सभासद्को ध्यान सिमानातिर जानुपर्‍यो

सम्पादक
वैशाख ७, २०७१

१. हाम्रा राजनीतिक नेताहरू राजनीतिक सिद्धान्तको व्याख्या गर्न माहिर छन्। नेताहरू राष्ट्र र राष्ट्रियताको नाम लिएर पनि थाक्दैनन्। नारा चर्को-चर्को दिन्छन्। तर सिमाना अतिक्रमण भएको, सीमामा विवाद भएको र त्यो विवादको कारण सीमा क्षेत्रमा बस्ने नेपालीहरूले पाएको दुःख र समस्यातिर त्यति ध्यान दिँदैनन्।जसको कारण नेपाली भूभाग खुम्चिँदै गएको छ भने सीमामा बस्ने नेपालीहरू पीडित र शोषित भएका छन्।

२. नेपाल भारतको सीमा विवादबारे सबै जानकार छन्। भारतले एकतर्फी रूपमा सीमा अतिक्रमण गरिरहेको छ। सीमामा बस्ने नेपालीहरूले बराबर त्यो कुरा उठाउने गरेका छन् तर त्यो कुरालाई न राज्यले सुन्छ न त स्थानीय प्रशासनले वास्ता गर्छ। हाम्रा अधिकारीहरूको त्यस्तो प्रवृत्तिले गर्दा छिमेकी प्रोत्साहित भएको छ।

३. अब त हाम्रो राष्ट्र र राष्ट्रियताको नारा लगाउने पार्टीरू छन्। तिनीहरूको जिल्ला जिल्लामा शाखा छन्। जताततै सञ्जाल फैलिएको छ। निर्वाचित जनप्रतिनिधिहरू छन्। सभासद्हरू छन्। कमसेकम जनप्रतिनिधि सभासद्ले त सीमा अतिक्रमणको कुरा संविधानसभामा उठाउनुपर्ने थियो र सरकारसँग वास्तविक कुरा के हो, प्रश्न सोध्नुपर्ने थियो। तर उनीहरूले त्यसरी प्रश्न नसोधेकोमा सर्वसाधारण आर्श्चर्यमा छन्।

४. केही दिन पहिले कञ्चनपुर जिल्लाको त्रिभुवन वस्ती-३ स्थित हाम्रा राइला टोल नजिकमा बाल जागृति प्रावि भवनको निर्माण गर्न लाग्दा भारतका वन अधिकारी, एसएसवी र प्रहरीले निर्माण कार्य रोक्न दबाब दिन आए। त्यो ठाउँमा दश वर्षदेखि त्यो प्रावि स्कुल सञ्चालन भइ आएको छ। अहिले विदेशमा बस्ने नेपालीहरूको सहयोगले पक्की भवन निर्माण गर्न लागेको मात्र हो। त्यस्तोमा पनि भारतीयहरूले हस्तक्षेप गर्नु सरासर अन्याय हो।

५. स्थानीय जनताले भारतीय हस्तक्षेपको यस पटक राम्ररी प्रतिकार गरे। त्यसैबीच हाम्रो नापी विभाग, सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका अधिकारीहरू भवन निर्माणस्थल पुगे। भारतीय सीमाबाट करिब एक किलोमिटर टाढा नेपाली भूभागमा त्यो भवन निर्माण हुन लागेको सबैले देखे।

६. नेपाली अधिकारीहरू समयमै विवादित स्थल पुगेकाले अहिले विद्यालयको भवन निर्माण सुचारु रूपले चलिरहेको छ। तैपनि भारतीय पक्षले अझ पनि निर्माण कार्य रोक्न प्रत्यक्ष परोक्ष धम्की दिने गरेको छ। तिनीहरूले त्यस्तो गर्दा पनि राजनीतिको सूक्ष्म निरीक्षण गर्ने हाम्रा जनप्रतिनिधिको दृष्टि त्यहाँ पुग्न सकेको छैन।

७. हाम्रा नेताहरूले राजनीतिक खिचातानीमा नै आफ्नो अमूल्य समय बर्वाद गर्दैर्छन्। राष्ट्रियता र स्वाधिनता त्योभन्दा ठूलो कुरा हो। सीमा अतिक्रमण भएको घटनालाई महत्त्वका साथ हेरिनुपर्दछ र त्यस बारे संविधानसभामा जानकारी दिने तथा सरकारको ध्यान आकृष्ट गर्नुपर्दछ। सभासद्को ध्यान सीमातिर लग्न हामी आग्रह गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width