हिसान स्पोर्टस् मिटमा तेस्रो दिनका खेल कसले जिते ?

आदर्श समाज सम्वाददाता
पौष ८, २०७९
HISAN NEWS 08 POUSH

पोखरा। हिसान कास्की आयोजनामा १५ औें हिसान स्पोर्टस मिटअन्तर्गत शुक्रबार विभिन्न खेल भए । स्पोर्टस् मिटअन्तर्गत छात्रछात्रा भलिबल, बास्केटबल, टेबलटेनिस र व्याडमिन्टनका खेल जारी रहेको हिसान कास्की अध्यक्ष यामबहादुर रोक्काले जानकारी दिए ।

भलिबल
प्लस टुतर्फ छात्रछात्रा भलिबलमा दोस्रो चरणका खेल जारी रहेको प्रतियोगिता संयोजक किरण सापकोटाले जनाए । शुक्रबार छात्रतर्फ ८ र छात्रातर्फ ६ खेल गरी १४ खेल भएका हुन् ।
प्लस टु छात्र भलिबलमा सगरमाथाले सबलाइमलाई, केफले पोखरा युनाइटेडलाई, स्पाइरल ग्यालेक्सीले डायमण्डलाई, सगरमाथाले हिल पोइन्टलाई, सिर्जनाले बालप्रभातलाई, युनिभर्सले वेष्ट पोइन्टलाई, पश्चिमाञ्चलले टप्सलाई, प्रतिभाले हाभर्डलाई पराजित गर्न सफल भए ।
छात्रातर्फ गुरुकुलले माउन्ट अन्नपूर्णलाई, हिल पोइन्टले गोरखा माविलाई, पश्चिमाञ्चलले भाष्करलाई, केफले पोखरा युनाइटेडलाई, न्यू मोडलले रत्नज्योतिलाई, मदरल्याण्डले त्रिवेणीलाई पराजित गरेका छन् ।

बास्केटबल
प्लस टु छात्रछात्रा बास्केटबलमा छात्रतर्फ न्यु ग्यालेक्सीले हाभर्डलाई ६४–१२ को भारी स्कोरले पराजित गरेको छ । स्टेप बाई स्टेपले सबलाइमलाई २६–१०, बालोदयले रत्नज्योतिलाई २०–३, सगरमाथाले सरस्वतीलाई ३५–१४, हिल पोइन्टले गोरखालाई ३०–१२, लिटिल स्टेपले शिशु निकेतनलाई २३–१३ ले पराजित गरे । न्यु ग्यालेक्सीले आफ्नो दोस्रो खेलमा स्टेप बाई स्टेपलाई ६३–५ को स्कोरले पराजित गर्दा बालकल्याणले बालोदयलाई ५७–७ ले हरायो ।
विश्वविद्यालय छात्रतर्फ लेकसिटीले इन्फरमेटिक्सलाई २६–२२, पिसिएमले लाग्राण्डीलाई ३५–१०, लेकसिटीले पेकलाई ४९–२०, पोखरा लिंकनले पिसिएमलाई ४०–२४ ले पराजित गर्दा छात्रातर्फ पिसिएमले लेकसिटीलाई १४–५, पेकले इन्फरमेटिक्सलाई १४–० र पोखरा लिंकनले पिसिएमलाई २८–१० को स्कोरले पराजित गरेको छ ।

टेबलटेनिस
प्लस टु छात्र डबल्सतर्फ टेबलटेनिस फाइनलमा ग्लोबलका विपीन श्रेष्ठ र स्वर्णीम गुरुङको जोडी प्रथम भयो । टप्स माविका क्षितिज गुरुङ र मुकेश थापाको जोडी दोस्रो भयो । यस्तै, सिर्जनाका प्रवेश बानियाँ र मिलन खड्काको जोडी र प्रतिभाका मनीष भुजेल र सुवर्ण रुम्बाको जोडीले तेस्रो स्थान प्राप्त गरेको छ ।
छात्रा डबल्सतर्फ डायमण्डका अनुषा गौतम र अंकिता गुरुङको जोडी प्रथम, पोखरा आदर्शका अंशु भट्ट र रोधा तामाङको जोडी दोस्रो भयो । न्यु ग्यालेक्सीका मनकुमारी थापा र सुनामी तामाङ तथा ग्लोबलका बन्दना भुजेल र अमुल्य घलेको जोडी तेस्रो भयो ।

ब्याडमिन्टन
ब्याडमिन्टनमा क्वाटरफाइनलका खेल सम्पन्न भएकोमा शनिबार नै फाइनल खुल हुने संयोजक पुरन कुंवरले बताए । प्लस टु छात्रतर्फ सिंगल्समा प्रगतिका शशांक अधिकारी र आयुस थापा र सगरमाथाका विनम्र थापा र सौरभ थापा सेमिफाइनलमा पुगेका छन् । छात्रतर्फ सगरमाथाका निर्झरा खड्का र सविना रानामगर तथा ग्लोबल कलेजियटकी समिक्षा गुरुङ र मदरल्यान्डकी आयुष्मा नेपाल अन्तिम ४ मा प्रवेश गरेका छन् ।

प्लस टु छात्र डवल्सतर्फ पिकेजी, प्रगति, प्रतिभा र सगरमाथा सेमिफाइनल पुग्दा छात्रातर्फ गुरुकुल, सगरमाथा, कास्की मोर्डनाइज्ड र ज्योतिकुञ्ज सेमिफाइनल पुगे ।
विश्वविद्यालय छात्र सिंगल्सतर्फ लिंकनका रिजन सूर्यवंशी, पेकका अमित भण्डारी र निशान थापा, इन्फरमेटिक्सका थमन सिंह थापा सेमीफाइनलमा स्थान बनाए । छात्रा सिंगल्सतर्फ पिसिएमका स्वस्तिका पौडेल र मेनुका गुरुङ, पेककी लिजा गुरुङ, इन्फोमेक्सकी इशा सदाशंकरले अन्तिम चारमा स्थान बनाए । छात्र डबल्सतर्फ इन्फरमेटिक्स, पेक, पिसिएम र इन्फोमेक्स तथा छात्रा डबल्सतर्फ पेक, पिसिएम र इन्फोमेक्सले अन्तिम चारमा स्थान बनाएका छन् ।

प्रतियोगिता पुस १० सम्म चल्ने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width