म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा २, रुमस्थित गाल्दामा पहिरोले घर पुरिंदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान करिब ५ बजे बस्तीमाथिबाट खसेको पहिरोले घर पुरिंदा स्थानीय ३७ वर्षीय घामबहादुर बिकसहित उनकी श्रीमती, २ छोरा र १ छोरीको मृत्यु भएको हो । जसमा घामबहादुरकी ३२ वर्षीया श्रीमती रामु (राममाया) बिक, १७ वर्षीया छोरा नवीन, १४ वर्षीय छोरा राजन र ८ वर्षीया छोरी रोजीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, पहिरोमा गोठे बिकको २ घरसमेत पुरिएको छ । पहिरोले घर पुरिंदा गोठे बिक र उनकी श्रीमती गोरी बिक घाइते भएका छन् ।
वडा सदस्य भक्तिप्रसाद पुनका अनुसार बिहान सुतिरहेको बखत उनीहरु पहिरोमा परेका हुन् । पहिरोमा पुरिएका घामबहादुरका परिवारका ५ सदस्यमध्ये २ छोराहरु नवीन र राजनको बिहान ८ शव भेटिएको हो । बिहान ११ बजेपछि मात्र घामबहादुर, उनकी श्रीमती र छोरी रोजीको शव फेला परेको हो । भारी वर्षासँगै पहिरो नरोकिंदा उद्धारमा कठिनाइ भएको थियो । घटनास्थल टाढा भएकोले इलाका प्रहरी कार्यालय, दरबाङबाट खटिएको प्रहरी टोलीसमेत ढिला गरी पुगेको थियो । प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरेको हो ।
वडा सदस्य पुन भने, ‘घाइते गोठे बिकका छोरा जगतले बिहान ५ बजे पहिरो आएको थाहा पाएपछि गुहार मागेका रहेछन् । बिहान साढे ५ बजेको समयमा मैले खबर पाएपछि घटनास्थलमा पुग्दा करिब ६ बजेको थियो । त्यहाँ २ घरसहित घामबहादुरको परिवारलाई पहिरोले पुरिसकेको रहेछ ।’
म्याग्दीको रुमका घामबहादुरसहित उनकी श्रीमती, २ छोरा र १ छोरीको मृत्यु भएको हो
एकै परिवारका ५ जनाको मृत्यु भएपछि रुम यतिखेर शोकमा डुबेको छ । ‘पहिरोले ठूलो मानवीय क्षतिसँगै भौतिक क्षति पुगेको छ,’ वडा सदस्य पुनले भने । पहिरोमा परेर अकालमा ज्यान गुमाएका नवीन र राजन रुमस्थित राष्ट्रिय माविमा कक्षा १० र ८ मा पढ्थे । रोजी स्थानीय बोर्डिङ स्कुलको एलकेजीमा अध्ययनरत् थिइन् । मृतक सबैको मंगलबार नै दाहसंस्कार गरिएको छ ।
घामबहादुरका ४ भाइमध्ये उनी माहिला थिए । १ वर्षअघि खाँडी मुलुकबाट घर फर्किएका उनी गाउँमै खच्चर व्यवसाय गर्दै आएका थिए । भिरालो र कमजोर भूगोल भएको कारण पहिरो गएको स्थानीय बताउँछन् ।
पहिरो झरेको खबर पाएपछि तत्काल उद्धारमा सहभागी स्थानीय तिलक पुनले घटना अकल्पनीय घटेको बताउँछन् । तिलक पुन, यामबहादुर बिक लगायतको टोलीले घटनास्थलमा पुगेर उद्धार गरेका थिए । यसैगरी, पहिरोमा घामबहादुरका २ खच्चरसमेत पुरिएका छन् । गाल्दा बस्ती तल तामेङ बस्तीमा समेत केही क्षति भएको छ । तामेङमा केही खेत बगाएको छ ।
सोमबारदेखि परेको भारी वर्षाले जिल्ला सदरमुकाम बेनीदेखि दरबाङ र मुस्ताङ जोड्ने सिधा यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१