‘आम सञ्चार विधेयक पत्रकार र सञ्चार गृहको हितमा’

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०८०
City 1 Photo

पोखरा । गण्डकी प्रदेशका सांसद् तथा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले टेलिभिजनलगायत सन्चारगृह अहिले कठिन परिस्थितिको सामना गरिरहेको बताए । उनले प्रदेश आम सञ्चार विधेयकले श्रमजीवी पत्रकार र सञ्चारगृहको हकहित र कल्याणमा काम गर्ने बताए । साथै उनले सञ्चारगृहले पनि सामाजिक उत्तरदायित्वलाई पनि ध्यान दिनुपर्ने बताए । सिटीवान टेलिभिजनले नववर्ष–२०८१ सालको क्यालेन्डर सार्वजनिक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । टेलिभिजनले गण्डकी प्रदेशका सबै स्थानीय निकाय, सरकारी कार्यालय र व्यावसायिक प्रतिष्ठानमा टेलिभिजनको क्यालेन्डर पुर्‍याउने लक्ष्य राखेको छ ।

कार्यक्रममा नेकपा एमाले गण्डकीका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले व्यावसायिक हिसाबमा २०८१ साल तुलनात्मक रुपमा कम जोखिमपूर्ण रहेको बताए । साथै उनले राजनीतिक स्थिरता हासिल गर्न नसक्दा देशले समृद्धि हासिल गर्न नसकेको बताए ।

नेकपा माओवादी गण्डकीका प्रमुख सचेतक कुसुम बुढा पुनले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै टेलिभिजनले समाजको बितृष्णा र पिछडिएकाको आवाजलाइ बुलन्द गर्नुपर्ने बताइन् ।

कार्यक्रमको समापन गर्दै सिटीवान टेलिभिजनका अध्यक्ष पवन प्रजापतिले सिटीवान टेलिभिजनले पोखराको पर्यटकीय गतिविधिका साथमा शिक्षा स्वास्थ्य र संस्कृतिलाई निरन्तर उजागर गर्दै आएको बताए ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले शुभकामना व्यक्त गर्दै चुनौतीपूर्ण समयमा पनि मिडियाहाउस सञ्चालन गर्नु प्रशंसनीय कार्य रहेको बताए । उनले व्यवसायी अहिलेको समयमा खुलेर हाँस्न सक्ने अवस्थामा नरहेको बताए ।

होटल संघ पोखराका अध्यक्ष लक्षण सुवेदीले शुभकामना मन्तव्य राख्दै नव वर्षको अवसरमा पोखराका होटल व्यवसायीले छुटको व्यवस्था गरेको जानकारी गराए । उनले वैशाख १ गते पोखरामा आयोजना हुने फेवा नववर्ष महोत्सवको अनलोकन गर्न आग्रह गरे ।

नेकपा एमाले कास्कीका अध्यक्ष भेषराज बरालले क्यालेन्डर बनाउने मात्र होइन क्यालेन्डरअनुसार चल्न सक्नुपर्ने बताए ।

नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवरले बिकासभन्दा मानवविकास महत्वपूर्ण रहेको बताए ।

गण्डकि प्रदेशमा सञलित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीहरू उपस्थित कार्यक्रममा टेलिभिजनका उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन समिति संयोजक चिनु गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम सञ्चालन टेलिभिजकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width