिलो दिन देवघाटमा महास्नान गरिने छ । भोलिपल्ट २ वैशाखमा अनन्त श्रीविभूषित महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराजको प्रमुख आतिथ्यमा धार्मिक एवं राजनीतिक प्रवुद्ध व्यक्तिको सहभागितामा बगरस्थित गाईघाटबाट शुक्लागण्डकीको पवित्र जल पूर्ण कलश, पञ्चकन्या, पञ्चैबाजा, भाँकीसहितका कलशयात्राद्वारा बजार परिक्रमा गरी प्रदर्शनी केन्द्र पुग्ने कार्यक्रम छ ।

शुक्रबार पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समिति अध्यक्ष लक्ष्मण पौडेलले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाए । पितृमुक्ति वा सद्गतिको कामना लिएर घरघरमा सप्ताह लगाउने हाम्रो मौलिक परम्परा रहेको उल्लेख गर्दै विशेष कारणद्वारा घरमा सप्ताह यज्ञ अनुष्ठान गर्न असहज परिस्थिति भएका श्रद्धालु भक्तजनको भावना मर्मलाई समेटेर महायज्ञमा योग, ध्यान, पूजाअर्चना, भक्ति, ज्ञानका साधना हुने आयोजकले जनायो ।

महायज्ञको आत्मानन्द गिरीजी महाराजले कथा वाचन गर्नेछन्

अनन्तश्री विभूषित स्वामी आत्मानन्द गिरीजी महाराजले राज्यले विभिन्न शीर्षकमा अभिमुखीकरण र सशक्तीकरण नाममा बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गर्दै आए पनि धर्म संस्कार, संस्कृति र मौलिक परम्पराको विषयमा राज्यले चासो नदिएका कारण सन्त, महात्मा, सन्यासीहरु यसतर्फ लाग्नुपरेको बताए । मनुष्य जन्म दुर्लभ भए पनि मानिसले ज्ञानपान गर्न नसकेका कारण समाज सही दिशातर्फ उन्मुख नभएको उनको भनाइ छ ।

केदारेश्वर महादेवमणि सेवाश्रम समितिका पीठाधीश डा. चिद्धन चैतन्यले महायज्ञ आर्थिक दृष्टिले भन्दा पनि भागवत्को मूल मर्म आमनागरिकलाई बुझाउने उद्देश्यले आयोजना गरिएको बताए । महायज्ञका आ–आफ्नै नीति नियम हुने भएको हुँदा यो ज्ञान महायज्ञ साँच्चिकै ज्ञानमय, ध्यानमय हुनेमा उनको दाबी छ ।

महायज्ञ सम्पादन समिति महासचिव सूर्यभक्त सिग्देलका अनुसार महायज्ञमा श्रीमद्भागवत् पाठपारायण, ब्रह्मगायत्रीद्वारा लक्ष्यहवन, लघुरुद्राभिषेक, सप्तशती पाठपारायण, वेद पाठपारायण, गीता विष्णुसहस्रनाम स्तोत्र पाठपारायण तथा पञ्चदेवोपासना र अन्य अनुष्ठान हुनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width