पोविविमा सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७९
pu

पोखरा । पोखरा विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा नियुक्त प्रा. तीर्थराज अर्याल र सदस्य प्राडा उमानाथ बराललाई आज एक समारोहबीच पोखरा विश्वविद्यालयले स्वागत गरेको छ ।

सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाद्वारा पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम हालै उनीहरु उक्त पदमा ४ वर्षका लागि नियुक्त भएका हुन् । प्रा. अर्याल अङ्ग्रेजी र प्राडा बराल राजनीतिकशास्त्रमा अध्यापन गराउने त्रिभुवन विश्वविद्यालय, पृथ्वी नारायण क्याम्पस पोखराका प्राध्यापक हुन् ।

उनीहरु दुबैलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. प्रेमनारायण अर्याल र रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय लेखनाथमा स्वागत गरे । उपकुलपति र रजिष्ट्रारले नवनियुक्त सेवा आयोगका अध्यक्ष र सदस्यलाई खादा ओढाई स्वागत तथा बधाई दिए ।

स्वागत समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा. प्रेमनारायण अर्यालले शिक्षक तथा कर्मचारीहरूको सही व्यवस्थापन गरी विश्वविद्यालयको गरिमा उचो राख्न सेवा आयोग सक्षम हुनेमा विश्वास व्यक्त गरे । रजिष्ट्रार प्राडा दिपकबहादुर भण्डारीले सेवा आयोग विश्वविद्यालयको मेरूदण्ड भएको उल्लेख गर्दै विवादरहित तरिकाले राम्रा र सक्षम शिक्षक तथा कर्मचारी छनौटमा सेवा आयोगको योगदान महत्वपूर्ण रहने बताए ।

सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा. तिर्थ राज अर्यालले आफूमाथि आएको जिम्मेवारीलाई अवसरको रूपमा लिई कार्य गर्ने बताए । उनले विश्वविद्यालयको नियम, कार्यविधि अनुसार सेवा आयोगका काम कारवाही अगाडि बढाउने उल्लेख गरे ।

सेवा आयोगका सदस्य प्राडा. उमानाथ बरालले पोखरा विश्वविद्यालयको गरिमामय पहिचान रहेको उल्लेख गर्दै आपसी सहयोगमा आफ्नो पदीय दायित्व र कर्तव्य निर्वाह गर्ने बताए । कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गरेको सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width