सक्नेरीमा खुला भजन चुट्का प्रतियोगिता हुने

आदर्श समाज सम्वाददाता
फागुन १२, २०८०
Bhajan chutka pratiyogita

लेखनाथ । पोखरा २६ सक्नेरीमा खुला भजन चुट्का प्रतियोगिता हुने भएको छ । मौलिक संस्कृतिको जगेर्ना तथा उत्थानका लागि स्थानीय लोक सांस्कृतिक संरक्षण समिति र उज्ज्वल आमा समूहले महाशिवरात्रिको पूर्वसन्ध्यामा फागुन १९ गते प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

शुक्रबार आयोजित पत्रकार भेटघाटमा लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सिनाले मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै अहिलेको पुस्तालाई पनि त्यसमा सहभागी गराउनको लागि प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार, द्वितीय हुने समूहलाई १५ हजार, तृतीय हुने समूहलाई १० हजार र सान्त्वना हुने समूहलाई ५ हजार र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

उज्ज्वल आमा समूहकी अध्यक्ष सरस्वती गौतमले प्रतियोगिताको आयोजनाबाट ५ लाख ५५ हजार आम्दानी हुने ३ लाख ७० हजार खर्च भई १ लाख ८५ हजार बचत हुने अनुमान गरिएको बताइन् । बचत रकमलाई ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम एवं विभिन्न संस्कृतिको संरक्षण तथा संवद्र्धनमा खर्च गरिने पनि उनले जानकारी दिइन् ।

प्रतियोगिता निर्णायकमा लोकदोहोरी कलाकारहरू प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी र शिवहरि ढुंगाना रहने आयोजकले जनाएको छ ।

लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उज्ज्वल आमा समूहकी अध्यक्ष सरस्वती गौतमले स्वागत, सचिव तारा शर्मा र धन्यवाद ज्ञापन उपाध्यक्ष शारदादेवी बरालले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width