राउतले जिते विश्वासको मत

सम्पादक
असाेज २२, २०७८

प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले बुधबार प्रदेशसभामा विश्वासको मत लिने क्रममा दुइतिहाई सांसदको मत पाएका छन् । उनको दल जनता समाजवादी पार्टी विभाजन भएकाले संवैधानिक प्रावधान अनुसार उनले संसदमा विश्वासको मतका लागि औपचारिक आग्रह गरेका थिए । विश्वासको प्रस्तावमा मत विभाजन हुँदा उपस्थित १ सय सांसदमध्ये उनको पक्षमा ७७ र विपक्षमा २३ जना थिए । पार्टीगत हिसाबले उनलाई आफ्नै पार्टी जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्र लगायतका सांसदले विश्वासको मत दिएका थिए भने जनता समाजवादी पार्टीबाट विभाजित लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसदहरुले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । यो पटकको मतदानले उनलाई अरु सशक्त र बलियो बनाएको छ । यसअघिको मतदानमा उनको पक्षमा ५६ र विपक्षमा ५१ जनाले मतदान गरेका थिए ।
यसअघि राष्ट्रियरुपमा प्रदेशहरुको चुनाव हुँदा ७ मध्ये ६ वटा प्रदेशमा कम्युनिष्टहरुको सरकार थिए भने प्रदेश २ मा मात्र गैरकम्युनिष्ट एवं जनता समाजवादीले सरकार गठन गरेको थियो । केन्द्रमा सत्तारुढ पार्टी टुटफुट हुँदा त्यसको प्रभाव परेको छ । प्रदेश २ को सत्तारुढ पार्टी जनता समाजवादी २ टुक्रा भएको छ । जसपाबाट फुटेर गएको पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेको छ । त्यो पार्टी फुटेकैले मुख्यमन्त्री रावतलाई विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो । यो विश्वासको मत उनका लागि फाइदाजनक नै भएको छ ।
मुख्यमन्त्री राउत सरकारको विरुद्धमा धेरै जालझेल र षड्यन्त्र भएको थियो । उनलाई भ्रष्टाचारमा फसाउने प्रयास पनि पटक–पटक भए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमण गरेको बेलामा भएको खर्चका सम्बन्धमा पनि उनीमाथि औंला उठाइएको थियो । यसै पटक उनले विश्वासको मत लिनुपूर्व अख्तियारले उनकै कार्यालयमा छापा मारेर कागजपत्र लगेको थियो । मुख्यमन्त्रीकै कार्यालयमा त्यसरी छापा मारेको सायद यो नै पहिलो घटना हो तर त्यसले विश्वासको मत लिने काममा खासै प्रभाव पारेको देखिएन । उनी झन् बलियो देखिएका छन् । यो राम्रो हो । सरकारले यताउताको काम कुरा गरेका छन् । ‘बेटी बचाऊ’ अभियानअन्तर्गत सयौं साइकल वितरण गर्नु एउटा नयाँ कार्य हो । तर सरकारले ४ वर्ष बिताएर पनि न आफ्नो प्रदेशको काम राख्न नसकेको छ, न कि राजधानी नै तोक्न सकेको छ । प्रदेशको नाम र राजधानी आधारभूत कुरा हो । नाम र राजधानी तोक्न नसकेसम्म अरु धेरै काम गरे तापनि त्यो देखिने छैन । हिजो जेजस्तो भए तापनि अब दुइतिहाई बहुमत भएको बेला दुइतिहाईको फाइदा उठाएर ती महत्वपूर्ण काम छिटो गर्नु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width