तातोपानी र रसुवागढी नाका छिटो सुचारु गर

सम्पादक
भाद्र ७, २०७९

नेपाल र चीनको सम्बन्ध सुमधुर छ । समय–समयमा उच्चस्तरीय भेटघाट भइरहेका छन् । चीनका अधिकारीहरु बेला–बेलामा नेपाल आउने गरेका छन् भने अस्ति भर्खरै हाम्रा परराष्ट्रमन्त्री नारायण खड्काले ३ दिने चीन भ्रमण गरेका थिए । ती भ्रमणहरुले निश्चय नै नेपाल–चीनको सम्बन्ध अरु मजबुद बनाएको अनुमान गरिएको छ । यो सम्बन्धलाई सम्बन्धित सबै पक्षले प्रशंसा पनि गर्ने गरेका छन् । तर दुई देशको व्यापार क्षेत्रमा भने आयात–निर्यात व्यापारमा लागेका नेपालीहरुले त्यत्ति सुखद् अनुभूति गर्न पाएका छैनन् । चीनबाट तातोपानी र रसुवागढी नाकाबाट सामान ल्याउनेहरुले विगत ७ वर्षभन्दा पहिलेदेखि त्यत्ति सजिलै र सहज किसिमले मालसामान आयात गर्न सकिरहेका छैनन् । ती नाकाबाट सामान आयात गर्ने साना मझौला व्यापारीहरु पलायन भएका छन् भने ठूला व्यापारीहरुले समुद्री बाटो प्रयोग गरेर सामान आयात गरिरहेका छन् ।

ती व्यापारीका अनुसार २०७२ सालको भूकम्पको बेला पूर्ण रुपले ती नाका बन्द थिए भने ४ वर्षपछि आंशिक रुपले खुलेका थिए । त्यसैबीच कोरोनाका बेला फेरि बन्द गरिए । अहिले नाका खुलेको भनिएको छ तर कहिले खुल्ने र कहिले बन्द गरिने भएकोले व्यापारीहरु धेरै मर्कामा छन् । नेपाली व्यापारीहरुले चीनबाट ल्याएको कन्टेनरहरु सीमा नाका गरे बन्द भएबाट हप्तौसम्म सडकमा पंक्तिबद्ध भएर रहनुपर्ने हुन्छ । त्यसरी लामो समय बाटोमा रोकिनुपर्दा धेरै सामान बिग्रने र बीचैमा फाल्नुपर्ने अवस्था आउँछ । व्यापारीहरुले धेरै नोक्सानी व्यहोर्नु परेको तीतो अनुभव सुनाउने गर्दछन् ।

ती नाकाहरु किन बन्द गरिन्छन् र किन खुल्छन् भन्ने केही जानकारी छैन । त्यसको समय तालिका केही भए त्यसैअनुसार व्यापारीहरुले मालसामान ल्याउन सक्थे । त्यस्तो पनि छैन । केही निश्चितता नै छैन । त्यस्तो किन गरिएको भन्ने जानकारी पनि छैन । व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई आफ्नो समस्या सुनाएका छन् । मन्त्री बडुले नाका नियमित खुलाउन हाम्रो परराष्ट्र मन्त्री खड्का चीन जाँदा त्यो समस्या लिखित रुपमा चीन समक्ष राखिएको जानकारी दिएका छन् । परराष्ट्र मन्त्रीको चीन भ्रमण भएको पनि केही हप्ता बितेका छन्, तैपनि स्थितिमा सुधार आएको छैन । अब त नेपालीहरुको ठूलो चाड बडादसैं पनि नजिक आएको छ । दसैंमा धेरै सामान आयात गरेर बिक्री वितरण गर्ने व्यापारीको लक्ष्य हुन्छ । नाका भने सुचारु भएको छैन । त्यो ठूलो समस्या हो । चीनले किन त्यसो गरेको हो भन्ने कारण पनि कहिल्यै बताएको छैन । स्थिति अन्योलपूर्ण छ । त्यस्तो अवस्थामा राख्नु उचित होइन । नाका छिटो सुचारु गर्नुपर्नेमा हामी जोड दिन चाहन्छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width